गाइजहरूसँगको एक वर्षे यात्रा
गाइज: समीक्षा
आज म एक्लै छु । मसँग मेरा गाइजहरु झुमा, आइते, रहिना, महाशंकर र बक्राम कोहि पनि छैनन् । उनीहरुसँगको यात्रामा पूर्ण विराम लगाएर आज म एक्लै हिड्ने सोचमा छु । तर यो यात्रामा उनीहरु सम्झनामा रहिरहने छन् । यो यात्रामा मात्र होइन, जिन्दगीको हर कुनै मोडमा म उनीहरुसँगै हुनेछु ।
एक वर्ष अगाडि लकडाउन सुरु हुँदा गाइजहरुसँग छलफल सुरु गरेको थिएँ । रुकुम पश्चिमका नवराज विक लगायत छ जनाको जातका कारण बिभत्स हत्या हुँदा सुरु भएको छलफल कर्णाली प्रदेशमा भइरहेको राजनीतिको कुकुर झगडामा आएर टुंगिएको छ ।
कला, संस्कृति, संस्कार, व्यवहार, इतिहास, राजनीति लगायतका सबै विषयमा गाइजहरुले बहस गरे । त्यो कत्तिको गर्मागरम भयो त्यो तपाईंहरुले नै भन्ने कुरा हो । यसमा मेरो भन्नु केही छैन ।
कर्णालीको विषयमा छलफल गर्ने सोच भए पनि सूचनाको अभाव र भूगोलसँगको परिचय नहुनुले जुम्ला र सुर्खेत बाहेकका जिल्लाबारे धेरै सामग्री आउन नसक्नु यसका सीमा बने ।
गाइज स्तम्भको नाम जुम्लाको गिडीखोलामा न्वारान भएको थियो। कोरोनाका विरामी खासै नदेखए पनि होहल्ला बढ्ता भएसँगै सावधानी पनि बड्ता थियो । बजार चैत लागेजस्तै भए पनि गाउँमा जेठ लागिसकेको थियो ।
खासगरी बजारमा लकडाउन, सिल र निषेधाज्ञाले गर्दा परिवर्तन भएजस्तो देखिदैन थियो । यथास्थितिमा रहेका हामी बजारबाट दुई घण्टा बढी हिडेर पुगिने गाउँ गिडीखोलामा पुग्दा ठूलै क्रान्ति भइसकेको थियो । पालुवा पलाएर पनि परिपक्व भइसकेका थिए । मार्सी धानको बीउ हुर्केर बेर्नाबाट खेतमा पुगिसकेको थियो ।
एउटा शर्तमा स्तम्भ लेख्छु भन्ने सोच बनाएर हत्तपत्त मोबाइलको नोटमा गएर नाम सेभ गरेँ । बजार फर्किएपछि विनोद जीसँग कुरा भयो । महिनाको दुईवटा लेख्ने, त्यसको पारिश्रमिक स्वरूप उहाँले किताब पठाइदिने । यत्ति कुरा ओक्के भएपछि पात्रहरूको निर्माण कार्य थालनी भएको हो ।
भाञ्जा (रवि नेपाली) को रोपाइको निम्ति हामी गिडिखाला पुगेका थियौं । म खेतको आली खन्दै थिए । भाञ्जा खेत जोतेर अरुसँग ओहोरदोहोर गर्दै थिए । खन्दै जोत्दै गर्दा हाम्रो दूरी उतिखेरै नजिकिन्थ्यो, लगत्तै टाडिहाल्थ्यो । यसो गराउनमा गोरुहरुले भूमिका खेलिरहेका थिए । तर पनि संवाद मजाको चलिरहेको थियो ।
