संक्रमणसँगै बढ्यो मृत्युदर

कर्णालीमा दुई साताको अवधिमा २३ जनाको ज्यान गयो

कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हुने मृत्युदर बढ्दै गएको छ । प्रदेशमा पछिल्ला दुई साताको अवधिमा कोरोनाका कारण २३ जनाको ज्यान गएको छ । प्रदेशका विभिन्न कोभिड अस्पतालहरूमा उपचारका क्रममा संक्रमितहरूको मृत्यु भएको हो । वैशाखयता संक्रमण दरसँगै मृत्यु हुनेको संख्या पनि बढेको छ । यो संख्या अझ बढ्ने चिकित्सकहरू बताउँछन् । संक्रमण पुष्टि भएकामध्ये अधिकांश लक्षणसहितका छन् । सिकिस्त बिरामीहरूको संख्यामा वृद्धि भएकाले पनि मृत्युदर बढ्ने देखिएको चिकित्सकहरूले बताएका हुन् । हालसम्म प्रदेशभर कोरोना संक्रमित ५४ जनाको मृत्यु भएको छ । संक्रमणका कारण सुर्खेतमा सबैभन्दा बढीले ज्यान गुमाएका छन् । यहाँ आइतवारसम्म ३६ जनाको मृत्यु भएको हो । अन्यत्रको तुलनामा सुर्खेतको वीरेन्द्रनगरमा संक्रमणदर पनि उच्च छ ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डा. रविन खड्काले पछिल्लो समय संक्रमण र मृत्युदर दुवै बढेको बताए । महामारीको यही अवस्था रहे कर्णालीमा करिब तीन हजार गम्भीर संक्रमित हुने अनुमान गरिएको उनी बताउँछन् । संक्रमण नियन्त्रण तथा उपचारका लागि जनशक्ति व्यवस्थापनको काम भइरहेको उनले बताए । ‘सबैभन्दा समस्या जनशक्तिकै हो,’ उनले भने, ‘तत्काल व्यवस्थापन गर्नेगरी हामी लागिरहेका छौं ।’ जनशक्ति अभावका कारण प्रभावकारी सेवा दिन समस्या भइरहेको उनको भनाइ छ । गम्भीर प्रकृतिका बिरामीको प्रदेश अस्पतालमा अत्यधिक चाप छ । अस्पताललाई सिकिस्त बिरामीको उपचार व्यवस्थापनमा हम्मेहम्मे परेको छ ।

जनशक्ति र पूर्वाधार अभाव

कर्णाली प्रदेश अस्पतालमा अन्य जिल्लाबाट रिफर गरिएका सिकिस्त बिरामी समेत आउने गरेका छन् । जसले गर्दा अस्पताललाई बिरामीको चाप थेग्नै मुस्किल छ । अस्पताल भर्ना भएका बिरामीले समेत उचित उपचार नपाउने अवस्था भएको हो । स्वास्थ्य जनशक्तिको अभावका कारण पनि प्रभावकारी सेवा प्रवाहमा समस्या हुने गरेको अस्पतालले जनाएको छ । जनशक्तिको अभाव भइरहने प्रदेश अस्पतालमा कोरोनाका कारण झनै समस्या देखिएको छ । अस्पतालका निर्देशक डा. डम्बर खड्काले जनशक्ति अभाव सधैं रहे पनि यो बेलामा झन् गाह्रो भएको बताए । उनकाअनुसार एक जना स्वास्थ्यकर्मीले तीन जनासम्म बिरामी हेर्नुपर्नेमा अहिले प्रदेश अस्पतालमा तीन जना स्वास्थ्यकर्मीले ३५ जना कोरोनाका बिरामीहरूलाई हेरिरहेका छन् । अभाव जनशक्ति पूर्ति गर्नका लागि नयाँ विज्ञापन गर्नुको विकल्प नरहेको उनले बताए ।

