जनशक्ति र पूर्वाधार अभाव
यही दरमा संक्रमण बढ्दै गए अबको एक सातामा प्रदेश अस्पतालले थेग्न नसक्ने गरी संक्रमितको संख्या पुग्ने चिकित्सकहरूले बताएका छन् ।
कोरोना भाइरस ‐कोभिड–१९) संक्रमणको दोस्रो चरण फैलिएसँगै संक्रमितको संख्या पनि दिनानुदिन बढ्दो छ । कर्णालीमा ८८ जनाको परीक्षण गर्दा बुधवार ८६ जनामा संक्रमण देखिएको छ । पछिल्ला दिनका दैनिक परीक्षण रिपोर्टले समुदायमा संक्रमण व्यापक भएको पुष्टि गरेको छ ।
प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार वैशाख ३ गते ४६ जनाको परीक्षण गर्दा २९ जनामा कोरोना देखिएको थियो भने सोही दिनको भोलीपल्ट वैशाख ४ गते ३३ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भयो । वैशाख ६ गते ४० जनाको परीक्षण गर्दा १७ जना संक्रमित भेटिए । वैशाख ७ गते ७९ जनाको कोरोना परीक्षण हुँदा ५३ जनामा संक्रमण देखिएको थियो ।
६ महिना यतादेखि लक्षण देखिएका सीमित व्यक्तिहरूको मात्र परीक्षण गर्ने गरिएको छ । प्रदेशमा रहेका चार वटा प्रयोगशालामध्ये एउटाबाट मात्र कोरोना परीक्षण हुँदै आएको छ । परीक्षण दर न्यून भएका बेला पनि संक्रमण दर भने उच्च पाइएको हो । कोरोना महामारीको दोस्रो चरण आएसँगै गम्भीर प्रकृतिका संक्रमितको संख्या पनि बढ्दै गएको चिकित्सकहरूले बताएका छन् ।
बुधवार साँझसम्म कालागाउँस्थित प्रदेश अस्पतालमा १८ जना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । गम्भीर प्रकृतिका संक्रमित तीनै जनाको भेन्टीलेटरमा उपचार भइरहेको हो । अरू १५ जनाको भने आइसीयूमा राखेर उपचार गरिएको छ । यही दरमा संक्रमण बढ्दै गए अबको एक सातामा प्रदेश अस्पतालले थेग्न नसक्ने गरी संक्रमितको संख्या पुग्ने चिकित्सकहरूले बताएका छन् ।
अहिले धेरै जसो संक्रमित होम आइसोलेसनमै बसेका छन् । प्रदेश अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि आठ वटा भेन्टीलेटर र २५ वटा आइसीयू बेड छन् । कोरोना फोकल पर्सन डा. केएन पौडेल यही दरमा संक्रमितको संख्या बढ्दै गए अस्पतालमा संक्रमित राख्ने ठाउँ समेत नपुुग्ने बताउँछन् ।
उनकाअनुसार जटिल प्रकृतिका संक्रमितको संख्या बढ्दो छ । उनी भन्छन्, ‘पछिल्लो समय हरेक दिनको टेष्ट हेर्ने हो भने अबको एक हप्तामा हाम्रो अस्पतालको क्षमता भन्दा बढी बिरामी हुन सक्छन् । उनले अहिले नेपालगञ्जको जस्तै अवस्थामा वीरेन्द्रनगरमा पनि आउन सक्ने बताए । वीरेन्द्रनगरमा संक्रमितको संख्या र जोखिम धेरै भएकाले यहाँ मात्रै भए पनि लकडाउन गर्नुुपर्ने उनले सुझाए । ‘यही तुलनामा संक्रमित बढ्दै गए नेपालगञ्ज रिफर गर्ने अवस्थामा नहुुने र यहाँ थेग्न मुश्किल हुनेछ,’ डा. पौडेलले भने ।
हालसम्म कर्णालीमा कोरोना संक्रमितको संख्या सात हजार आठ सय पुगेको छ । प्रदेशभर डेढ सय बढी सक्रिय संक्रमित छन् । अहिले खास गरी सुर्खेत, दैलेख र रुकुम–पश्चिममा संक्रमित धेरै छन् । एक सय २० जना सक्रिय संक्रमित सुर्खेतमा मात्रै छन् । पछिल्लो समय भारतबाट फर्कनेको चाप पनि बढि छ । भारतमा कोरोना संक्रमणको दर उच्च रहेकाले कमाइका लागि गएकाहरू फर्कन थालेका हुन् । जसले गर्दा कर्णालीमा संक्रमणको जोखिम झनै बढेको छ ।
भेन्टिलेटर सेवा ठप्प
रुकुम–पश्चिममा यही वैशाख ६ गते एक जना महिलाको कोरोना संक्रमणका कारण मृत्यु भयो । जिल्लामा पछिल्लो समय संक्रमित थपिदै गएपछि व्यवस्थापनमा समेत समस्या भएको छ । भारतबाट आएकी उनलाई ज्वरो र श्वासप्रश्वासमा कठिनाइ भएपछि जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । तर, एक्कासी स्वास्थ्यमा देखिएको जटिलताले उनको ज्यान गयो । चिकित्सकहरूका अनुसार उनलाई भेन्टीलेटरमा राखेर उपचार गरेको भए बचाउन सकिने सम्भावना रहन्थ्यो ।