हामीले मामा भाञ्जा नातामा हुनुपर्ने कैयौं सिमाहरु तोडेका छौं । जस्तो कि मामा भाञ्जा एउटै ओेछ्यानमा सँगै सुत्दा सिन्काको साँध हाल्नुपर्छ, भाञ्जालाई लात्तीले हान्नु हुन्न आदि इत्यादिलाई छोडेर हामी साथी भएका छौं । साथी हुँदा जस्तोसुकै सम्बाद पनि सजिला बनिदिन्छन् । अस्लिलै बोल्नुपरे पनि सिल जस्तो लागिदिन्छ ।
त्यहीँ हामीले ठट्टै ठट्टामा लेखनीको विषयमा गफ चुटेका थियौं । त्यसै बीचमा म बेला बेलामा फाट्टफुट्ट साझा बिसौनीमा लेखहरु पठाइरहेको थिए । विनोद जीले नियमित लेख्न सुझाइ रहनुभएको थियो ।
भाञ्जा ‘गाइज जोत्दा सियो त यस्तो भयो नि । गाइज गोरुले पिसाब फेर्याे नि ।’ यस्तै यस्तै बोलीरहेका थिए । हामीविना माक्स दाँत देखाएर निर्धक्क हाँसीरहेका थियौं । त्यसैबीचमा मैले विनोद जीलाई सम्झिए । र स्तम्भको नाम फुर्यो ‘गाइज’ ।
एउटा शर्तमा स्तम्भ लेख्छु भन्ने सोच बनाएर हत्तपत्त मोबाइलको नोटमा गएर नाम सेभ गरे । बजार फर्किएपछि विनोद जीसँगकुरा भयो । महिनाको दुईवटा लेख्ने, त्यसको पारिश्रमिक स्वरुप उहाँले किताब पठाइदिने । यत्ति कुरा ओके भएपछि पात्रहरुको निर्माण कार्य थालनी भएको हो ।
झुमा मेरी काकीको नाम हो । काकी देउताकी धुमेनी हुन । उनलाई लाटी आउँछ । यथार्थमा रुडीवादकी प्रखर समर्थकलाई परिवर्तन गरेर क्रान्तिकारी देखाउन झुमालाई परिपक्व पात्रको रुपमा उभ्याउन खोजेको हुँ । म कति सलफ भए त्यसमा पनि तपाईंको प्रतिक्रिया नै कुरिरहुको छु ।
दलितहरुका नाम गतिला हुँदैनन् । सत्ताको वरिपरि रहने ठालुहरुले दलितहरुको नाम बुदे, झुप्रे, सुने, आइते, बैशाखे आफै राखिदिने गरेका घटनाहरु गाउँघरमा प्रशस्तै भेटिन्छन् । यसको पनि स्त्रीलिङ्गी रुपान्तरण गरेर महिलाका नाम निर्माण भएको साँचो नै हो ।
राम्रा नाम राख्न समेत नपाउने दलितलाई उच्च राजनीतिक चेत भएको र प्रविधिमा पोख्त पात्रको रुपमा उभ्याउन खोजेको थिए । त्यसैले संस्कार, संस्कृति, इतिहास, राजनीतिबारे स्टोरी टेलर आइते हुन्थ्यो भने हरेक पल्ट जुम मिटिङको सेटिङ मिलाउने काम पनि उसैले गथ्र्याे । ऊ कस्तो छ कृपया भन्न नछुटाउनु होला ।
दाइजो नपाएको निउमा पति, सासु, ससुरा र घर परिवार मिलेर बाँकेकी रहिना सेख ढफालीलाई आगो लगाएर मार्ने प्रयास भयो । मलाई आलोचनात्मक चेतयुक्त प्रखर र खरो पात्र चाहिएको थियो । पात्र निर्माणमा म कमजोर भए पनि रहिनाको चित्र कोर्ने प्रयास गर्न छोडिन । म कति प्रतिशत अगाडि बढ्न सके त्यो नापतौलको तराजु तपार्इंहरुकै हातमा छ । म केही भन्दिन ।
