संक्रमित बढेसँगै स्वास्थ्य पूर्वाधार अभाव

कर्णाली प्रदेश सरकारले कोरोना भाइरस ‐कोभिड–१९) नियन्त्रण र उपचार व्यवस्थापनका लागि वैशाख लागेयता मात्र दर्जनौं निर्णय गरेको छ । सरकारले एक पछि अर्को धमाधम निर्णय गरेपनि त्यसको कार्यान्वयन भने निकै सुस्त छ । कोरोना प्रतिकार्यका लागि आवश्यक पर्ने पूर्वाधार र जनशक्तिको अभाव कायमै छ ।

वैशाख १९ गते बसेको प्रदेश कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले प्रदेश अस्पतालमा कोरोना संक्रमितको उपचारका गर्न तत्काल अक्सिजनसहितका एक सय बेड बनाउने निर्णय ग¥यो । पाँच वटा जिल्ला अस्पतालमा एक सय बेड र बाँकी अन्य अस्पतालमा ५० बेड तयार गर्ने निर्णय गरिएको थियो । तर, प्रदेश अस्पतालले ८०÷९० जना बिरामी भर्ना नहुँदै अक्सिजन अभाव देखाएर थप बिरामी लिन नसकिने सूचना जारी गर्‍यो । प्रदेश सरकार र अस्पताल प्रशासनको सर्वत्र आलोचना भएपछि अहिले जटिल अवस्था आए मात्रै प्रदेश अस्पतालमा उपचारका लागि आउन भनिएको छ । जिल्ला अस्पतालहरूले पनि थप बिरामी भर्ना लिन समस्या भएकाले जटिल अवस्था भए मात्रै खबर गरेर अस्पताल आउन भनिरहेका छन् । प्रदेश सरकारले बजेट र योजनासहित जिल्ला अस्पतालहरूलाई उपचार व्यवस्थापन मिलाउन भने पनि त्यसको कार्यान्वयन भएको छैन । बिरामीहरू उपचारबाट वञ्चित हुँदै आएका छन् ।

कर्णाली सरकारले दैलेख, जाजरकोट, रूकुम–पश्चिम, सल्यान र कालीकोटमा अक्सिजनसहितको एक सय बेड तयार गर्ने भनेको थियो । अहिले यी जिल्लाहरूले ५० जना संक्रमितको पनि उपचार गरिरहेका छैनन् । अक्सिजनसहितका बेडको क्षमता ५० भन्दा बढी बनाइएको छैन । जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना नियन्त्रण फोकल पर्सन थिरप्रसाद रेग्मीले सरकारले निर्णय गरेबमोजिम अस्पतालमा बेड नबनेको बताए । उनका अनुसार जिल्ला अस्पतालमा अहिले ३६ जना कोरोनाका बिरामी छन् । तीमध्ये केहीलाई मात्र अक्सिजन दिएर उपचार गर्नु परेको छ । उनले संक्रमितको संख्या बढे उपचारका लागि बेड अभाव हुने बताए ।

कतिपय जिल्लामा स्वास्थ्य पूर्वाधार थप्ने भन्दा पनि भएकै उपकरण प्रयोगविहीन छन् । जनशक्ति अभावमा स्वास्थ्य उपकरण सञ्चालन गर्न नसकिएको अस्पतालहरूले जनाएका छन् । कालीकोेटमा भेन्टिलेटर र आईसीयू सेवा सञ्चालन गर्ने जनशक्ति नहुँदा सिकिस्त बिरामी भए जुम्ला वा सुर्खेत रेफर गर्नुपर्ने बाध्यता छ । यहाँ कोभिड संक्रमितका लागि ५५ बेड छन् । त्यसमध्ये अक्सिजनसहितका २४ वटा बेड मात्र छन् । अक्सिजनको अभावका कारण ती बेडमा पनि उपचारमा कठिनाइ भएको अस्पतालका डाक्टर रोजकमल कार्की बताउँछन्  । अहिले त्यहाँ ४३ वटा अक्सिजन सिलिण्डर छन् । अक्सिजन प्लान्ट निर्माणाधीन अवस्थामा छ । डाक्टर कार्कीले भने, ‘मुख्यमन्त्रीले भर्चूअल मिटिङमा अक्सिजनसहितका बेड बनाउने भनेर भन्नु भएको थियो । बेड मात्र थपेर के गर्नु यहाँ जनशक्ति र पूर्वाधारको व्यवस्थापन नै गर्न सकिएको छैन । डाक्टर र सोही अनुसार जनशक्ति थप्नुपर्छ ।’

