जोखिममा गाउँ

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । अत्यावश्यक कामबाहेक नागरिक घरबाहिर निस्कन पाउँदैनन् । बजार बन्द छ । दैनिक उपभोग्य वस्तु खरिद तथा बिक्रीका लागि पनि निश्चित समय तोकिएको छ । यति हुँदाहुँदै पनि संक्रमित हुनेको संख्या घटेको छैन । थपिदै छन् । त्यसमाथि निषेधाज्ञाले प्रभाव सहरी क्षेत्रमा मात्रै छ । ग्रामीण भेगमा यसको खासै प्रभाव छैन । जनजीवन सामान्यजस्तै छ । उच्च सतर्कता र सावधानी अपनाएको पाइँदैन । जसका कारण गाउँ कोरोना संक्रमणको थाप जोखिममा परेका छन् । तथ्याङ्क हेर्दा कोरोना संक्रमणदर सहरी क्षेत्रमा घट्दै गए पनि ग्रामीण भेगमा भने बढ्न थालेको छ । पछिल्ला दिनहरूमा सहरी तथा बजार क्षेत्रमा तुलनात्मक रूपमा संक्रमण केही कम भएको देखिएको छ ।

कर्णाली प्रदेशमा वैशाख पहिलो सातादेखि दोस्रो लहरको संक्रमण फैलिन थालेको थियो । वैशाख मसान्तसम्म अत्यधिक संक्रमित पुष्टि हुने गरेकोमा त्यसयता विस्तारै संक्रमणदर घट्दै गएको देखिएको छ । निषेधाज्ञा र स्वास्थ्य सुरक्षाका मापदण्डको पालना भएका ठाउँमा संक्रमण नियन्त्रणउन्मुख भएको चिकित्सकहरूले बताएका छन् । तर प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले राखेको संक्रमितहरूको दैनिक तथ्याङ्क केलाउँदा जेठ महिना लागेयता ग्रामीण क्षेत्रमा भने संक्रमण बढ्दो क्रममा देखिन्छ । सहरी क्षेत्रमा घटेको संक्रमणदर गाउँमा बढेको छ । सुरूको चरणमा सहरी क्षेत्रमा तीव्र देखिएको संक्रमण अहिले ग्रामीण क्षेत्रमा देखिएको हो । प्रदेशभर दैनिक पुष्टि हुने कुल संक्रमितको संख्यामा खासै फरक नदेखिए पनि पछिल्लो समय गाउँमा संक्रमित बढी भेटिन थालेका छन् । ग्रामीण क्षेत्रमा भारत लगायत नेपालकै विभिन्न सहरहरूबाट फर्कनेहरूको संख्या ठूलो छ । उनीहरू सिधै गाउँ जाँदा संक्रमणको जोखिम झन् बढेको हो । अहिले अधिकांश गाउँमा घरैपिच्छे बिरामी पर्न थालेका छन् । कोरोनासँग मिल्दोजुल्दो लक्षण भए पनि उनीहरूको परीक्षण भने हुन सकेको छैन ।

कोरोना संक्रमण रोकथामका लागि वैशाख दोस्रो सातादेखि कर्णालीका सबै जिल्लामा निषेधाज्ञा जारी गरिएको हो । जिल्ला सदरमुकाम र बजार क्षेत्रमा यसको पालना भए पनि ग्रामीण क्षेत्रमा भने बेवास्ता गरिएको छ । जसका कारण निषेधाज्ञामा पनि गाउँमा संक्रमण बढ्दोक्रममा देखिएको हो । निषेधाज्ञा कहिलेसम्म जारी रहन्छ निश्चित छैन । किनभने संक्रमणको जोखिम कायमै छ । अझै पनि जोखिम नटरेकोले निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने सुझाव विज्ञहरूको छ । बरु अहिलेकै अवस्थामा लापरवाही गर्ने हो भने संक्रमण नियन्त्रणमा आउनुको साटो झनै बढ्ने देखिन्छ । यसका लागि पनि सहरी क्षेत्र सँगसँगै ग्रामीण भेगमा पनि निषेधाज्ञाको उच्च पालना गर्न जरुरी छ । साथै स्वास्थ्य सुरक्षाका उपाय अपनाउनुको विकल्प छैन । बजार क्षेत्रमा सुरक्षाकर्मी नै परिचालन गरेर निषेधाज्ञालाई कडाइका साथ कार्यान्वयन गराइएको छ । तर गाउँमा भने नागरिक स्वयम् सतर्क हुन जरुरी छ ।

प्रकाशित मितिः   १२ जेष्ठ २०७८, बुधबार ०५:००