जनताले जितेको वर्ष २०७२

साझा बिसौनी संवाददाता
सुर्खेत, ३० चैत ।
प्राकृतिक प्रकोपका अगाडि २०७१ सालमा सुर्खेतीहरू घुँडा टेक्न बाध्य भए । जिल्लामा आएको बाढी र पहिरोका कारण एक सय ३४ जनाको ज्यान गयो । हजारौं परिवार घरवारविहीन भए । उनीहरू अहिले पनि जिल्लाका विभिन्न स्थानमा त्रिपालमुनी कष्टकर जीवन बिताउन बाध्य छन् । समग्रमा २०७१ साल सुर्खेतका लागि अभिशाप नै बन्यो । सम्झन लायक उपलब्धी भन्दा पनि दुःखद् वर्षका रूपमा आँसु र पीडा दिएर बिदा भयो ।
२०७१ सालको बाढी र पहिरोले थला परेको सुर्खेतका लागि बितेको वर्ष अर्थात् २०७२ साल ऐतिहासिक बन्यो । मंगलवारबाट बिदा भएको २०७२ सालमा सुर्खेती जनताले गुमेको पहिचान रगतसँग साटेर फिर्ता ल्याउन सफल भए । सुर्खेतमा सुरु भएको अखण्ड मध्यपश्चिमको आन्दोलन यस क्षेत्रका अन्य जिल्लाहरूमा पनि फैलियो । १३ दिनसम्म जनताको निरन्तरको सङ्घर्षको अगाडि सरकार र राजनीतिक दलहरू झुक्न बाध्य भए । अखण्ड मध्यपश्चिमको माग पूरा नभए पनि सुदूरपश्चिममा गाभिन पुगेका भेरी र कर्णालीका जिल्लाहरू फिर्ता भए । सोही क्रममा सुर्खेतमा तीन जनाले ज्यान गुमाए । यही आन्दोलनलाई सम्बोधन गर्दै छैठौं प्रदेश घोषणा भयो । यस अर्थमा सुर्खेत लगायत भेरी र कर्णाली अञ्चलका जनताका लागि बितेको वर्ष विजयको वर्ष बन्दै बिदा भएको छ ।
मंगलवारबाट बिदा भएको २०७२ साल साउन २२ गतेबाट सुर्खेतमा मध्यपश्चिम विश्व–विद्यालयका प्राध्यापक र विद्यार्थीहरूले अखण्ड मध्यपश्चिमको माग गर्दै आन्दोलन सुरु गरे । आन्दोलन चर्किदै जाँदा साउन २५ गते सुर्खेतमा गोली नै चल्यो । टीकाराम गौतम, यामबहादुर बिसी र गोपालसिं रजवारले अखण्ड मध्यपश्चिमका लागि ज्यान गुमाए । साउन २५ गते जिल्लाका लागि दुःखद् दिनको रूपमा कोरिन पुग्यो । भूगोलको अस्तित्वको लडाईंमा अन्ततः जनताले नै जिते । आन्दोलन सुरु भएको १३ दिनपछि सुदूरपश्चिममा गाभिएका भेरी र कर्णालीका जिल्लाहरू भदौ ३ गते फिर्ता भए । जनताको सङ्घर्ष र आन्दोलनको अगाडि झुक्न बाध्य भएका दलहरूले भेरीका तीन, कर्णालीका पाँच र राप्तीका दुई जिल्ला समेटेर छैठौं प्रदेश घोषणा 
गरे । समग्रमा बितेको वर्ष सुर्खेत र यसक्षेत्रका जनताले जितेको वर्षको रूपमा स्थापित हुन पुगेको छ । बिदा भएर गए पनि इतिहासको दस्ताबेजमा सुर्खेत र यस क्षेत्रका जनताको लागि २०७२ साल विजय र प्राप्तीको वर्षको रूपमा बिदा भएको छ ।
अनेकौं आरोह र अवरोहको बीचमा बितेको वर्षमा नयाँ संविधान घोषणा भएको छ । २००७ सालदेखि संविधानसभाबाट संविधान बनाउने जनताको चाहाना बितेको वर्षमा नै पूरा भएको छ । जनताका प्रतिनिधिहरूले बनाएको संविधान प्राप्त गर्न सफल भएका कारण पनि २०७२ साल जनताले जितेको वर्षको रूपमा इतिहासको पानामा लिपिबद्ध हुन पुगेको छ । अनेकौं बाधा र अवरोधको बीचमा पनि बितेकै वर्ष असोज ३ गते जनताले नयाँ संविधान पाउन सफल भए । यस अर्थमा पनि २०७२ साल जनताको लागि विजयको वर्षको रूपमा रहन पुगेको छ । यस्तै सुर्खेतका लागि बितेको वर्षले तुलनात्मक रूपमा धेरै उत्साह र खुशीहरू छोडेर बिदा भएको छ । बितेको वर्षमा नै सुर्खेत खुला दिसामुक्त जिल्ला घोषणा भएको छ । यो जिल्लाको सरसफाइको क्षेत्रमा महŒवपूर्ण उपलब्धी हो । यस्तै बिदा भएको वर्षमा नै सुर्खेत नेपालमै पहिलो आधारभूत तह अनिवार्य तथा निःशुल्क शिक्षासँगै साक्षर जिल्ला घोषणा भएको छ । जिल्लाको शैक्षिक इतिहासमा बितेको साल ऐतिहासिक बनेको छ । बिदा भएको वर्षमा नै सुर्खेत उद्योग वाणिज्य संघ, नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, झुप्रा बृहत खानेपानी उपभोक्ता समितिले नयाँ नेतृत्व पाएका छन् । 
सुर्खेतको विकास निर्माणमा समेत बितेको वर्षले केही आशाका सङ्केतहरू छोडेर गएको छ । बिदा भएको वर्षमा नै वीरेन्द्रनगरमा धुलियाविटदेखि बाङ्गेसिमल सडकखण्ड 
चार लेनको बनाउने गरी काम सुरु भएको छ । यसले पनि विकासको केही आशा छोडेर २०७२ साल बिदा भएको छ । जिल्लाको महŒवपूर्ण पर्यटकीय स्थल काँक्रेविहारको पुनर्निर्माणको काम पनि बितेको वर्षबाटै सुरु भएको छ । यस्तै वीरेन्द्रनगरमा रहेको सीटी बसपार्कको निर्माणको काम पनि बिदा भएको वर्षबाट सुरु भएको छ । बितेको वर्षमा नै जिल्लामा सुविधा सम्पन्न आँखा अस्पतालको स्थापना, भेरी नदीको सुवाघाटमा पक्की पुल निर्माणको सुरुवात, भेरी–बबई डाइभर्सनको कामले तीव्रता पाउने लगायतका विकासका कामहरू बितेको वर्षमा नै सुरु भएका छन् । यसले पनि जिल्लामा केही सुखद् सन्देशहरू छोडेर २०७२ साल बिदा भएको छ । बाढीपीडितको पुनस्र्थापनाको काम नहुँदा केही निरस बने पनि बितेको वर्ष सुर्खेती जनताको लागि हर्ष र जीतको वर्ष बनेर बिदा भएको छ ।
प्रकाशित मितिः   १ बैशाख २०७३, बुधबार ११:२१