जनताको सेवा गर्ने मौका

कोरोना महामारीले उत्पन्न संकटका कारण अहिले कर्णालीमा भयावह अवस्था छ । अस्पतालहरूमा बेड र अक्सिजन नपाएर नागरिकहरूले दिनहुँ ज्यान गुमाएका छन् । यहीबीच कोरोना संक्रमितको उपचार गरिँदै आएको प्रदेशकै ठूलो प्रदेश अस्पतालले समेत कोरोनाका थप बिरामी भर्ना गर्न नसकिने भन्दै सूचना जारी ग¥यो । नागरिकस्तरबाट प्रदेश सरकार र अस्पतालको निकै आलोचना भएपछि अस्पताल प्रशासन उक्त निर्णय सच्याउन बाध्य भयो । अहिले पनि त्यहाँ बिरामीलाई अन्यत्र उपचार सम्भव नभए मात्र भर्ना हुन आउन भनिएको छ । एकातिर नागरिकहरूले उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था छ भने अर्कोतिर सरकार मन्त्री फेरबदलमै रुमलिएको छ । महामारीको समयमा पन्छिएको भन्दै सरकारका गतिविधिको नागरिकस्तरबाट चर्को विरोध हुँदै आएको छ ।

प्रदेशको स्वास्थ्य क्षेत्र हेर्ने जिम्मेवारी सामाजिक विकास मन्त्रालयको हो । तर झण्डै एक महिनादेखि सामाजिक विकास मन्त्रालय भने मन्त्रीविहीन छ । मुख्यमन्त्री आफैले उक्त मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । यद्यपि मुख्यमन्त्री महेन्द्रबहादुर शाही सामाजिक विकास मन्त्रालयको जिम्मेवारी निर्वाह गर्नेमाभन्दा मन्त्रीहरू फेरबदलको खेलमा बढी व्यस्त छन् । यस्तो स्वास्थ्य संकटको बेला पनि उनले पाँच दिनमा तीन पटक मन्त्रिपरिषद् हेरफेर गरे । तर, स्वास्थ्य हेर्ने विभागीय मन्त्रालयमा मन्त्री नियुक्त गरेनन् । उनी मन्त्री फेरबदलको खेलमा लागिरहँदा पछिल्लो एक सातामै कर्णालीका ५० जनाभन्दा बढी कोरोना संक्रमितले ज्यान गुमाइरहेका छन् । यो क्रम निरन्तर जारी छ । तर सरकारको संवेदनशीलता न्यून छ ।

सरकारको दायित्व महामारी वा विपद्को बेला हतार गर्नु होइन, पूर्वतयारीमा ध्यान दिनु हो । आवश्यक पूर्वाधार व्यवस्थापन गर्नु हो । अस्पतालका अत्यावश्यक भौतिक संरचना जस्तै अक्सिजन प्लान्ट, शैड्ढया अनि चाहिने जनशक्तिको व्यवस्थापनमा सरकारको ध्यानाकर्षण हुनु आवश्यक छ । आईसीयू शैड्ढयाहरूमा वृद्धि, जनशक्तिलाई तालिम अनि दक्ष जनशक्तिको व्यवस्थापन गर्न सके महामारीलाई जित्न सहज हुने थियो । तर त्यसो हुन सकेन । अनेक समस्या र चुनौतीकाबीच अस्पतालहरूले काम गरिरहेका छन् ।

महामारीको यो समयमा पनि सरकार र नेताहरू राजनैतिक खिचातानीमा लाग्दा नागरिकमा नैराश्यता पैदा भएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र बिरामी पनि निराश बनेका छन् । यस्तो अवस्थामा पनि स्वास्थ्यकर्मीहरूले आफ्नो दायित्व पूरा गरिरहेका छन् । भोकै पेट पनि उनीहरू कोरोना संक्रमितको उपचारमा खटिरहेका छन् । आफैं संक्रमित भएर पनि बिरामीलाई निको बनाउन जुटिरहेका छन् । तर सरकार भने राजनीतिक खेलमै व्यस्त छ । सरकार र राजनीतिक दलले महामारीको व्यवस्थापनलाई केन्द्रमा राख्न सकेनन् । सतर्कता अपनाउन सकेनन् । जनताको जीवन बचाउने कर्तव्यबाट सत्ता पक्ष न त प्रतिपक्ष कोही पनि भाग्न मिल्दैन । सबै मिलेर यो संकटसँग जुद्दन जरुरी छ । अहिले सत्तास्वार्थको खेल खेल्ने बेला पटक्कै होइन । सबै राजनीतिक मनमुटाव र समस्याहरूलाई थाति राखेर कोरोना महामारी नियन्त्रणमा लाग्ने बेला हो ।

प्रकाशित मितिः   ५ जेष्ठ २०७८, बुधबार ०५:००