गल्ती नदोहोरियोस्

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा आएको छैन । हरेक दिन नयाँ संक्रमित थपिएका छन् । मृत्यु हुने क्रम पनि रोकिएको छैन । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भनेर देशभर सरकारले निषेधाज्ञा जारी गरेको छ । यद्यपि पछिल्लो समय केही सकारात्मक संकेत देखा परेका छन् । कर्णाली प्रदेशमा कोरोनाको संक्रमण दरमा कमी आएको छ । दोस्रो लहरपछि वैशाख र जेठ महिनाको पहिलो सातासम्म प्रदेशमा संक्रमण उच्च बिन्दुमा पुगेको थियो । संक्रमणको अवस्थाबारे अद्यावधिक गर्दै आएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार दोस्रो लहरको सुरूवातमा संक्रमण दर ९८ प्रतिशतसम्म थियो । उतिबेला दैनिक पाँच÷सात सय जनासम्मलाई संक्रमण देखिन्थ्यो । बिरामीको चाप थेगिनसक्नु भएपछि अस्पतालहरू थप बिरामी भर्ना लिन नसक्ने अवस्थामा पुगेका थिए । तर पछिल्ला केही दिनयता अवस्था सुधारोन्मुख छ । संक्रमण दर घटेको छ ।

पहिलो लहर नियन्त्रणमा नआउँदै दोस्रो लहर सुरु भयो । नयाँ भेरियन्ट देखा परे । दोस्रो लहरमा अधिकांशमा लक्षणसहितको संक्रमण देखियो । गम्भीर बिरामी बढेपछि स्वास्थ्य संस्थाहरूमा बेड पाउन समेत मुस्किल बन्यो । कर्णालीले यहीँ समयमा मेडिकल अक्सिजनको चरम अभाव भोग्यो । अक्सिजन नपाएर कतिपय बिरामीको ज्यानै गयो । वैशाख अन्तिम सातातिर प्रदेशमा मृत्युदर समेत अधिक थियो । त्यसबेला एकैदिन १०÷१२ जना संक्रमितसम्मको ज्यान जाने गरेको थियो । कोरोनाको पहिलो लहरको तुलनामा दोस्रो लहरमा मृत्युुदर बढ्यो । यहाँ हालसम्म संक्रमितमध्ये दुई सय ९७ जनाको मृत्यु भएको छ । दोस्रो लहरमा संक्रमितको संख्या पनि पहिलोभन्दा लगभग दोब्बरले बढी छ । प्रदेशमा हालसम्म २७ हजार बढी संक्रमित भएका छन् । संक्रमणको दर उच्च भएपछि ‘चेन ब्रेक’ गर्न सबै जिल्लामा निषेधाज्ञा जारी गरियो । जसको प्रभाव संक्रमण दर घटेको छ । जेठ पहिलो सातासम्म कोरोना संक्रमणको दर घटेर ४० प्रतिशतमा झ¥यो । निषेधाज्ञामा चहलपहल र भिडभाड हुने क्षेत्र ठप्प भएपछि संक्रमण नियन्त्रण हुँदै गयो । जसले गर्दा संक्रमण दर ओरालो लागेको हो । फेरि गाउँगाउँमा परीक्षण गर्न थालेसँगै संक्रमणदर बढेको देखियो । सबैजसो स्थानीय तहहरूले परीक्षण थालेपछि संक्रमण दरको ग्राफ केही मात्रामा बढ्यो । संक्रमण ४४ प्रतिशतसम्म पुग्यो । केही दिनयता भने संक्रमण र मृत्युदर दुवैमा कमी आएको छ । पछिल्लो तथ्याङ्कअनुसार परीक्षण गरिएकामध्ये २० प्रतिशतमा मात्र संक्रमण पुष्टि हुने गरेको हो । मृत्युदर पनि १ प्रतिशतमा झरेको छ ।

संक्रमणदर घटेसँगै सरकारले निषेधाज्ञालाई खुकुलो बनाएको छ । अर्कोतर्फ परीक्षणको दायरा पनि घटाइएको छ । अहिले नै जोखिम नियन्त्रण भइसकेको भने छैन । सावधानी अपरिहार्य छ । लापरबाही गरिए पनि पुनः भयावह अवस्था सिर्जना हुनसक्दछ । त्यसैले यसतर्फ सम्बन्धित निकाय र आम नागरिक स्वयम् सचेत हुन जरुरी छ । समग्रमा प्रदेशभर पहिलेको तुलनामा संक्रमण दर घटेको छ । मृत्यु दर पनि घटेको छ । तर जोखिम कायमै रहेकाले स्वास्थ्य सावधानी र सतर्कता अपनाउन भने आवश्यक छ ।

प्रकाशित मितिः   ७ असार २०७८, सोमबार ०९:३४