राउटेको मानवअधिकार

फिरन्ते जीवन बिताउने समुदाय हो, राउटे । उनीहरूको जीवनशैली गैर–राउटे समुदायकोभन्दा अलग छ । सामाजिक तथा सांस्कृतिक रूपमा पनि भिन्नताहरू छन् । आदिमकालीन मानव इतिहासको झल्को दिने यो समुदाय अहिले कर्णालीमा बसोबास गर्दछ ।

न स्थायी ठाउँ र ठेगाना छ, न घर र जग्गा–जमिन । घुमिफिरी हिँड्छन् । जहाँ पुग्छन्, त्यहीँ उनीहरूको बासस्थान । राउटी (छाप्रो) निर्माण गरी बस्छन्, त्यही उनीहरूको घर हो । घर बनाएर नबस्नुका अनेक कारण छन् । त्यसमध्ये एउटा अलिक रोचक छ । महामुखिया मैनबहादुर शाही भन्छन्, ‘घर बनाएर बस्यो भने भुँइचालोले लैजान्छ, पहिरोले लैजान्छ । झुपडीमा बस्दा त्यसको डर हुँदैन ।’

त्यसो त लामो समय एकै ठाउँमा अडिएर पनि बस्दैनन् । ठाउँ फेरिरहन्छन् ।

राउटेको बसोबास मुख्यगरी कर्णाली केन्द्रित छ । कर्णाली प्रदेशका दैलेख, सुर्खेत, जाजरकोट, सल्यान, रुकुम र कालिकोटलगायतका क्षेत्रमा ठाउँ फेरेर बस्छन् । कहिलेकाहीँ अछाम, दाङ र बर्दियासम्म पनि पुग्छन् । पछिल्लो समय दैलेख र सुर्खेत नै उनीहरूको मुख्य रोजाइँका ठाउँ बनेका छन् ।

ठकुरी वंशीय राउटे पनि तीन थरी छन्, कलेल, रास्कोटी र शाहवंशी । उनीहरूबीचको सामाजिक सद्भाव र एकता भने उदाहरणीय छ । मिलेर बस्छन् । एक–अर्कालाई सहयोग गर्छन् ।

आफूलाई जंगलको राजा भनेर चिनाउन रुचाउँछन् । यी जंगलका ‘राजा’हरुको नेतृत्व भने महामुखियाले गर्छन् । महामुखियाको निर्णय नै राउटेको नियम र कानुन हुन् ।

पहिला राउटेहरूको एक जना मुखिया हुन्थे । मुखियाको मृत्युपछि नयाँ मुखिया छानिन्थ्यो । व्यक्ति फेरिए पनि मुखियाको नाम मानबहादुर शाही नै रहन्थ्यो । मुखियाको निर्णय नै उनीहरूको बाध्यकारी नियम र कानुनसरह लागू हुन्थ्यो । पछिल्लो समय भने उनीहरुभित्र पनि लोकतान्त्रीक अभ्यास हुन थालेको छ । जस्तो कि अचेल महामुखिया मात्रै सर्वेसर्वा हुँदैनन् ।  ‘बहुपद प्रणाली’ लागू भएको छ । जसअनुसार अहिले चार जना मुखिया छन् ।

मैनबहादुर शाही महामुखिया हुन् । उनीभन्दा पछाडि तीन जना मुखिया छन् । कलेल वंशका वीरबहादुर शाही, रास्कोटीका डिलबहादुर शाही र शाहवंशीका सूर्यनारायण शाही । कुनै निर्णय लिनुपर्दा महामुखियाले अन्य तीन जना मुखियासँग छलफल गर्छन् । अनि सामूहिक निर्णय लिन्छन् ।

बदलिदो जीवनशैली

राउटेको जीवनशैली, संस्कार, मूल्यमान्यता र विचार गैरराउटे समुदायकोभन्दा केही अलग छन् । खेतीपाती गर्नुहुँदैन भन्छन् । लेखपढ गर्नेतर्फ चासो नै दिँदैनन् ।

काठका सामग्री (बाकस, मधुसलगायत) बनाउँछन् । यो उनीहरूको पुख्र्यौली पेसा हो । पहिले–पहिले आफूले बनाएका काठका सामग्रीसँग अन्न साट्थे । त्यतिबेला पैसा छुनु हुँदैन भन्ने मान्यता राउटे समुदायको थियो । ‘पैसा छोए पाप लाग्छ’ भन्थे । तर समयक्रमसँगै उनीहरूको सोच बदलियो । पैसा छुन थाले । पैसा छुन थालेपछि आफूले बनाएका सामग्री बेच्न थाले । अहिले पैसा राउटेहरूका लागि पनि अभिन्न साधन बनिसक्यो ।