यस्तै, जाजरकोटमा अहिले अक्सिजनसहितका २२ वटा बेड छन् । भवन नभएकाले एउटा विद्यालयमाा १२ बेड थप्ने तयारी भइरहेको अस्पतालले जनाएको छ । बिरामीका लागि अक्सिजनको अभाव छ । अक्सिजन प्लान्ट बनाउने काम भइरहेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख टीकाराम जैसीले बताए । उनका अनुसार त्यहाँ पनि जनशक्ति र पूर्वाधारको अभाव छ । जिल्ला अस्पतालमा रहेको एउटा भेन्टिलेटर पनि सञ्चालन गर्ने जनशक्ति नहुँदा थन्किएको छ । ‘प्रदेश सरकारले भनेको जसरी एक सय बेड बनाउन सकिएको छैन । प्रदेशबाट आएको एक करोड बजेटले सिलिण्डर, पीपीई लगायतका सामग्री खरिद गर्ने प्रक्रियामा रहेको उनले बताए ।
जिल्ला अस्पताल सल्यानमा कोभिड बिरामीका लागि २३ वटा बेड छन् । बीचमा बेड थपेर मुस्किलले ३४ जनाको उपचार भइरहेको कोरोना नियन्त्रण फोकल पर्सन रिखाराम पुनले बताए । ‘बेड अभावले बिरामी भर्ना लिन गाह्रो छ । अस्पताल आइसकेपछि बिरामी फिर्ता हुन मान्दैन । हामीले आइसकेका बिरामीलाई जसोतसो व्यवस्थापन गरिरहेका छौं,’ उनले भने । सल्यानमा पनि अक्सिजनसहितका बेड अभाव भएकाले जटिल अवस्थाका बिरामी अन्यत्र रेफर गर्ने गरिएको छ ।
प्रदेश सरकारको निर्णय अनुसार डोल्पामा अक्सिजनसहितको ५० बेड तयार हुनुपर्ने हो । तर अहिले जिल्ला अस्प्तालमा २० र रेडक्रसको भवनमा १० वटा बेड छन् । त्यसमा पनि सबै बेडमा अक्सिजनको सुविधा छैन । स्वास्थ्य सेवा कार्यालयका प्रमुख ओमसिंह शाहीले भने, ‘हामीले दुर्ई ठाउँमा गरेर ३० बेड सञ्चालन गरेका छौं । केही बेड मात्र अक्सिजनसहितका छन् । अक्सिजन प्लान्टको काम पनि सुरू नभएको उनी बताउँछन् ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले प्रदेश अस्पतालमा पाँच सय बेड बनाउने लक्ष्यसहित तत्काल एक सय बेड, अन्य जिल्ला अस्पतालहरूमा एक सय र ५० बेड बनाउने निर्णय भएको बताए । त्यसका लागि जनशक्ति र पूर्वाधार व्यवस्थापनमा समय लाग्ने उनको भनाइ छ । ‘प्रदेश सरकारले घोषणा गरेको हो । तर, यसका लागि प्रक्रियामा जाँदा केही ढिलो हुन्छ,’ उनले भने । निर्देशक खड्काले सबै अस्पतालमा जनशक्तिको अभाव रहेको भेन्टिलेटर सञ्चालनका लागि सुर्खेत र जुम्लाबाहेक अन्य जिल्लामा सम्भव नहुने बताए ।

कर्णालीमा पछिल्लो एक महिनामा कोरोना संक्रमण दर उच्च छ । लक्षणसहितका कोभिड संक्रमितको चाप बढेपछि अस्पतालहरूलाई उपचारमा कठिनाइ भएको छ । संक्रमित बढेसँगै स्वास्थ्य पूर्वाधार र जनशक्तिको झनै अभाव देखिएको हो । प्रदेशमा अहिले पाँच हजार बढी कोरोनाका सक्रिय संक्रमित छन् ।

प्रकाशित मितिः   ३ जेष्ठ २०७८, सोमबार ०५:००