संघर्षको अर्को पाटो
गीता थापा
सुर्खेत, ३० चैत ।
घडीमा दिउँसोको करिब २ बज्दै थियो । सोमवार वीरेन्द्रनगरस्थित भेरी ग्यासको डिलरमा पुग्दा चर्काे घामको प्रवाह नगरी एक वृद्ध मानिस ग्यास बोकेर हिँड्ने तर्खरमा थिए । पसिनाले उनको शरीर लुछुप्पै भिजेको थियो तर, पनि उनको ध्यान चर्काे घाममा भन्दा ग्याँस बोक्नमा नै थियो । ग्यासको त्यही भारी नै उनको जीवन जीउने आधार हो । ५५ वर्षीय झुसे बुढा ग्यासको सिलिण्डर बोकेरै जीविकोपार्जन गर्दै आएका छन् ।
हरेक दिन बिहान घाम उदाएसँगै झुसे बुढाको दैनिकी सुरु हुन्छ । घामको पहिलो झुल्कोसँगै उनी घरबाट निस्कन्छन् । के बिहान, के दिउँसो वा साँझ उनलाई काम बाहेक अरुतर्फ ध्यान हुँदैन । दिनभर मजदुरी गर्छन् र साँझ बिहानको छाक टार्छन् । त्यतिमात्र होइन उनले छोराको पढाइ खर्च समेत सिलिण्डरको भारी बोकेरै जुटाइरहेका छन् । अहिले उनका छोरा काठमाडौंमा कम्युटर विषय लिएर स्नातकतह तस्रो वर्षमा पढ्दै छन् ।
जीवन सङ्घर्ष हो, झुसेको भोगाइले यही भन्छ । झुसे स्वयम् पनि भन्दछन्, ‘जीवन सङ्घर्ष हो, जहाँ काँडाहरू पन्छाएर हिँड्न सक्नुपर्दछ ।’ उनले आफ्नो जीवनको ५५ औं बसन्त टेक्दा थुप्रै काँडाहरू पन्छाए । अनेकौं बाधा र अड्चनहरू पार गरे । दुःखका पहाडहरू छिचोलेर अघि बढेका उनले हार भने कहिल्यै खाएनन् । उनको जीवन काँडाभित्र फुलेको फूल जस्तै छ । उनी काँडाबीच पनि जीवन फुलाउने प्रयासमा निरन्तर लागिरहेका छन् । उनको स्थायी ठेगाना अछाम असारा हो । तर सुर्खेतको वीरेन्द्रनगरमा बस्न थालेको २५ वर्ष बितिसक्यो । अब त उनी आफूलाई सुर्खेतवासी नै मान्दछन् । १४ वर्षको हुँदा उनलाई कुष्ठरोगको लक्षण देखापरेको थियो । त्यही रोगका कारण गाउँमा सबैको छिःछि र दूरःदूर गर्न थाले । समाजको अवहेलना सहज नसकेपछि उनले बसाइँ सर्ने निर्णय गरे । त्यसपछि सुर्खेतमा आए । सुर्खेत आएपछि उनी कुष्ठरोगको उपचारका लागि अस्पताल पुगे । उनको उपचार पनि भयो । तर दुवै हात र खुट्टाका औंला भने गुमाउनुप¥यो । सबै औंला काटेर फाल्दा उनलाई आफ्नो आधा जीवन नै सकिए जस्तो महसुस भयो । तर श्रीमती र छोराको अनुहार हेरेर आफूलाई सम्हाले । उनले विगत सम्झदै भने, ‘कमाइ खाने यही हात थियो त्यही पनि काटिँदा धेरै रोएँ तर, मेरो रुवाइ र मनको वेदना कसले पो सुनिदिन्थो र ?’ उपचारको लागि सुर्खेत आएका झुसे फर्केर गाउँ गएनन् । उनी भन्छन्, ‘गाउँलेले अब हामीलाई पनि रोग सल्काइदिन्छ भनेर नानाथरी कुरा गर्न थालेपछि मलाई गाउँमा बस्न मन नै लागेन ।’
हातका औंला काटिए पनि उनले जीविकोपार्जनका लागि मजदुरी गर्न थाले । उनको शरीर कुष्ठरोगसँग लडिरहँदा उनी भने आफू, श्रीमती र छोराको भोकविरुद्ध लडिरहे । मजदुरी गरेरै उनले तीन जनाको परिवार धानिरहेका छन् । बिहान बेलुका के खाने भन्ने समस्या पर्दा पनि उनले छोराको पढाइलाई भने रोकेनन् । छोराले पनि राम्ररी पढेकोमा उनी खुशी छन् ।
हातका औंला नहुँदा उनी चाहेर पनि अन्य धेरै काम गर्न सक्दैनन् । भारी बोक्नु नै उनको पेसा बनेको छ । शारीरिक कमजोरीका कारण ठूलो भारी बोक्न पनि सक्दैनन् । त्यसैले ग्यासको सिलिण्डर बोकेर आउने ज्याला नै उनको आम्दानीको एक मात्र स्रोत हो । बिहानदेखि बेलुकासम्म ग्यास बोक्ने र अन्य सानातिना भारी बोक्ने काम गर्नु उनको दिनचर्या नै भइसकेको छ । उनले भने, ‘बिहान बेलुकाको छाक टार्नकै लागि भए पनि काम गर्नपर्छ, हात छैनन् ग्यास बोक्न नि गाह्रो हुन्छ, के गर्ने काम नगरी खान पुग्दैन ।’
हरेक दिन काम गरेर सात सय रूपैयाँसम्म कमाउने गरेको उनले बताए । उनी विगतका दिन सम्झदै भन्छन्, ‘कुष्ठरोग लागेर बिरामी पर्दा घरपरिवारदेखि समाजले समेत मलाई घृणा गर्थे, अब हामीलाई पनि यो रोग सारिदिन्छ भन्थे ।’ उनले रोगका कारण नै गाउँ छोडेर सुर्खेत आए । अनि सङ्र्घष गर्न थाले । उनले थपे, ‘जीवन भनेकै काँडाहरूकै बीचमा फुलाउनु पर्दाे रै’छ, मेरो जीवन पनि काँडाहरूकै बीचमा फुलेको छ, भारी बोकेरै भए पनि बुढी र छोरालाई पालेको छु ।’ झुसेसँग हात र खुट्टाका औंला मात्रै छैनन् तर उनीसँग आँट, साहस र लगनशीलता छ । जसको कारण उनी जीवनलाई सङ्घर्षको मैदान मानेर त्यसमा सङ्घर्षपूर्ण यात्रामा छन् ।
साझा बिसौनी संवाददाता ।