यसबाहेक जीविकोपार्जनकै लागि उनीहरू जंगली जनावरको सिकार गर्छन् । आदिमकालका मानवलेजस्तै अलिक पहिलेसम्म कन्दमूल खोजेर खान्थे । तर अहिले अन्न र खाद्यान्नमा निर्भर भइसकेका छन् । उनीहरूको सोच, संस्कार र जीवनशैली विस्तारै परिमार्जन हुँदै गएको प्रष्ट देखिन्छ ।

केही वर्षअघिसम्म राउटे र गैरराउटेबीच ‘व्यापारिक सम्बन्ध’ मात्रै थियो । काठका सामग्री दिने र त्यसवापत अन्न लिने । त्यसबाहेक फरक समुदायसँग उनीहरू घुलमिल हुँदैनथे । तर अहिले गैरसमुदायसँग पनि घुलमिल हुन थालिसकेका छन् । गैरराउटे समुदायसँगको घुलमिलले राउटे समुदायमा केही विकृति भित्रिए । जस्तो कि मदिरा सेवन उनीहरुको समुदायमा निषेधित थियो । आफैले बनाएको जाँडसम्म खान्थे । अहिले बजारमा पाइने मदिरा राउटे समुदायमा ‘लोकप्रिय’ बनेका छन् । महिला र पुरुष सबैले मदिरा पीउँछन् । महामुखिया मैनबहादुर अन्य समुदायसँगको घुलमिलको परिणाम मान्छन् यो । ‘पहिले हामी रक्सी खाँदैनथ्यो । यस्तो हुन्छ भन्ने पनि थाहा थिएन । अहिले अरु मान्छेहरुले खाएको देखेर हामीले पनि सिक्यौँ । यो शहरको मान्छेले हामी राउटेलाई पनि बिगार्यो ।’

जुन पहिले छुनै हुँदैन भन्थे अहिले प्रयोग गर्न थालेका छन् । जुत्ता-चप्पल लगाउन थालिसके । औषधि प्रयोग गर्न नमान्ने राउटे बस्तिमा अचेल स्वास्थ्य शिविर नै सञ्चालन हुन थालिसकेका छन् । उनीहरुले लगाउने लुगामा भने परिवर्तन आएको छैन । अन्य लुगा लगाउन मान्दैनन् ।

एकिन अभिलेख छैन

राज्यले आफ्ना नागरिकको मृत्यु भएमा ३५ दिनभित्र अभिलेख दर्ता गराउनुपर्ने कानुनी प्रावधान बनाएको छ । त्यसरी जन्मदर्ता समेत गर्नुपर्ने हुन्छ । तर राउटे समुदायमा कसैको जन्म र मृत्यु भएमा त्यसको अभिलेख  राखिदैन । न राज्यसँग छ न राउटेसँग नै । त्यसो त राउटे त्यस्तो समुदाय हो, जो आफ्नो संख्या गणना समेत गर्नु हुँदैन भन्ने मान्यता राख्दछ ।

नेपालमै बसोबास भए पनि राउटेहरूले नेपाली नागरिकका रूपमा कुनै प्रमाणपत्र वा नागरिकता लिएका छैनन् । तर उनीहरूलाई नागरिकता दिलाउने प्रयास पटक–पटक गरिए पनि सफल हुन सकेको छैन । राज्यले उनीहरूको अभिलेख राख्न ध्यान पनि दिएको छैन । कर्णाली प्रदेश सरकारले कूल जनसंख्याको अभिलेख राखे पनि जन्म र मृत्युको कुनै अभिलेख राखेको छैन । सामाजिक विकास मन्त्रालयको सामाजिक सुरक्षा तथा महिला विकास शाखामा कार्यरत देवी सुवेदीका अनुसार हाल ४५ परिवारमा एक सय ४६ जना छन् ।

पछिल्लो दुई वर्षमा नवजात शिशुसहित १७ जना राउटेको मृत्यु भइसकेको छ । वि.सं. २०७६ सालको चैतदेखि २०७८ साल वैशाखसम्म आठ जना नवजात शिशु, दुईजना महिला र सातजना पुरुषको मृत्यु भएको राउटे लोपोन्मुख, सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी खड्काले जानकारी दिइन् । उनका अनुसार पछिल्लो पटक सुर्खेतको लेकवेशी नगरपालिकाबाट गुर्भाकोट नगरपालिकामा बसाइँ सरेपछि मात्रै शिवराज शाही र भक्तबहादुर शाही गरी दुईजना राउटेले ज्यान गुमाएका छन् । तर यसको अभिलेख सरकारसँग छैन ।

