अस्पतालभित्रै हेलचक्य्राइँ

कोरोना भाइरस (कोभिड–१९)का संक्रमितले अस्पतालको बेड भरिएका छन् । गम्भीर प्रकृतिका बिरामी बढ्दैछन् । अक्सिजन दिएर उपचार गर्नुपर्ने बिरामीहरूको संख्या दिनप्रति दिन थपिएका छन् । आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपरिरहेको छ । नियमित अक्सिजन दिनुपर्छ । अस्पतालहरूले चाप थेग्न नसक्ने अवस्था सिर्जना हुँदैछ । तर यस्तो संकटको बेलामा एकातर्फ आवश्यक पूर्वाधारको अभाव छ भने अर्कोतर्फ जनशक्तिको अभाव छ । न्यून जनशक्तिले यो संकटसँग जुधिरहनुपरेको छ । जनशक्ति कम भएका कारण अस्पतालहरूले सहज सेवा दिन सकिरहेका छैनन् । गम्भीर बिरामीहरूको हेरचाहमा स्वास्थ्यकर्मीहरूले पर्याप्त समय दिन पाउँदैनन् ।

स्वास्थ्यकर्मीहरूले पर्याप्त समय दिन नसक्ने हुनाले हरेक बिरामीका आफन्त कुरुवाका रूपमा बसेका छन् । आईसीयू र कोभिड संक्रमितको उपचार वार्डभित्र संक्रमितका आफन्तहरू पनि सँगसँगै छन्, बिरामीको हेरचाहका लागि । यसले अर्काे जोखिम थपिएको छ । कुरुवाहरू पनि संक्रमित हुन थालेका छन् । उनीहरूको स्वास्थ्य जोखिममा परेको छ । केही कुरुवाहरूमा अस्पतालमा बसेकै कारण संक्रमण समेत देखिएको छ । अस्पतालमा जति नै सतर्कता अपनाए पनि संक्रमणबाट जोगिन मुस्किल छ । स्वास्थ्यकर्मीहरू पीपीई लगाएर आउँछन्, आवश्यक काम गर्दछन् र जान्छन् । तर बिरामीका कुरुवाहरू भने केबल मास्क लगाएर दिनरात बिरामीसँग हुन्छन् । अस्पतालमा संक्रमितका कुरुवा दुई–तीन जना समेत बस्ने गरेका छन् । एकजनाले मात्र दिनरात हेरचाह गर्न समस्या भएपछि पालो गरेर बस्ने गरिएको हो । उनीहरू त्यहाँ मात्र बस्दैनन् । नियमित घरमा आउँजाउ पनि गर्छन् । जसका कारण संक्रमणको जोखिम कुरुवाहरूलाई मात्रै होइन उनीहरूको सम्पर्कमा पुग्ने अन्य परिवार र समाजसम्म उत्तिकै हुने गरेको छ । यसतर्फ कसैको ध्यान पुगेको देखिदैन । अस्पतालभित्रै हेलचक्य्राइँ देखिन्छ । बिरामी कुरुवाहरूलाई संक्रमणको जोखिमबाट जोगाउन आवश्यक सावधानी अपनाइएको छैन ।

अस्पतालहरूमा पर्याप्त जनशक्ति नहुँदा यो समस्या देखिएको हो । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै कर्णालीमा संक्रमण र मृत्युदर उच्च छ । प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या करिब चार सय पुगिसकेको छ । कोरोना संक्रमणका कारण हालसम्म कर्णालीमा ८२ जना मृत्यु भइसकेको छ । दैनिक सयौंको संख्यामा संक्रमित थपिँदै छन् । त्यसमा पनि गम्भीर प्रकृतिका बिरामीहरूको संख्या दिनहुँ बढ्दो क्रममा छ । बिरामी थपिँदै जाँदा अस्पतालहरूमा जनशक्तिको समेत अभाव हुन थालेको छ । थोरै जनशक्तिले धेरै बिरामी हेर्नुपर्ने बाध्यता रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् । सरकारले जोखिम पूर्वानुमान गरेर आवश्यक तयारी गर्न सकेन । व्यवस्थापनमा भएको कमजोरीका कारण जोखिम बढ्यो । संक्रमित बढे । अहिले संक्रमण नियन्त्रण र रोकथामका साथसाथै संक्रमितहरूको उपचारमा जटिलता उत्पन्न भएको छ । पर्याप्त मेडिकल अक्सिजन, अक्सिजनसहितको बेड विस्तारका साथसाथै आवश्यक जनशक्ति बढाउनेतर्फ अब पनि ढिला गर्नु हुँदैन । जोखिमको बेला सबैखाले पूर्वतयारी र व्यवस्थापनले नै त्यसलाई रोकथाम तथा नियन्त्रण गर्न सकिन्छ । यसमा सम्बन्धित निकाय चुक्नु हुँदैन ।

प्रकाशित मितिः   २७ बैशाख २०७८, सोमबार ०५:००