प्रदेश अस्पतालमा देखिन थालेको अक्सिन अभाव भने अब टर्ने भएको छ । अस्पतालका अनुसार पहिले एक जना सप्लायर्सले मात्र अक्सिजन आपूर्ति गर्दै आएकोमा अब दुई जना सप्लायर्सले गरिरहेका छन् । केही दिनभित्र अस्पतालको आफ्नै अक्सिजन प्लान्ट समेत सञ्चालनमा ल्याइने तयारी छ । प्रदेशका १० वटै जिल्ला अस्पतालमा आईसीयू र भेन्टिलेटर भए पनि जनशक्ति अभावमा सबै सञ्चालनमा छैनन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णालीमा ३४ भेन्टिलेटर रहेकामा ११ भेन्टिलेटर थन्किएका छन् । सुर्खेत र जुम्लामा रहेका २३ वटा भेन्टिलेटरमात्र अहिले सञ्चालनमा छन् ।

प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले संक्रमितको चाप बढ्न थालेपछि गम्भीर अवस्थाका संक्रमितलाई मात्र भर्ना लिने गरिएको बताए । कोरोनाको लक्षण देखिएका, तर अक्सिजन आवश्यक नपर्ने बिरामीलाई परामर्श र औषधि दिएर घर बस्न भनिएको हो । प्रदेश अस्पतालको कोरोना विशेष अस्पतालमा अहिले चिकित्सकसहित १४ जना स्वास्थ्यकर्मी छन् । तीन सिफ्टमा ड्यूटी गर्नुपर्दा एक जनाले १० जना बिरामीको सेवा गर्नुपर्छ । कोरोना फोकल पर्सन डा. पौडेलले अहिले भर्ना भएका बिरामीका लागि कम्तीमा ४० जना स्वास्थ्यकर्मीको टिम आवश्यक पर्ने जनाए । ‘बिरामीको चाप धेरै छ,’ उनले भने, ‘सीमित स्वास्थ्यकर्मी भएकाले आराम गर्ने समेत अवस्था छैन ।’

सारियो कोभिड अस्पताल

प्रदेश अस्पतालको ‘कोरोना विशेष अस्पताल’ लाई पुरानो भवनमा सारिएको छ । अक्सिजन अभाव भएपछि उत्तरतर्फको पुरानो प्रदेशमा कोभिड अस्पताल सारिएको हो । पुरानो भवनमा अक्सिजन प्लान्ट जडान भएकोले कोभिडका बिरामीको बढ्दो चापलाई उपचार गर्न सहज हुने अस्पतालले जनाएको छ । अस्पतालका कोरोना फोकल पर्सन डा. पौडेलका अनुसार सिकिस्त अवस्थाका करिब १० जनाबाहेक अक्सिजन प्रयोग गरिरहेका अन्य बिरामीलाई सार्न आइतवारदेखि पुरानो भवनमा सार्न थालिएको छ । अहिले कोरोना विशेष अस्पतालमा ४५ जना संक्रमित उपचाररत छन् । जटिल अवस्थाका बिरामीलाई सार्न समस्या हुने भएकोले नयाँ भवनकै कोरोना वार्डमा उपचारको प्रबन्ध मिलाइएको उनले बताए ।

अस्पतालले पुरानो भवनमा करिब एक सय जना संक्रमितलाई उपचार गर्न सकिने जनाएको छ । त्यहाँ रहेका १६ वटा आईसीयू बेडमा अक्सिजन प्लान्टबाट सिधै अक्सिजन आपूर्ति हुने अस्पतालको भनाइ छ । अन्य बेडमा सिलिन्डरबाट अक्सिजन आपूर्ति गर्ने व्यवस्था मिलाइएको छ । पुरानो भवनमा रहेको अन्तरंग विभाग (इन्डोर) लाई नयाँ भवनमा सारिएको छ । इमर्जेन्सी र प्रशासन विभागलाई पनि सार्ने तयारी भइरहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मितिः   २० बैशाख २०७८, सोमबार ०५:००