महामारीमा सिकाउने शैली

भूपालसिंह ठकुरी

विश्व कोभिड–१९ को महामारीबाट ग्रसित भएको वर्तमान अवस्थामा सबैभन्दा बढी प्रभावित शिक्षा क्षेत्र र त्यसमा पनि विद्यार्थीहरू अत्यन्तै प्रभावमा परेका छन् । विद्यालयस्तरका बालबालिकाहरू स्वभावैले अपरिपक्व, चञ्चले, साथी समूहमा रमाउने, सजिलै कुलतमा फस्ने जस्ता समस्याले छिट्टै गाँज्ने सक्ने हुन्छ । अहिलेको अवस्थामा विद्यालयहरू पूर्णरूपमा बन्द छन् । विद्यार्थीहरू यो अवस्थामा फुर्सदिला छन् । विद्यालय जानु नपरेपछि अधिकतम समय खेलकुद र घरायसी कामकाजमा बिताउँदै आएका छन् । सहर बजारका विद्यार्थीहरूको अधिकतम समय मोबाइल, टेलिभिजन, खेलकुदमा बिताइरहेका छन् भने गाउँका विद्यार्थीहरू प्राय घरायसी काममा सघाउने, खेलकुदमा व्यस्त हुने, यताउता बरालिने जस्ता दिनचर्यामा छन् । विद्यालय बन्द भएपछि विद्यालय तहका बालबालिकाहरूका कापी किताब कुन कुनामा छन थाहा छैन होला । यो फुर्सदिलो समयमा बालबालिकाहरूलाई उपयुक्त लाइनमा लाउन सकिएन भने उनीहरू भोलि पढाइको लत छोडेर कुलतमा लाग्न सक्छन् र अभिभावक, राज्य र स्वयम् विद्यार्थीले गरेको लगानी पनि खेर जान सक्छ ।

महामारीकै कारण गत वर्ष शैक्षिक सत्र बितेको झण्डै ५÷६ महिनापछि मात्रै नियमित पठनपाठन भएको थियो भने पुनः शैक्षिक वर्ष नसकिंदै बन्दाबन्दीको अवस्था झेल्नु पर्याे । यो वर्ष पनि शैक्षिक सत्र बितेको करिब २ महिना बित्न थाल्यो तर अझै अघिल्लो वर्षको विद्यार्थी मूल्याङ्कन हुन सकेको छैन । महामारीको यो चपेटाले यो वर्ष पनि तत्कालै भौतिक रूपमा पठनपाठनको सम्भावना न्यून देखिन्छ । प्रायः धेरैजसो स्थानीय तहहरूले जेठ महिनाभित्रै अघिल्लो वर्षको विद्यार्थी मूल्याङ्कन सकेर असारदेखि नयाँ सत्रको विद्यार्थी भर्ना कार्यक्रम गर्न विद्यालयहरूलाई निर्देशन दिएका छन् । असारदेखि भर्ना कार्यक्रम भए पनि तत्कालै विद्यालयहरू खुल्ने अवस्था छैन । यस्तो अवस्थामा शिक्षण सिकाइलाई निरन्तरता दिन वैकल्पिक उपायहरू अवलम्बन गरी पठनपाठनलाई अगाडि बढाउनु पर्ने अवस्था देखिन्छ ।

नेपाल सरकारले गत शैक्षिक सत्रदेखि नै महामारीमा भौतिक उपस्थितिमा पठनपाठन हुन नसक्ने अवस्थामा वैकल्पिक माध्यमबाट सिकाइलाई निरन्तरता दिने भनि निर्देशिका जारी भएको थियो । तर त्यसको उचित ढङ्गले कार्यान्वयन हुन सकेन । प्रायः शिक्षक, विद्यार्थी, अभिभावक, शिक्षाकर्मी आदिको सिकाइको वैकल्पिक तरिकाबारे बुझाईप्रति नै एकमत भएन । धेरैको बुझाई अनलाइनको माध्यमबाट मात्रै पठनपाठन गर्नु सिकाइको वैकल्पिक उपाय हो भन्ने रह्यो जुन गलत बुझाइ हो । खासगरी शिक्षण सिकाइको वैकल्पिक तरिका भन्नाले हामीले नियमित कक्षाकोठामा भौतिक रूपमा उपस्थित भएर, शिक्षक र विद्यार्थी बीचमा फेस टू फेस पठनपाठन गर्ने बाहेक अरु सबै विकल्पबाट बालबालिकालाई सिकाइमा जोड्नु वैकल्पिक तरिका हुन् । हाम्रो सन्दर्भमा सिकाईका वैकल्पिक उपायहरू निम्न हुन सक्छन्ः