जनस्वास्थ्य सेवा कार्यालय रुकुम–पश्चिमका कोरोना फोकल पर्सन ईश्वर रावलले जनशक्ति अभावमा भएको एउटा भेन्टीलेटर पनि सञ्चालन गर्न नसकिएको बताए । यहाँ रहेको भेन्टीलेटर केही महिनादेखि बन्द छ । जिल्लामा अहिले तीन जना कोरोनाका सक्रिय संक्रमित छन् । त्यसमध्ये एक जनाको अवस्था गम्भीर छ । उनलाई अक्सिजन दिएर राखिएको रावलले जनाए । संक्रमित उनी भारतबाट आएका हुन् । ‘संक्रमितमा एक्कासी समस्या हुुन्छ । त्यसबेलामा हामीसँग बाहिर पठाउने विकल्पबाहेक अरु हुँदैन । भेन्टीलेटर सञ्चालन गर्ने जनशक्ति छैन,’ उनले भने, ‘प्रदेश सरकारलाई जनशक्ति व्यवस्थापनका लागि बारम्बार भने पनि सुनुवाइ भएको छैन ।’ परीक्षणका लागि किट र जनशक्ति अभावका कारण परीक्षण तथा भएका उपकरण समेत प्रयोगविहीन अवस्थामा रहेको उनको भनाइ छ ।
यस्तै, दैलेखमा अहिले १० जना संक्रमित छन् । तीमध्ये चार जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । एक जनालाई अक्सिजन दिएर उपचार गरिरहेको अस्पतालले जनाएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुुुम्लामा २० वटा आइसीयू र १० वटा भेन्टीलेटर छन् । प्रतिष्ठानमा एक सय ६० वटा आइसोलेसन छन् । जुम्लामा अहिले सक्रिय संक्रमित छैनन् ।
सुरक्षा मापदण्ड कार्यान्वयनमा कडाइ
दोस्रो चरणको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेसँगै सुर्खेतमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाइ गरिएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले मंगलवार गठन गरेको अनुगमन समितिले निगरानी बढाएको हो । बुधवार दिउँसो केन्द्रका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद भट्टसहितको अनुगमन टोलीले स्वास्थ्य सुरक्षा मापदण्डको अनुगमन गरेको छ ।
वीरेन्द्रनगर बजारका पसलहरूमा पुगी बिक्रेता, ग्राहक र पैदल यात्रु तथा मोटरसाइकलमा सवार यात्रुलाई मास्क लगाउन अनुगमन टोलीले निर्देशन दिएको छ । अनुगमनका क्रममा धेरैजसोले मास्क नलगाएको पाइएको अनुगमन टोलीका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए । उनकाअनुसार स्वास्थ्य सुरक्षामा ध्यान नदिएको र खासगरी मास्क प्रयोगमा बेवास्ता गरेको पाइएको हो ।
प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले केन्द्रको निर्णयअनुसार स्वास्थ्य मापदण्ड पालना गरे नगरेको यसरी नै दैनिक अनुगमन गरिने जनाए । मास्क अनिवार्य प्रयोग गर्दा कोरोनाको जोखिम कम हुने भएकोले मास्क लगाउन आग्रह गर्दै स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न सम्पूर्ण निकायसँगै आग्रह गरिएको प्रजिअ रिजालले बताए । अनुगमन टोलीले सुर्खेतस्थित ठुला होटलका स्वीमिङ पुलको पनि अनुगमन गरेको छ । शुभ होटल, ट्रकोमा रिर्सोट र सिद्धार्थ होटलको स्वीमिङ पुल अनुगमन गरिएको हो । ती होटलहरूले सोमवारदेखि नै स्वीमिङ पुलहरू बन्द गरिसकेको जानकारी दिएका छन् ।
टोलीले प्रदेश अस्पताल कालागाउँ पुगेर कोरोनाको दोस्रो डोजको खोप लगाउने कार्यको पनि अनुगमन गरेको थियो । अनुगमन टोलीमा सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक दिग्बिजय सुवेदी, जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका कोरोना फोकल पर्सन उदय विसी, पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेललगायत सहभागी थिए ।
प्रकाशित मितिः ९ बैशाख २०७८, बिहीबार ०६:००
साझा बिसौनी ।