परीक्षण गराउनै मुस्किल

कर्णालीमा पछिल्ला दिनमा परीक्षण गरिएकामध्ये ७० प्रतिशतभन्दा बढीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिने गरेको छ । यसले समुदायमा संक्रमण व्यापक भइसकेको सहजै अनुमान लगाउन सकिन्छ । संक्रमणको दर तीव्र गतिमा बढेको पाइए पनि परीक्षणको दायरा भने निकै साँघुरो छ । लक्षण देखिएका कोरोनाका आशंकितहरूले समेत परीक्षण गर्न पाइरहेका छैनन् । ल्याबमा कार्यरत स्वास्थ्यकर्मी नै संक्रमित हुँदा स्वाब संकलन तथा परीक्षणमा झनै समस्या देखिएको छ । यसअघि प्रदेशका चार स्थानबाट आरटी–पीसीआर परीक्षण हुन्थ्यो । अहिले भने परीक्षणको दायरा घटेको छ । प्रदेशभर दैनिक सरदर पाँच सयको हारहारीमा मात्र परीक्षण गर्ने गरिएको छ ।

कर्णालीका चार ठाउँमा पीसीआर प्रयोगशाला रहेकोमा तीन वटामा मात्र परीक्षण हुन्छ । त्यो पनि निकै न्यून संख्यामा । रुकुम–पश्चिममा अहिले प्रयोगशाला बन्द छ । सुर्खेत, दैलेख र जुम्लामा परीक्षण गर्ने गरिएको छ । तीन वटा प्रयोगशाला गरेर दैनिक दुई सय ५० को हाराहारीमा पीसीआर परीक्षण हुन्छ भने बाँकी सोही संख्यामा एन्टिजेन विधिबाट परीक्षण हुँदै आएको छ । प्रदेशमा शनिवारसम्म झण्डै एक लाखको कोरोना परीक्षण भएको छ । हालसम्म ९९ हजार पाँच सय ४६ जनाको कोभिड परीक्षण भएको हो । त्यसमध्ये ६ हजार सात सय ४६ जनाको एन्टिजेन विधि र अरुको पीसीआर परीक्षण गरिएको छ ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार संक्रमणको जोखिम बढेपछि वैशाखयता तीन हजार ६३ जनाको पीसीआर र एन्टिजेनमार्फत परीक्षण भएको छ । त्यसमध्ये एक हजार छ सय ७९ जनामा कोरोना पुष्टि भएको छ ।

स्वाब संकलन रोकियो

ल्यावमा कार्यरत स्वास्थ्यकर्मीहरू आफै संक्रमित भएपछि वीरेन्द्रनगरस्थित जनस्वास्थ्य सेवा कार्यालयले केही दिनयता स्वाव संकलन कार्य बन्द गरेको छ । कार्यालयले हप्ताको तीन दिन आइतवार, मंगलवार र बिहीवार स्वाब संकलन गर्ने गरेको थियो । कार्यालयका सूचना अधिकारी गणेशभक्त गौतमले कार्यालय प्रमुखसहित ल्याबका कर्मचारीहरूलाई कोभिड संक्रमण पुष्टि भएपछि स्वाब संकलनको काम रोकिएको बताए । अहिले वीरेन्द्रनगर नगरपालिकाले हप्ताको दुई दिन मात्र स्वाब संकलन गर्छ । जहाँ पालो पाउनै मुस्किल छ । वीरेन्द्रनगरमा उच्च गतिमा संक्रमण फैलिएका कारण यहाँ संक्रमणका आशंकित धेरै छन् । उनीहरूलाई परीक्षणमा समस्या भएको छ ।

