वनै खायो डढेलोले

सुर्खेत: गर्मीयाम सुरू भएसँगै आगलागीका घटना बढ्ने गरेका छन् । हरेक सुख्खायाममा वन तथा बस्तीमा भीषण आगलागी हुन्छ । आगलागीले ठूलो जनधनको क्षति पुग्ने गरेको छ । तीन महिनायता मात्र कर्णाली प्रदेशका ६५ वटा वन क्षेत्रमा आगलागी भएको छ । मानवीय कमजोरीका कारण ती सामुदायिक वनहरूमा डढेलो लागेको हो । मानवीय तथा प्राकृतिक कारणले लाग्ने आगलागीले हजारौँ हेक्टर वन क्षेत्र मासिएको छ । वनमा लागेको आगोले रुख बिरुवा मात्र होइन वन्यजन्तुको समेत ठूलो क्षति हुँदै आएको छ ।

प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कले यो अवधिमा सबैभन्दा बढी सुर्खेतका वन जङ्गलमा आगलागी भएको देखाएको छ । पछिल्लो समय मात्र सुर्खेतका ३९ वटा वन क्षेत्रमा आगलागी भएको हो । यहाँ करिब तीन हजार बढी हेक्टर वनमा डढेलो लागेको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार कालीकोट र सल्यानमा पाँच÷पाँच ठाउँ, हुम्लामा तीन ठाउँ, मुगुमा दुई ठाउँ तथा रुकुम–पश्चिम, डोल्पा र जाजरकोटमा एक÷एक ठाउँमा आगलागी भएको छ ।

एसपी माधव श्रेष्ठ पछिल्लो समय वन जङ्गलमा आगलागीका घटना बढेको बताउँछन् । उनका अनुसार वनजङ्गलमा आगलागी हुनुको प्रमुख कारण मानवीय लापरबाही नै हो । ‘गाईवस्तु चराउन जाँदा चुरोट खाएर फाल्ने, नयाँ घाँस पलाउँछ, च्याँ उम्रिन्छ भन्ने जस्ता कारणले आगो लगाउने प्रवृत्ति छ,’ उनले भने, ‘यसले गर्दा वन जङ्गलमा ठूलो क्षति पुग्ने गरेको छ ।’

वनमा आगो लाग्दा सामान्य रूपमा लिने गरेकाले वनजङ्गलमा हुने क्षतिको मूल्याङ्कन हुन नसकेको सरोकारवाला बताउँछन् । रुख बिरुवा र वन्यजन्तु नष्ट हुनुुका साथै जैविक विविधतामा समेत असर पर्ने उनीहरूको भनाइ छ । वनजङ्गलमा लागेको आगलागीका कारण आसपासका बस्ती समेत आगलागीको जोखिममा पर्ने गरेका छन् । डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख डिभिजन वन अधिृकत गोविन्दप्रसाद दाहालले मानवीय त्रुटिका कारण आगलागीका घटनाहरू बढ्दै गएको बताए ।

धेरैजसो आगलागीका घटना मानिसहरूकै कारण हुने गरेको उनी बताउँछन् । आगो लगाएपछि घाँस पलाउँछ भन्ने सोच र पछिल्लो समय प्रकृतिले पनि साथ नदिएका कारण आगलागी बढिरहेको उनले बताए ।

‘लामो समय सुख्खा खडेरी हुने गर्छ । पानी नपरेर खडेरी भइरहँदा पनि आगलागी बढेको हो,’ उनले भने, ‘वन जङ्गलमा आगलागी हुन नदिन जनचेतनामा पनि जोड दिनुपर्ने हुन्छ ।’

आगलागी हुनै नदिन र भएपछि पनि नियन्त्रण गर्न विभिन्न प्रयासहरू थालिए पनि प्रभावकारी हुन सकेका छैनन् । वनजङ्गलमा हुने क्षति नियन्त्रण गर्नका लागि सरोकारवालाहरूको सञ्जाल गठन गर्ने, सामुदायिक वनको सञ्जाल बनाउने, सुरक्षा निकाय र स्थानीय प्रशासनसँग स्थानीयको समन्वय गरेर आगो लाग्ने बित्तिकै निभाउन जाने गरी सञ्जाल निर्माण गरिएका छन् । आगलागी हुनै नदिन समेत विभिन्न निकायले पूर्व सावधानीका सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका हुन् । खासगरी यस्ता कार्यमा डिभिजन वन कार्यालय र सामुदायिक वन समितिहरू सक्रिय छन् ।
वनमा डढेलो लागेपछि नियन्त्रण गर्नका लागि स्रोतसाधनको अभाव रहेको सम्बन्धित निकायहरू बताउँछन् । त्यसमा पनि कर्णालीको भूगोल विकट भएका कारण यहाँ बढी क्षति हुने गरेको छ । विकटताका कारण र स्रोतसाधन नहुँदा पनि आगो समयमै नियन्त्रण गर्न चुनौती हुने गरेको हो । आगलागी भइसके पछि नियन्त्रण गर्नका लागि दमकल लगायतका साधनको अभाव रहेको डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख दाहालले बताए ।

कर्णालीका वन तथा बस्तीमा हुने आगलागीले प्रत्येक वर्ष धेरैको ज्यान जाने गरेको छ । पछिल्ला केही दिनयता आगो निभाउने क्रममा प्रदेशभर तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । प्रहरीका अनुसार आगो निभाउने क्रममा सुर्खेतमा दुई र मुगुमा एक जनाको ज्यान गएको हो । आगलागीका कारण प्रदूषण समेत बढेको जानकारहरू बताउँछन् । वनमा जताततै आगलागीका घटनाहरू बढेकाले पर्यावरण नै असन्तुलन भएको अनुमान गरिएको छ ।

प्रकाशित मितिः   २४ चैत्र २०७७, मंगलवार ०६:००