  • अनलाइनको माध्यमबाट भर्चूअलरूपमा सिकाइलाई निरन्तरता दिनु,
  • दूर सञ्चारका साधनहरू प्रयोग गरी हुने सिकाइ सहजीकरण गर्नु,
  • शिक्षकद्वारा टोल–टोल÷घरदैलो गरी सिकाइलाई निरन्तरता दिनु,
  • विद्यार्थीले आफूभन्दा जान्ने व्यक्तिसँग सम्पर्क गरेर सिकाइ गर्नु,
  • घरपरिवारका सदस्यहरूको सहयोगबाट सिक्नु । आदि

नेपालजस्तो भौगोलिक रूपमा विकट, विकासका पूर्वाधारहरूको अभाव रहेको अविकसित मुलुकमा सबै वैकिल्पक विधिहरू सबै ठाउँमा अवलम्बन गर्न सकिने सम्भावना हुँदैन । वातावरण, ठाउँ, परिवेश, उपलब्ध स्रोत साधनहरूको उपयोग गरेर बालबालिकाहरूलाई निरन्तर सिकाइमा जोड्नु पर्दछ । विकासका पूर्वाधार, सञ्चारका साधनहरूको पहँुच भएका सहर बजारहरूमा इन्टरनेटको प्रयोग गरी अनलाइन सिकाइ, दूर सञ्चारका साधनहरू, रेडियो, टेलिभिजन आदिको प्रयोग गरी सिकाइलाई निरन्तरता दिन सकिन्छ । जहाँ इन्टरनेट, विद्युत, सञ्चारको पहुँच छैन त्यस्तो ठाउँमा शिक्षकद्वारा घरदैलो गरेर, छिमेकमा बस्ने आफूभन्दा जान्ने मानिसहरूको सहयोगमा, आफ्नो घर परिवारका सदस्यहरूको सहयोगबाट पनि सिकाइलाई निरन्तरता दिन सकिन्छ ।

विशेषगरी हामी शिक्षक जातमा सबैभन्दा ठूलो बुझाइको समस्या के रहेको छ भने कक्षाका सबै विद्यार्थीहरूलाई एकै पटक पठनपाठन नगर्दा, टोलटोलमा गएर शिक्षण गर्दा, पढाएर कोर्ष पूरा नहुने, सिकाइ प्रभावकारी नहुने, एउटै विषयवस्तु पटक–पटक पढाउनुपर्ने हुन्छ भन्ने छ । यो कुरा यथार्थ होइन । यथार्थ यो हो कि सिकाइलाई निरन्तरता दिन, वैकल्पिक तरिकाबाट सिकाउँदा किताब पढाउनु पर्छ भन्ने बाध्यता छैन । वैकल्पिक माध्यमबाट सिकाउँदा सिकाइको शैली पनि फरक अपनाउनु पर्छ भन्ने हो । पुस्तकमा भएको पाठ पढाइ अभ्यास गराएर मूल्याङ्कन गर्ने होइन, विद्यार्थीको जीवन पढाइ व्यवहारको मूल्याङ्कन गर्ने हो ।

विद्यार्थीहरूलाई निरन्तर सिकाइको लागि वैकिल्पक तरिकाले पुस्तकविना कसरी सिकाउन सकिन्छ त भन्ने बारेमा केही तरिकाहरू हेराैँ:

यो बन्दाबन्दीको समयमा बालबालिकाहरू विद्यालय जानु परेको छैन । यो फुर्सदको समयमा उनीहरू अत्यधिक मात्रामा खेल्न रूचाउँछन् । जुन विद्यार्थी खेल्न रूचाउँछन् उनीहरूलाई खेलकै माध्यमबाट सिकाउन सकिन्छ ।

जस्तो गुच्चा खेलिरहेका बच्चाहरूलाई गणित सिकाउनः जम्मा गुच्चा कति छन् ? जम्मा गुच्चाबाट तीनवटालाई छुट्टै राख्दा कति बच्छन् ? चारवटा गुच्चामा दुईवटा थप्दा कति हुन्छन् ? जम्मा आठवटा गुच्चालाई चारजना बच्चाहरूको भागमा लगाउँदा कति–कति पर्दछन् ? गुच्चाकै माध्यमबाट जोड घटाउ गुणन भाग वृत्त आदिका धारणा सिकाउन सकिन्छ । यसैगरी गुच्चालाई आँैलाले हिर्काए किन गुड्छ ? गुडिरहेको गुच्चा विस्तारै किन रोकिन्छ ? आकाशतिर फालेको गुच्चा किन भुँइमा झर्छ ? ओरालोमा गुच्चा गुड्छ तर उकालोमा किन गुड्दैन ? आदि विषयमा छलफल गरी विज्ञान सिकाउन सकिन्छ । एउटा गुच्चा शब्दको प्रयोग गरी वाक्यहरू बनाउ, गुच्चा कसरी खेलिन्छ वर्णन गर जस्ता विषयमार्फत भाषा पढाउन सकिन्छ । गुच्चा खेल्दा पालना गर्नुपर्ने नियमहरू के–के हुन् ? भन्ने छलफल गरेर सामाजिक पढाउन सकिन्छ ।