तर, कालो छाला देख्ने बित्तिकै मधेसी भनेर हेपिहाल्ने पहाडिया मानसिकताले बुझ्न नसकेको कुरा के हो भने हिमाल र पहाडमा गणित र विज्ञान शिक्षा दिन उनीहरुले नै अहम भूमिका खेलेका थिए । खाली सिसी र प्लास्टिक बटुलेर पेट पाल्नेहरुलाई हेपेर श्रमको अपमान गर्ने हामीलाई लज्जाबोध होस् भनेर नै रहिनालाई कर्णालीबारे बोल्न अघि सारिएको थियो । ऊ त्यो काममा प्रफेक्ट भई पनि । मेरो नजरमा उसले ए प्लस ल्याई । तपाईंको नजारम ऊ कस्ती भइ ? कृपया भनिदिनुस् है ।
महाशंकर मैले बुझेसम्म सामन्त नै हो । उसले धेरैलाई दबाएको छ । तथापि ऊ स्वघोसित समाजसेवी थियो । उसैलाई केही कोसिस गरेर परिवर्तन गराउन खोजेको हो । त्यसैले रहिना बारम्बार उसलाई घोचिरही । ऊ परिवर्तन हुन खोजे पनि खानदानी समस्याले गर्दा ऊ बेलाबेला चिप्लिरहयो, रहिनाले जिब्रो समातिरही ।
यी दुईको झगडा मिलाउने शान्त पात्र हो, बक्राम । ऊ मेरो रियल लाइफको क्रान्तिकारी साथी हो । प्राय मौन बस्छ, मूर्ति जस्तै । त्यसैले बेलाबेला उसलाई मुर्ति भनेर रहिनाले जिस्काइरही । तर अप्ठ्यारो परेको बेला ऊ बोल्छ । उसको बोली वाणी जस्तै हुन्छ । गाइहरुसँगको यो यात्रामा तपाईंहरुले कत्तिको महशुस गर्नु भयो ?
मैले बक्रामबाट खोजेको यति मात्र हो । यसमा मबाट हुन गएका कयौं कमजोरीलाई औंल्याउने जिम्मा म फेरि पनि तपाईहरुलाई न दिन चाहन्छु ।
एक हप्ता बिराएर अर्काे हप्ताको शनिबार गाइज आउने वातावरणलाई कुनै पनि हालतमा खलबलीन नदिने सोचसहित म तयार भएको थिए । म सफल भए पनि । सुरुदेखि नै भनेको थिए, ‘एक वर्ष पूरा भयो भने यो श्रृंखलालाई यहीँ अन्त्य गर्छु’ भनेर ।
यो अवधिमा कहिले विषय गतिलो ठम्याउन नसकेर शुक्रवार आउँदा हतार हतार लेख्नुप¥यो । त्यसरी लेखिएका गाइजहरु निकै खल्ला भएको महशुस म आफैले गरेको छु । कति आफूलाई रसिला लागेका गाइजहरुमा पनि रस भर्न नसेकेकोमा तपार्इंहरु झोक्किनु भयो होला भन्ने लागेको छ ।
हतारमा लतारपतार गरेर माझेका कति भाँडामा जुठो राखेर तपाईंहरुलाई चिड्याउने काम गरे हुँला । त्यसका लागि आज म एक्लै माफी माग्छु । मेरा गाइजहरुलाई दोष नलगाइदिनु होला । दोष जति सबै मेरो हो । मै सहुँला बुझुँला ।
कोरोनाको कहरकै बेला सुरु गरेको गाइज लेखन यात्रा कोरोनाको दोस्रो लहर चलिरहँदा बिट मार्ने समय आइपुगेको छ । कोरोनाको कहर नसकिए पनि गाइजहरुसँगको यात्रा सकिएको छ । आगामी दिनमा के गर्ने त्यो सल्लाह नहुञ्जेल गर्भमै रहन दिउ ।
प्रकाशित मितिः २५ बैशाख २०७८, शनिबार ०५:०३
साझा बिसौनी ।