राउटे समुदाय असुरक्षित

दुई युवतीमाथि यौन दुव्र्यवहार गर्ने तीन जना पक्राउ

दुई युवतीमाथि यौन दुव्र्यवहार गर्ने तीन जना पक्राउ

जंगलमा फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समुदायका दुई जना युवतीमाथि यौन दुव्र्यवहार भएको छ । यौन दुव्र्यवहार गरेको भिडियो सामाजिक सञ्जालमार्फत बाहिरिएको हो । गुर्भाकोट नगरपालिकाका स्थानीय तीन जना युवाले उनीहरूलाई होटलमा लिएर यौन दुव्र्यवहार गरेको उक्त भिडियोमा देखिन्छ । उनीहरूले राउटे युवतीहरूलाई होटलको कोठामा लिइ आफूहरू अर्धनग्न बनेर भिडियो बनाएका थिए । अहिले भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

ती युवतीहरूलाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले गुर्भाकोट नगरपालिकाका–९ का ३५ वर्षका चमन घर्ती मगर, २४ वर्षका भुपेन्द्र बुढा मगर र होटल सञ्चालक २९ वर्षका मिलन पुनलाई पक्राउ गरेको छ । उनीहरू माथि जबरजस्तीकरणीको जाहेरी दर्ता भएको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । राउटे समुदायका युवतीलाई आर्थिक प्रलोभनमा पारी मदिरा सेवन गराएर दुव्र्यवहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

सार्वजनिक भिडियोमा राउटे समुदायका युवतीहरू समेत मदिराको नशामा रहेको देख्न सकिन्छ । झण्डै डेढ सयको संख्यामा रहेका राउटे समुदाय अहिले गुर्भाकोट नगरपालिका–११ आँपसोतीमा बस्दै आएका छन् ।

राउटे समुदाय असुरक्षित रहेको यो एउटा पछिल्लो उदाहरण हो । राउटे बस्तीमा मानिसहरूको घुलमिल बढ्न थालेपछि उनीहरूमाथि यस्ता थुप्रै घटना भएका छन् । राउटे समुदाय असुरक्षित बन्दै गएको छ । केही वर्ष पहिलेसम्म राउटेहरू सहर बजार घुम्ने र अन्य समुदायका मानिससँग घुलमिल हुने गर्थेनन् । राउटे समुदाय अहिले खुलेर सबैसँग घुलमिल हुन्छन् । उनीहरूले पछिल्लो समय सबैजसो समुदायमा पुगेर अन्न तथा नगद सहयोग माग्ने गरेका छन् । राउटे समुदायको गरिबी, अभाव र सोझोपनाको फाइदा उठाउँदै केही व्यक्तिहरूले उनीहरूमाथि गलत हर्कत गर्ने गरेका हुन् । जसका कारण रूपान्तरण भएर भर्खरै सामाजिकरणको मूलप्रवाहमा आउन थालेको उक्त समुदायमा झनै असुरक्षा बढेको छ ।

लामो समयदेखि राउटे समुदायको हकहितमा काम गर्दै आएकी राउटे लोपोन्मुख, सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालका अध्यक्ष सत्यदेवी खड्काले नराम्रो दृष्टिले राउटे बस्तीमा जाने मान्छेहरूका कारण उनीहरू असुरक्षित रहेको बताइन् । ‘अब राउटे सुरक्षित रहेनन् । तर त्यो कुरा उनीहरूलाई थाहा छैन,’ उनी भन्छिन्, ‘जाँड रक्सी र खाद्यान्नको प्रलोभनमा पारेर उनीहरूमाथि दुव्र्यवहार भइरहेको छ ।’ अहिले राउटे बस्तीमा सहयोग भन्दा पनि टिकटक बनाउने, फोटो खिच्ने र भिडियो बनाउन जानेको भिड लाग्ने गरेको उनले बताइन् । यसबारे स्थानीय प्रशासन र प्रदेश सरकारलाई समेत पटक–पटक ध्यानाकर्षण गराए पनि बेवास्ता भएको उनको गुनासो छ । राउटे समुदायको उत्थानका लागि लामो समय काम गरेकी उनले ती युवतीमाथि दुव्र्यवहार गर्नेलाई कडा कारबाहीको माग समेत गरिन् ।

