कर्णालीका ‘हाते मिल’

बिहान झिसमिसेमा भालेको डाँकोसँगै उठ्यो । परिवारका सबै सदस्यलाई पुग्ने गरी धान बोक्यो । अनि ओखल (ढिकी) मा कुट्न लग्यो । दुई घण्टा लगाएर ओखलमा कुटेको चामल एक छाक मात्रै हुन्छ । फेरि बेलुकाको लागि त्यसैगरी धान बोकेर ओखलमा कुट्न जानैपर्छ । हिमा गाउँपालिका–७ जुगाडा जुम्लाकी ३५ वर्षीय चल्ली कामीको दैनिकी हो यो । उनको हातमा मुसल परेको बच्चैदेखि हो । परिवारमा नौ जना सदस्य छन् । सबैलाई पुग्नेगरी धान कुटेर भातभान्सा गरी सक्न चल्लीलाई दैनिक तीन घण्टा लाग्छ । धान कुट्न र पिठो पिस्न गाउँमा मिल छैन । ‘मिल कस्ता हुन्छन् देखेकै नाइँ,’ चल्ली भन्छिन्, ‘हाम्रा मिल यिनै (ओखल) हुन् । आफूहरूलाई ओखलमै कुटेको चामल पिठो स्वादिलो लाग्ने उनले बताइन् ।

हिमा गाउँपालिकामा कतै सार्वजनिक ओखल बनाइएको छ भने कसैले आफ्नै घरमा पनि ओखल बनाएका छन् । चल्लीको घर नजिकै सार्वजनिक रूपमा ठूलो ढुङ्गामा ओखल छ । जहाँ स्थानीय महिलाहरूको धान कुट्ने भिड हुन्छ । ओखलमा प्रायः पुरुषहरू देखिँदैनन् । जुम्लामा ओखलमा धान कुट्नु र पिठो पिस्नु परम्परा जस्तै छ । ओखल जुम्लालगायतका हिमाली जिल्लाहरूको पहिचान नै बनेको छ । यहाँका हरेक घर र टोलमा ओखल अनिवार्य जस्तै छ । आधुनिक मिल हुँदैनन्, भए पनि निकै टाढा पुग्नुपर्छ ।

जुगाडाकै सपना कामीको दैनिकी पनि चल्लीकै जसरी बित्छ । ओखलमा धान कुटेपछि मात्र सपना मेलापात अन्य घरायसी काममा जुट्छिन् । २५ वर्षीय सपना ६ महिनाको बच्चा पिठ्यूँमा बोकेर बिहान बेलुका ओखल कुट्छिन् । ‘महिलाले नै ओखल कुट्ने चलन छ,’ उनले भनिन्, ‘यहाँ यस्ता काम पुरुषले गर्दैनन् ।’ पछिल्लो समय केही पुरुषहरूले पनि महिलालाई ओखल कुट्ने काममा सघाउन थालेको उनले सुनाइन् । ओखल कुट्ने काममा समेत लैंगिक विभेद हुने गरेको यहाँका अगुवा महिलाहरू बताउँछन् ।

जुम्लाका महिलाहरू मात्र होइन बालिका र किशोरीहरूको मुख्य काम नै ओखल कुट्नु हुन्छ । हिमा गाउँपालिका–७ कै सावित्रा तिरुवा विद्यार्थी हुन् । विद्यालय जानु अघि र फर्किसकेपछि उनी ओखल कुट्न आमालाई सघाउँछिन् । ‘छोरी मान्छेले गर्ने काम भन्दै पुरुषहरूले सघाउँदैनन्,’ सावित्राले भनिन् ‘गाउँमा मिल भइदिए यस्ता दुःख हुन्थेनन् ।’ विकट हिमाली जिल्लाहरूमा मिल र घट्ट नभएका कारण महिलाहरू ओखलमा अन्न कुट्न बाध्य छन् ।

ओखल ढुङ्गामा खाल्डो पारेर बनाइन्छ र काठको मुसलले अन्न कुट्ने गरिन्छ । विभिन्न खाद्यपदार्थ कुट्न, पिस्न तथा मिसाउनको लागि प्रयोग गरिने बीचमा खाल्डो परेको ढुङ्गा, काठ तथा धातुको औजार यसमा प्रयोग भएका हुन्छन् । ओखलमा मुसलले उचालेर हिर्काउँदै कुट्ने गरिन्छ ।

मुसल बलियो काठको एक छेउमा फलाम राखेर बनाइएको हुन्छ । तराई क्षेत्रमा पछिल्लो समय फलामको ओखल प्रयोग हुँदै आएको छ । जुन तिहारको समयमा सेलरोटीको लागि चामलको पिठो कुट्न प्रयोग गर्ने गरिन्छ । यो सानो आकारको हुन्छ । बसी–बसी पिठो कुट्न सकिन्छ । तर, हिमाली जिल्लाहरूमा प्रयोग गरिने ओखल र मुसलको आकार निकै ठूलो हुन्छ ।

पछिल्ला वर्षहरूमा गाउँगाउँमा सडक र बिजुली पुगेको छ । ग्रामीण क्षेत्रमा महिलाका हातमा भने ओखल र मुसल (हाते मिल) छुटेको छैन । परम्परागत ओखलमा धान कुटेर भात खाने बाध्यता कर्णालीमा अझै टरेको छैन ।

प्रकाशित मितिः   २७ चैत्र २०७७, शुक्रबार ०६:००