वीरेन्द्रनगर नगरपालिकाले सोमवार र शुक्रवार बिहान स्वाब संकलन गर्दै आएको छ । स्वाब संकलन तथा पीसीआर परीक्षणका लागि आवश्यक किटको समेत अभाव छ । पछिल्लो समय सरकारले लक्षण देखिएका, संक्रमितको क्लोज कन्ट्रयाक्टमा रहेका र भारतबाट आएकाहरूको मात्रै परीक्षण गर्न भनेको छ । स्वास्थ्यकर्मीहरू भन्छन्, ‘संक्रमणको अवस्था हेर्दा परीक्षण बढाउन जरुरी छ ।’ अहिले संक्रमितको कन्ट्रयाक्ट टे«सिङ गर्न समेत छोडिएको छ ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले कतिपय जिल्लाहरूमा एन्टिजेन विधिबाट परीक्षण भइरहेको जनाए । जिल्ला तथा पालिकाहरूमा एन्टिजेन परीक्षणका लागि किट पठाइएको र लक्षण देखिएकाहरूको परीक्षण गर्ने काम भइरहेको उनी बताउँछन् । ‘सुर्खेत, जुम्ला र दैलेखमा मात्रै पीसीआर परीक्षण गरिरहेका छौं,’ उनले भने, ‘अन्य जिल्लामा एन्टिजेनमार्फत परीक्षण भएको छ ।’ लक्षण देखिएका र क्लोज कन्ट्रयाक्टमा रहेकाहरूको परीक्षणमा जोड दिइएको उनले बताए । निर्देशक खड्काले भने, ‘त्यसैले परीक्षण दर कम देखिएको हो । लक्षण देखिएका सबैको परीक्षण गर्ने व्यवस्था मिलाउने प्रयास गरिएको छ ।’

रुकुम–पश्चिममा पीसीआर ल्याब बन्द भएपछि एन्टिजेनमार्फत सीमित व्यक्तिको परीक्षण हुने गरेको छ । बजेट र जनशक्ति अभावले उक्त प्रयोगशाला बन्द भएको हो । जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका फोकल पर्सन ईश्वर रावलले बजेट र ल्याब सञ्चालन गर्ने जनशक्ति नहुँदा पीसीआर प्रयोगशाला बन्द रहेको जनाए । प्रयोगशाला सञ्चालनका लागि पहल भइरहेको उनी बताउँछन् । उनले प्रदेश सरकारलाई ल्याब सञ्चालनका लागि आवश्यक बजेट र जनशक्ति उपलब्ध गराइदिन अनुरोध गरिएको खड्काले बताए ।

आइसोलेसन बेड थपिँदै

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि प्रदेश अस्पतालमा बेड भरिन थालेका छन् । संक्रमितको चाप हेरेर अस्पतालले आइसोलेसन बेड थप्न लागेको छ । अब प्रदेश अस्पतालको पुरानो भवनलाई कोरोना संक्रमितको उपचार गर्ने गरी व्यवस्थापन गर्न लागिएको हो । हाल कोरोना विशेष अस्पताल बनाएर प्रदेश अस्पतालको नयाँ भवनबाट संक्रमितको उपचार गर्ने गरिएको छ । प्रदेशका अन्य जिल्लाबाट समेत सिकिस्त बिरामी रिफर हुन थालेपछि प्रदेश अस्पतालमा बेड भरिएका हुन् ।

प्रदेश अस्पतालका कोराना फोकल पर्सन के.एन. पौडेलले दुई÷तीन दिनभित्र पुरानो भवनबाट कोभिडको मात्रै उपचार गर्ने गरी तयारी थालिएको जनाए । कर्णाली प्रदेश सरकारले विकास बजेटबाट रकमान्तर गरेर प्रदेश अस्पताललाई २२ करोड रूपैयाँ पठाएको छ । सोही बजेटबाट संक्रमितको उपचारका लागि बेड थप्न लागिएको हो । अस्पतालले कोभिड संक्रमितको उपचार गर्न एक सय बेड व्यवस्थापन गर्दै छ ।

माथिल्लो (पुरानो) भवनमा कोभिड अस्पताल सारेपछि १६ जना बिरामीलाई पाइपलाइनबाट अक्सिजन दिन सकिने अस्पतालले जनाएको छ । ‘अक्सिजन प्लान्ट पुुरानो भवनमा छ । १६ बेडमा अक्सिजनको पाइपलाइन जोडिएको छ । त्यहाँ सारेपछि ठाउँको अभाव पनि हुुँदैन । एक सयभन्दा बढी बिरामीको उपचार गर्न सकिन्छ,’ डा. पौडेलले भने । उनकाअनुसार अहिले प्रदेश अस्पतालमा अक्सिजन दिनुपर्ने खालका ४० जना बिरामीको उपचार भइरहेको छ । प्रदेश सरकारले विकास बजेट कटौती गरेर कोरोना नियन्त्रण तथा स्वास्थ्य पूर्वाधारका लागि खर्चिदै छ । प्रदेश अस्पतालसँगै रुकुम–पश्चिमको चौरजहारी सामुदायिक अस्पताल र रणनैतिक अस्पतालहरूलाई बजेट पठाउँदै छ । सरकारले कोरोना कोषबाट खर्च गर्ने गरी ५० करोड बजेट रकमान्तर गरिसकेको छ ।