कोरोना जित्दै छ कर्णाली

संक्रमण दर २० प्रतिशतमा झर्‍यो, मृत्युदर शून्य

कर्णाली प्रदेशमा पछिल्ला दिनहरूमा कोरोना भाइरस ‐कोभिड–१९) को संक्रमण दरमा कमी आएको छ । दोस्रो लहरपछि वैशाख र जेठ महिनाको पहिलो सातासम्म प्रदेशमा संक्रमण उच्च बिन्दुमा पुगेको थियो । संक्रमणको अवस्थाबारे अद्यावधिक गर्दै आएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार दोस्रो लहरको सुरूवातमा संक्रमणदर ९८ प्रतिशतसम्म थियो । उतिबेला दैनिक पाँच÷सात सय जनासम्मलाई संक्रमण देखिन्थ्यो । बिरामीको चाप थेगिनसक्नु भएपछि अस्पतालहरू थप बिरामी भर्ना लिन नसक्ने अवस्थामा पुगेका थिए ।

दोस्रो लहरमा अधिकांशमा लक्षणसहितको संक्रमण देखियो । कर्णालीले यहीँ समयमा मेडिकल अक्सिजनको चरम अभाव भोग्यो । अक्सिजन नपाएर कतिपय बिरामीको ज्यानै गयो । वैशाख अन्तिम सातातिर प्रदेशमा मृत्युदर समेत अधिक थियो । त्यसबेला एकैदिन १०÷१२ जना संक्रमितसम्मको ज्यान जाने गरेको थियो । कोरोनाको पहिलो लहरको तुलनामा दोस्रो लहरमा मृत्युुदर बढ्यो । यहाँ हालसम्म संक्रमितमध्ये दुई सय ९७ जनाको मृत्यु भएको छ । तीमध्ये २५ जना मात्र पहिलो लहरको संक्रमणमा मृत्यु भएका हुन् । बाँकी सबैले दोस्रो लहरको संक्रमणबाट ज्यान गुमाएका छन् । दोस्रो लहरमा संक्रमितको संख्या पनि पहिलोभन्दा लगभग दोब्बरले बढी छ । प्रदेशमा हालसम्म २७ हजार बढी संक्रमित भएका छन् ।

संक्रमणको दर उच्च भएपछि ‘चेन ब्रेक’ गर्न सबै जिल्लामा निषेधाज्ञा जारी गरियो । जेठ पहिलो सातासम्म कोरोना संक्रमणको दर घटेर ४० प्रतिशतमा झ¥यो । निषेधाज्ञामा चहलपहल र भिडभाड हुने क्षेत्र ठप्प भएपछि संक्रमण नियन्त्रण हुँदै गयो । जसले गर्दा संक्रमणदर ओरालो लागेको हो । फेरि गाउँगाउँमा परीक्षण गर्न थालेसँगै संक्रमणदर बढेको देखियो । सबैजसो स्थानीय तहहरूले परीक्षण थालेपछि संक्रमण दरको ग्राफ केही मात्रामा बढ्यो । संक्रमण ४४ प्रतिशतसम्म पुग्यो । केही दिनयता भने संक्रमण र मृत्युदर दुवैमा कमी आएको छ । पछिल्लो तथ्याङ्कअनुसार परीक्षण गरिएकामध्ये २० प्रतिशतमा मात्र संक्रमण पुष्टि हुने गरेको हो । मृत्युदर पनि १ प्रतिशतमा झरेको छ । बिहीवार र शुक्रवार मृत्युुदर शून्य रहेकोमा शनिवार एक संक्रमितको ज्यान गएको छ ।

स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले कोरोना संक्रमणको दरमा कमी आएको पुष्टि गरे । आशंकितहरूको संख्यामा कमी आएपछि अहिले परीक्षणको दायरा पनि घटाइएको उनी बताउँछन् । ‘पहिलेको तुलनामा संक्रमणको दरमा धेरै कमी आएको छ,’ उनले भने, ‘केही जिल्लामा संक्रमण अलि बढी नै देखिएको छ । समग्रमा प्रदेशभर पहिलेको तुलनामा संक्रमण दर निकै घटेको छ ।’ निर्देशक खड्काले संक्रमितहरूको अस्पतालमा हुुने मृत्यु दर पनि घटेको जनाए । जोखिम कायमै रहेकाले स्वास्थ्य सावधानी र सतर्कता अपनाउन भने आवश्यक रहेको उनको भनाइ छ ।

जोखिम कायमै

संक्रमणदर घट्दो क्रममा देखिए पनि जोखिम कायमै छ । खासगरी ग्रामीण क्षेत्रमा अहिले संक्रमण बढी छ । प्रदेशमा अहिले पनि दुई हजार बढी सक्रिय संक्रमित छन् । निर्देशनालयका अनुसार दुई हजार एक सय हाराहारीमा सक्रिय संक्रमित छन् । असार १ देखि निषेधाज्ञा खुकुलो गरेसँगै मानिसहरूको चहलपहल बढ्न थालेको छ । यसले कोरोनाको जोखिम पुनः बढाएको छ । संक्रमणको जोखिम टरिनसकेकाले जनस्वास्थ्यका मापदण्ड पालनमा बेवास्ता गर्न नहुने जनस्वास्थ्यका जानकारहरूले सुझाएका छन् । हालसम्म कर्णालीमा २७ हजार एक सय ९६ जनामा कोरोना संक्रमण देखिएकोमा तीमध्ये २४ हजार तीन सय ८७ जनाले कोरोना जितेका छन् ।

