अयोलमा विमानस्थल विस्तार

सुर्खेत विमानस्थलको धावनमार्ग साँघुरो छ । साँघुरो धावनमार्गका कारण ठूला जहाज सञ्चालन गर्न नसकिने भएपछि हालको विमानस्थललाई स्तरोन्नति गर्ने योजना सरकारले अघि सारेको छ । विमानस्थल विस्तारको चर्चा चल्न थालेको भने लामै समय भइसकेको छ । तर अनेक विवादमा अल्झिदै आएको छ । पछिल्लो पटक हुने भनिएको विस्तारको योजनामा पनि विवाद नै बाधक बनेको छ । अहिले उक्त योजना नै अन्योलमा परेको छ । संघीय, प्रदेश र स्थानीय सरकारको समन्वय र संयुक्त लगानीमा एक हजार पाँच सय ५५ मिटरको धावनमार्ग र रात्रीकालीन उडान गर्ने गरी विकास एवम् विस्तार गर्ने योजना बनाइएको थियो । योजनाअनुसार विमानस्थलको उत्तरतर्फ करिब ६ सय मिटर लम्बाई र दुई सय ४० मिटर चौडाई विस्तार गर्ने लक्ष्य थियो । उक्त योजना कार्यान्वयनका लागि करिब ३० विगाहा जमिन अधिग्रहण गर्नुपर्ने थियो । तर योजना कार्यान्वयनको सुरुवातमै विवाद निम्तिएपछि रोकियो ।

विमानस्थल विस्तारमा स्थानीय नागरिकहरूले सहमति दिएका छैनन् भने वीरेन्द्रनगर नगरपालिका समेत विस्तारको पक्षमा देखिएको छैन । विमानस्थल विस्तार गरे पनि दिगो नहुने र यसले बस्ती मात्रै मास्ने भन्दै स्थानीयले सरकारलाई विकल्प खोज्न भनिरहेका हुन् । संघीय सरकार र प्रदेश सरकारबीच समझदारी भइ अघि बढाइएको प्रक्रिया स्थानीयको अवरोधका कारण रोकिएको हो । एकातर्फ विमानस्थल विस्तारकै योजना अलपत्र परेको छ भने अर्कोतर्फ ठूलो जहाजले उडान गर्ने भनिए पनि अहिलेसम्म टुङ्गो लागेको छैन । माघ २६ गते श्री एयरलाइन्सले ८० सीटे जहाजको काठमाडौं–सुर्खेत सफल परीक्षण गरेको थियो । त्यतिबेला प्राविधिक टोलीले सुर्खेत विमानस्थल ठूलो सीट क्षमताको उडानका लागि उपयुक्त भएको समेत बताएका थिए । थप प्राविधिक अध्ययन गरेर नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेपछि मात्रै नियमित उडान हुने भनिएको थियो । यसअघि पनि विभिन्न एयरलाइन्स कम्पनीले पटक–पटक यस्ता परीक्षण उडान गर्ने गरेका थिए । तर, ती उडानहरू नियमित भने हुन सकेनन् । श्री एयरले यस पटक परीक्षण उडान गर्दा पनि स्थानीयले नियमित उडान हुनेमा आशंका गरेका थिए । नियमित उडानका लागि १५ देखि २१ दिनभित्र टुङ्गो लाग्ने भनिएकोमा डेढ महिनाभन्दा बढी समय बितिसकेको छ । प्राविधिक रिपोर्ट भने आएको छैन । जसका कारण उडान अनिश्चित बनेको हो ।

गुरुयोजनाअनुसार निर्माण गरेको भए सुर्खेत विमानस्थलमा अहिले देखिएको समस्या नै आउने थिएन । पूर्व–पश्चिम धावनमार्ग बनाउनुपर्ने गुरुयोजना विपरीत उत्तर–दक्षिण बनाउँदा समस्या निम्तिएको छ । अहिलेको धावन मार्ग साँघुरो छ । जसले गर्दा ठूला जहाज अवरण र उडान गर्न सम्भव छैन । तर सुर्खेतमा ठूला जहाजहरूको सञ्चालन अनिवार्य आवश्यकता भइसकेको छ । त्यसैले यतिबेला विमानस्थल विस्तार गर्न पनि समस्या र नगर्दा पनि समस्या हुने भएको छ । सम्बन्धित सरोकारवालाहरूले यसको ठोस निकास निकाल्न जरुरी छ ।

प्रकाशित मितिः   १७ चैत्र २०७७, मंगलवार १०:३३