महिला र बालबालिका बढी जोखिममा

राउटे समुदायमा पुरुषभन्दा महिला तथा बालिकाहरू बढी जोखिममा रहेका छन् । राउटेहरू अहिले अन्य सुमदायका बस्ती नजिकै बस्ने गर्दा उनीहरूको आनीबानीमा समेत परिवर्तन आएको छ । यो समुदायलाई रूपान्तरण गर्ने नाममा कतिपय व्यक्ति र संघ–संस्थाले झनै विकृति बढाउने काम गरेको सरोकारवालाहरू बताउँछन् । राउटे समुदायका अधिकांश व्यक्तिहरू अहिले मदिराको लतमा फसेका छन् । आवाज संस्थाका कार्यकारी निर्देशक एवम् अधिकारकर्मी पवित्रा शाहीले यो समुदायका महिला र बालबालिका झन् असुरक्षित रहेको बताइन् । ‘उनीहरू अन्य बस्ती नजिकै बसेका छन् । त्यसको गलत फाइदा उठाउँदै कुदृष्टि भएका मानिसहरूले प्रलोभनमा पारेर उनीहरूमाथि अपराधजन्य गतिविधि गरिरहेका छन्,’ उनले भनिन् ।

स्थानीयका अनुसार अहिले राउटेहरू बसिरहेको स्थान र युवतीहरूमाथि दुव्र्यवहार भएको होेटलको दूरी झण्डै १० मिनेटको फरकमा छ । त्यहाँका युवाहरू दैनिकजसो राउटे बस्तीमा पुग्छन् । जाँड रक्सी लिएर युवती र महिलाहरूमाथि यौनजन्य दुव्र्यवहार गर्ने गर्छन् । राउटे समुदायलाई प्रलोभनमा पार्ने व्यक्तिहरूका कारण उनीहरू असुरक्षित बन्दै गएका हुन् । आवाज संस्थाका कार्यकारी निर्देशक शाहीले पीडित युवतीको न्यायको लागि आफूहरूले प्रहरीमा जाहेरी दिएको बताइन् । ‘आवाजले जबरजस्तीकरणीमा प्रहरीमा जाहेरी दिएको छ । राउटे समुदायको सुरक्षामा सबै सरोकारवालाहरू गम्भीर बन्न जरुरी छ,’ उनले भनिन् ।

अहिलेसम्म राउटे समुदायले भने उक्त घटनाका बारेमा जानकारी पाएका छैनन् । सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत अनिता ज्ञवालीले घटनाबारे जानकारी गराउँदा उनीहरू आफ्नै समुदायबाट असुरक्षित हुने खतरा भएकाले समुदायमा खबर नगरिएको बताइन् । उनका अनुसार युवतीहरूलाई सुरक्षित वातावरणमा राख्ने र दुव्र्यवहार गर्ने युवाहरूमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ ।

राउटे पहिले अन्य समुदायका मान्छेहरूसँग घुलमिल हुन्थेनन्् । पैसा छोए भने पाप लाग्छ भन्ने उनीहरू काठका सामग्री बनाएर अन्नसँग साटेर जीविकोपार्जन गर्थे । तर, पछिल्लो समय उनीहरूले पम्परागत पेसा संकटमा परेको छ । उक्त समुदाय माग्ने तथा सरकारले दिएको सामाजिक सुरक्षा भत्ताबाट गुजरा चलाउँदै आएका छन् । राउटे समुदायको रूपान्तरण र उत्थानमा काम गरिरहेका संस्थाहरूले पनि खाद्यान्न र पैसा सहयोग गर्दै आएका छन् । राउटेहरूले सोही पैसाबाट मदिरा किनेर खाने गरेका हुन् ।

मध्यपश्चिम विश्वविद्यालयका मानविकी तथा सामाजिकशास्त्रका सहायक डीन कमलेश डिसी आधुनिकका नाममा समाजमा देखिएका विकृतिको छायाँ राउटे समुदायमा पनि पर्न थालेको बताउँछन् । राउटे समुदायको परिवर्तनको नाममा गरिएका गतिविधिहरू व्यवस्थित नहुँदा विकृति भित्रिएको उनको तर्क छ । ‘राउटे समुदाय सामाजिक मूलधारमा आउन सकेका छैनन् । उनीहरूको संरक्षण र परिवर्तनको नाममा गरिएका क्रियाकलापको सकारात्मकभन्दा नकारात्मक असर बढी देखियो,’ उनले भने । राउटेहरूलाई देखाएर आफूले फाइदा लिने तŒवका कारण उक्त समुदाय थप असुरक्षित बनेको उनको भनाइ छ । राउटे समुदायको सुुरक्षा, प्राकृतिक बासस्थान र उनीहरूको संरक्षण गर्नु अहिलेको आवश्यकता रहेको उनले औंल्याए । राउटे समुदायका लागि राज्यले करोडौं लगानी गरे पनि उनीहरूको उत्थान र संरक्षणमा खासै प्रगति हुन नसकेको अधिकारकर्मीहरू बताउँछन् ।

प्रकाशित मितिः   २४ जेष्ठ २०७८, सोमबार ०५:००