कोरोना भाइरसको दोस्रो लहरले कर्णाली प्रदेश पनि नराम्रोसँग प्रभावित बन्यो । अहिलेसम्म प्रदेशका सबै जिल्लामा निषेधाज्ञा कायम रहनुले संक्रमणको जोखिम कायमै रहेको सहजै अनुमान लगाउन सकिन्छ । वर्षायाममा पनि कोरोना संक्रमणको दोस्रो लहरको प्रभाव कायमै रहने देखिएको छ । मौसमी विपद्को पूर्वतयारी र प्रतिकार्य कोरोना संक्रमणले समेत प्रभावित हुने देखिएको छ । खेतीबालीको सिजन भएकाले पनि संक्रमण बढ्न सक्ने जोखिम उत्तिकै छ ।

बिरामीको चाप घट्दै

सक्रियमध्ये बहुसंख्यक संक्रमितहरू आइसोलेसनमा छन् । सिकिस्त बिरामीको संख्यामा पनि निकै कमी आएको छ । संस्थागत आइसोलेसन सेन्टर तथा अस्पतालहरू बिरामीको चाप घट्दै गएको छ । संक्रमितहरू न्यून संख्यामा मात्र अस्पतालमा उपचारका लागि जाने गरेका हुन् । अघिल्लो महिनासम्म कोरोना संक्रमितको अत्यधिक चाप रहेको प्रदेशकै ठूलो कर्णाली प्रदेश अस्पतालमा बिरामीको संख्या घटेको छ । प्रदेश अस्पतालमा शनिवारसम्म २६ जना संक्रमित उपचाररत छन् । कर्णालीका अन्य जिल्लाबाट समेत रेफर भएर आउने हुँदा जेठ मध्येतिर यहाँ अत्यधिक चाप थियो । प्रदेश अस्पतालमा केही दिनयता बिरामीको संख्या न्यून हुँदै गएको हो । अस्पताल निर्देशक डा. डम्बर खड्काले पहिलेको तुलनामा कोभिड संक्रमित बिरामीको संख्यामा कमी आएको बताए । ‘कोभिडका अहिले उपचार गराइरहेका पुरानै बिरामी हुन् । नयाँ बिरामी खासै भर्ना हुनु भएको छैन,’ उनले भने । पछिल्लो समय सुर्खेत, डोल्पा, मुगु, जाजरकोट, र कालीकोटमा संक्रमण घट्दै गएको छ । उक्त जिल्लाहरूमा नयाँ संक्रमित कम भेटिएका हुन् । पछिल्लो तथ्याङ्कअनुसार संक्रमणको उच्च जोखिममा रहेको सुर्खेतमा पनि संक्रमणको दर ओरोलोे लागेको छ । दैलेख, हुम्ला, जुम्ला र रुकुम–पश्चिममा भने संक्रमण दर अझै उस्तै छ ।

सुर्खेतमा धेरै संक्रमित

कोरोना संक्रमणको पहिलो र दोस्रो दुवै लहरमा प्रदेशको सबैभन्दा बढी प्रभावित जिल्ला सुर्खेत हो । यहाँ अहिले पनि आठ सय बढी सक्रिय संक्रमित छन् । सुर्खेतमा हालसम्म १० हजार पाँच सय ९६ संक्रमित भएका छन् भने एक सय ७३ जनाको मृत्यु भएको छ । सबैभन्दा कम डोल्पा र मुगुमा दुई–दुई जनाको मृत्यु भएको छ । त्यस्तै, सल्यानमा ४९, रुकुम–पश्चिममा २८, दैलेखमा २०, जुम्लामा आठ, डोल्पामा पाँच, जाजरकोट र कालीकोटमा तीन–तीन जना कोरोना संक्रमितको ज्यान गएको हो ।

मुगुमा अहिले पनि दुई सय ६२ सक्रिय संक्रमित छन् । हिमाली जिल्लाहरूमा पछिल्लो लहरमा बढी संक्रमित देखिएका हुन् । यस्तै, रुकुम–पश्चिममा दुई सय ४९, सल्यानमा दुई सय ३६, दैलेखमा एक सय ६५, जुम्लामा एक सय ७१, जाजरकोटमा एक सय ६४ र कालीकोटमा एक सय बढी एक्टिभ केस छन् । त्यसैगरी, डोल्पामा ८६ र हुम्लामा ३४ सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।

युवा समूह बढी प्रभावित

प्रदेशमा कोरोना संक्रमणबाट सबै उमेर समूहका व्यक्तिहरू प्रभावित भए पनि धेरै संक्रमित हुनेमा युवाहरू छन् । उमेरको हिसाबले २१ देखि ३० वर्ष उमेर समूह बढी संक्रमित भएको देखिन्छ । उक्त उमेर समूहका ३६ प्रतिशतमा कोभिड संक्रमण पुष्टि भएको छ । ३१ देखि ४० वर्ष उमेर समूहका २५ प्रतिशत, ४१ देखि ५० वर्ष उमेर समूहका १२ प्रतिशत, ५१ देखि ६० वर्ष उमेरका ६ प्रतिशतमा संक्रमण देखिएको निर्देशनालयको तथ्याङ्क छ । यस्तै, २० वर्षभन्दा कमका १८ प्रतिशत र ६१ वर्ष माथिका तीन प्रतिशतमा संक्रमण देखिएको छ । कर्णालीमा ज्येष्ठ नागरिकहरूमा कोरोनाको संक्रमण अन्य उमेर समूहभन्दा कम भएको पाइएको हो ।

प्रकाशित मितिः   ६ असार २०७८, आईतवार १०:३५