संक्रमण निरन्तर उकालो

कोरोना संक्रमणको दोस्रो लहर सुरू भएपछि कर्णालीमा संक्रमण दर बढेको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार पछिल्लो समय संक्रमणको दर उच्च देखिएको हो । बिहीवार प्रदेशभर आठ सय ७८ जनाको परीक्षण गर्दा पाँच सय तीन जनामा कोराना संक्रमण पुष्टि भएको छ ।

यस्तै बुधवार एक हजार ४७ जनाको कोरोना परीक्षण गरिएको थियो । जसमध्ये चार सय ९७ जनामा संक्रमण देखियो । केही दिनयता परीक्षणको दायरा पनि बढाइएको निर्देशनालयले जनाएको छ । परीक्षण गरेकामध्ये ७० देखि ८० प्रतिशतमा संक्रमण पुष्टि हुँदै आएको छ । अहिले कर्णालीका सबै जिल्लामा निषेधाज्ञा जारी छ । संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको हो । तर, निषेधाज्ञाको अवधिमा पनि संक्रमण दर उच्च देखिएको छ । निषेधाज्ञामा पनि संक्रमणको दर घटेको छैन । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार पछिल्लो एक साता यता मात्र प्रदेशमा दुई हजार बढीमा संक्रमण पुष्टि भइसकेको छ । अहिले सबैभन्दा बढी संक्रमित सुर्खेतमा छन् । दैलेख, सल्यान, जाजरकोट र रुकुम–पश्चिममा पनि संक्रमितको संख्या धेरै छ ।

बिहीवारसम्म प्रदेशभर दुई हजार आठ सय ३१ सक्रिय संक्रमित छन् । तीमध्ये सुर्खेतका मात्रै एक हजार चार सय ६३ जना हुन् । बिहीवार सुर्खेतमा थप तीन सय ६८ जनामा संक्रमण देखिएको छ । यस्तै, दैलेखमा तीन सय ११, सल्यानमा तीन सय एक, जाजरकोटमा दुई सय ६१, रुकुम–पश्चिममा दुई सय १५, कालीकोटमा एक सय ८३, डोल्पामा ३४, मुगुमा २५, हुम्लामा १६ र जुम्लामा १२ जना सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।

प्रदेश अस्पतालमा बिहीवारसम्म ८२ जना कोरोनाका संक्रमित उपचाररत छन् । जसमध्ये १२ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालका फोकल पर्सन डा. के.एन. पौडेलले बताए । पछिल्ला दिनहरूमा कोराना संक्रमितहरूमा गम्भीर प्रकृतिका लक्षणहरू देखिन थालेको उनी बताउँछन् । सिकिस्त बिरामीहरूको संख्या बढ्दै जाँदा अस्पतालहरूमा उपचार व्यवस्थापनमा समेत समस्या देखिने गरेको छ । डा. पौडेलले संक्रमणको अवस्था के हुने भन्नेबारे अनुमान लगाउन पनि अझै केही समय लाग्ने बताए । ‘निषेधाज्ञा भएको करिब १५ दिन जति ‘चेन ब्रेक’ गर्न समय लाग्छ । एक दुई दिनमै नियन्त्रण गर्न सकिने होइन,’ उनी भन्छन्, ‘कम्तीमा पनि दुई साता निषेधाज्ञा भए त्यसपछि संक्रमणको अवस्था भन्न सकिन्छ ।’ उनले निषेधाज्ञाले संक्रमण फैलन भने अवश्यै रोक्ने बताए ।

रुकुम–पश्चिममा अहिले २५ जना कोरोना संक्रमितको अक्सिजन दिएर उपचार भइरहेको छ । स्वास्थ्य सेवा कार्यालयका कोरोना फोकल पर्सन ईश्वर रावलका अनुसार पछिल्ला दुई दिन यता दैनिक तीन÷चार जना अस्पतालामा भर्ना भइरहेका छन् । अस्पताल भर्ना भएका सबै संक्रमित बिरामीहरूलाई अक्सिजन दिनुपरेको उनले बताए । त्यस्तै, दैलेखमा बिहीवारसम्म २३ जना कोरोनाका संक्रमित अस्पताल भर्ना भएका छन् । उनीहरू सबैलाई अक्सिजन दिएर उपचार भइरहेको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखका सूचना अधिकारी थिरप्रसाद रेग्मीले भने, ‘यहाँ पनि संक्रमणको दर बढ्दै गएको छ । अस्पतालमा अक्सिजन दिनुपर्ने बिरामीहरूको चाप धेरै छ ।

भारतबाट आठ हजार भित्रिए

कोरोना संक्रमणको दोस्रो लहरपछि भारतबाट फर्किनेको कर्णाली फर्किने संख्या निकै बढेको छ । भारतका संक्रमित सहरहरूबाट आएका उनीहरू सिधै गाउँ जाने गरेका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार वैशाख १ गते यतादेखि बिहीवारसम्म आठ हजार पाँच सय ६५ जना भारतबाट कर्णाली फर्किएका छन् । दैनिक तीन सयको हाराहारीमा भारतबाट फर्किने क्रम रहेको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता अर्जुन चन्द ठकुरीका अनुसार भारतबाट आएकालाई सीमा नाकामा ज्वरो नापेर घर पठाउने गरिएको छ । भारतबाट फर्कनेहरूको निगरानी नहुँदा गाउँ–गाउँमा संक्रमण फैलने जोखिम उच्च छ ।

७३ जनाको मृत्यु

पछिल्लो समय कोरोना संक्रमण देखिएका अधिकांश लक्षणसहितका छन् । गम्भीर प्रकृतिका बिरामी बढ्दै गएपछि कर्णालीमा मृत्युदर पनि बढेको छ । कर्णालीमा अहिलेसम्म कोरोना संक्रमणका कारण ७३ जनाको ज्यान गएको छ । त्यसमध्ये कोरोनाको दोस्रो लहर आएपछि मात्र ४५ जनाको मृत्यु भएको हो । चैत अन्तिम सातासम्म प्रदेशमा कोरोना संक्रमणका कारण २८ जनाको मृत्यु भएको थियो । त्यसयता मृत्युदर उकालो लागेको हो । बिहीवार एकैदिन आठ जनाको मृत्यु भएको छ । अस्पताल भर्ना गरिएका बहुसंख्यक संक्रमितलाई अक्सिजनको साहारामा उपचार गर्नु परेको चिकित्सकहरू बताउँछन् ।

प्रकाशित मितिः   २४ बैशाख २०७८, शुक्रबार १०:५९