त्यस्तै घरायसी काममा सघाउने बालबालिकाहरूलाई भान्साकोठाको विषयवस्तुमार्फत यसरी सिकाउन सकिन्छ । तिम्रो भान्साकोठा भएका सामग्रीहरूको नाम लेख, तरकारी कसरी बनाइन्छ विधि लेख्न लगाएर भाषा सिकाउने । पानी तताएपछि किन उम्लन्छ ?, प्रेसर कुकरको सिठी किन बज्छ ?, खुर्सानी किन पिरो हुन्छ ? चिम्टाको टुप्पोले आगो समाउन सजिलो हुन्छ किन आदि विषयमा छलफल गरेर विज्ञान सिकाउने । तिम्रो पाँचजनाको परिवारलाई पाँच गिलास चामलको भातले पुग्छ भने १५ जनालाई कति गिलास चामल चाहिन्छ ? तिम्रो भान्सा कोठाको लम्बाई चौडाई कति छ नापेर लेख, टेबलको आयतन निकाल । बेलना, चौकी, झ्याल ढोका, आदिबाट ज्यामितीय धारण सिकाउन सकिन्छ । स्वास्थ्य, सामाजिक निम्न तरिकाले सिकाउन सकिन्छ– तिमीले आज खाएको खानाको परिकारको नाम लेख, तिमीले खाएको कुन खानामा कुन तŒव पाइन्छ ? सन्तुलित भोजन कसरी बनाउने ? के–के खाना मिसाएमा सन्तुलित भोजन बन्छ ? आदि ।

जुन विद्यार्थी धेरै मोबाइलमा झुन्डिरहन्छ त्यस्तो विद्यार्थीलाई मोबाइलमा सिकाइका भिडियोहरू, फोटाहरू, एप्लिकेसनहरू आदि राख्देर सिकाइतर्फ मोडन सकिन्छ । मोबाइलको डिक्सनरीबाट १० वटा नयाँ शब्दहरू खोजेर वाक्य बनाउ, कुनै पाठ आफूले पढेको मोबाइलमा रेकर्ड गरेर सुन, आदि छलफल गरेर भाषा । गणित सिकाइका लागि मोबाइलमा आयतन निकाल्ने भिडियो हेरेर आफ्नो मोबाइल, सुत्नेकोठाको आयतन निकाल्न लगाउने । मोबाइलको ब्याट्रीमा कुन पदार्थ हुन्छ ? स्पीकर, टोनका विषयमा छलफल गराएर विज्ञान सिकाउन सकिन्छ ।

यी त थोरै नमूनाका रूपमा गरिएका क्रियाकलापहरू हुन । यस्तै विषयवस्तुलाई उपयोग गरेर धेरै कुराहरू बालबालिकाहरूलाई सिकाउन सकिन्छ । हाम्रा वरिपरी थुप्रै विषयवस्तुहरू छन् । सिकाउनका लागि किताबै खोज्नु पर्दैन । हामीले बिहान उठेदेखि सुत्दासम्म गरिने क्रियाकलाप सबै सिकाइका विषयवस्तु बन्न सक्छन् तर फरक तरिकाले सोच्नु पर्दछ । हाम्रा वरीपरी रहेका जुनसुकै विषयवस्तु सिकाएर पनि पाठ्यक्रमले राखेका उद्देश्य हासिल गर्न सकिन्छ । हामीले बालबालिकालाई के पढायौँ भन्दा पनि के सिकायाँै भन्ने कुरा प्रमुख हो । बच्चाले भात पकाउने विधि लेख भन्दा सजिलै लेख्न सकिन्छ तर आफै पकाएर खाउ भन्दा उसले जान्दैन । हामीले घोक्न र लेख्न सिकायाँै बनाउन सिकाएनौं । तसर्थ हामीले लेख्न सिकाउने होइन, जीउन सिकाउने हो । जब जीउन÷बनाउन सिकाइन्छ उसले त्यसै लेख्न सक्छ । यो महामारी सिकारूको लागि व्यावहारिक शिक्षा प्राप्त गर्ने अवसर पनि हो । उसले जीवन व्यवहार कसरी सिक्ने भन्ने अवसर बा–आमाबाट, दाइ–दिदीबाट, घरभित्रबाट प्राप्त गर्दछ । अझै भन्ने हो भने उसले विद्यालयका पढेका सैद्धान्तिक कुराहरू व्यवहारमा उतार्ने यो सुनौलो अवसर पनि हो ।