विगत १५ वर्षदेखि राउटे समुदायसँगै काम गरिरहेकी खड्काले सरकारले गम्भिरतापूर्वक राउटेहरूका लागि कुनै लगानी नगरेको बताइन् । उक्त समुदायमा ‘भान्जी’का रूपमा परिचित खड्काका अनुसार २०६३ मा राउटेको संख्या दुई सय ६८ जनाको रहे पनि हाल एक सय ४५ जना मात्र छन् ।

सरकारी लगानी

कर्णाली प्रदेश सरकारले पछिल्लो समय हरेक वर्ष राउटे समुदायका लागि भनेर बजेट छुट्याउँछ । आर्थिक वर्ष २०७७-०७८ मा मन्त्रालयले २० लाख छुट्याएको छ ।

मासिक रूपमा सामाजिक सुरक्षा भत्ता पनि दिने गरिएको छ । संघीय सरकारले मासिक रूपमा तीन हजार र प्रदेश सरकारले थप दुई हजार गरी पाँच हजार दिने गरिएको मन्त्रालयका सामाजिक सुरक्षा तथा महिला विकास शाखाकी प्रमुख अनिता ज्ञवालीले जानकारी दिइन् । यसबाहेक विभिन्न गैरसरकारी संस्थाहरुले पनि सहयोग गर्दै आएका छन् ।

इतर समुदायको आक्रमण

आफ्नै परम्परा र रहनसहनमा रमाएको राउटे समुदायमाथि पछिल्लो समय इतर समुदायबाट आक्रमण हुन थालेका छन् । बाहिरी समुदायबाट नै असुरक्षित बनेको छ । कतिसम्म भने हालै मात्र दुई जना राउटे युवतीलाई मदिरा सेवन गराएर यौन दुव्र्यवहार गरेको भिडियो सार्वजनिक भयो । त्यसबारे तीन जनालाई पक्राउ गरी जबरजस्ती करणीको अभियोगमा छानविन भइरहेको छ ।

शिक्षा र कानुनको पहुँचभन्दा बाहिर रहेका राउटेलाई गैरराउटे समुदायका केही व्यक्तिहरूले दुरूपयोग गर्न खोजेको देखिन्छ । मदिरा र पैसाको प्रलोभनमा पारी उनीहरूमाथि शोषण भइरहेको छ ।

अर्कोतर्फ राउटे समुदायका बारेमा अनेक भ्रमसमेत फैलाइएको छ । अत्यन्तै क्रुर नियम र कानुन हुन्छ भनेर फिजाइएको हल्ला भने गलत हुन् ।  लामो समयदेखि राउटेहरूसँगै काम गरेका दैलेखका पत्रकार भक्त शाही राउटे निकै संवेदनशील र अनुशासित समुदाय भएको बताउँछन् । उनले अहिले प्रचार गरिएजस्तो राउटेमा कडा सजायको कुरा गलत भएको बताए । ‘बालबालिकाले जस्तो गल्ती गरे पनि सजाय दिएको अहिलेसम्म थाहा छैन’ शाहीले भने, ‘राउटेले महिलाहरूलाई पनि उच्च सम्मान गर्छन् । लोकतान्त्रिक अधिकार दिएका छन् ।’

राउटे समुदायसँगै काम गरेको सामाजिक सेवा केन्द (सोसेक) नेपाल दैलेखका हिरासिंह थापाका अनुसार राउटे समुदायभित्र विभेद र कुनै प्रकारको हिंसा हुँदैन । तर बाहिरी समुदायको आक्रमणलाई भने उनीहरू सहन सक्दैनन् ।

राउटेको मानवअधिकार

नेपालको संविधान–२०७२ ले आफ्ना नागरिकलाई ‘मौलिक हक’को व्यवस्था गरेको छ । राउटे समुदायले नागरिकता नलिए पनि राज्यले उनीहरूलाई नागरिक सरह नै सामाजिक सुरक्षा भत्ता दिने गरेको छ । यसकारण पनि संविधानले व्यवस्था गरेको अधिकार राउटेहरूले पाउनुपर्ने हो । तर  शिक्षा, स्वास्थ्य, खाद्य तथा सुरक्षासम्बन्धी अधिकारबाट उनीहरु वञ्चित छन् ।

राउटे जंगलमा बसोबास गर्ने फिरन्ते समुदाय भए पनि मानव जाती नै हो । उनीहरूको मानवअधिकारको रक्षा राज्यको दायित्व हो । सामाजिक र सांस्कृतिक पक्षमा खलल नपुग्ने गरी सरकारले राउटेहरुको सुरक्षा र संरक्षणमा विशेष ध्यान दिन जरुरी छ । उनीहरुलाई मानवअधिकारको प्रत्याभूति दिलाउनु अपरिहार्य छ ।

प्रकाशित मितिः   २९ जेष्ठ २०७८, शनिबार ०५:०२