सुर्खेतका कुनै पनि दलमा छैन ३३ प्रतिशत

mm

नेपाली कांग्रेस सुर्खेतको जिल्ला कार्य समिति ३३ सदस्यीय छ । जसमा महिलाहरुको संख्या केवल ६ जना मात्रै छ । अर्थात कांग्रेस सुर्खेतको नेतृत्वमा १८ प्रतिशत मात्र महिला सहभागिता छ ।

मुलुककै दोस्रो ठूलो दल नेकपा एमाले जिल्ला कमिटि सुर्खेतमा पनि महिला सहभागिता अत्यन्तै न्युन छ । कम्तीमा ३३ प्रतिशत महिलालाई अनिवार्य सहभागिता गराउनु पर्ने भएपनि एमालेले केवल १४ प्रतिशत महिलालाई मात्र जिल्ला नेतृत्वमा सहभागिता गराएको छ ।

महिला सहभागितालाई चर्काे रुपमा उठाउँदै आएको नेकपा माओवादी केन्द्रमा पनि महिलाहरुको सहभागिता उस्तै छ । माओवादीको जिल्ला कमिटि सुर्खेतका सबै दलहरुको भन्दा ठूलो छ । तर एक सय ४१ सदस्यीय जिल्ला कमिटिमा जम्मा ३३ जना मात्र महिला छन् । अर्थात नेकपा माओवादी केन्द्रको जिल्ला नेतृत्वमा केवल २३ प्रतिशत महिलाहरु पुगेका छन् । यद्यपी सुर्खेत जिल्लाको सन्दर्भमा यहाँ क्रियाशिल राजनीतिक दलहरुमा सबैभन्दा बढी महिला सहभागिता माओवादी केन्द्रको नै छ ।

जिल्लाका राजनीतिक दलहरुमा महिला सहभागिताको अवस्था बुझ्न उल्लेखित दृष्टान्त पर्याप्त छ । किनभने सुर्खेतका राजनीतिक दलहरुमा महिलाहरुको सहभागिता र पहुँच निराशाजनक रहेको छ । जिल्लाका कुनै पनि पार्टीले आफ्नो विधान र प्रतिवद्धता अनुसार नेतृत्व तहमा ३३ प्रतिशत महिला सहभागिता गराउन सकेका छैनन् । साना दलहरुको तुलनामा ठुला दलहरुमा महिलाको सहभागितामा न्युन रहेको पाइएको छ । संविधानमा नै राज्यका हरेक निकाय र संरचनाहरुमा ३३ प्रतिशत महिलाको अनिवार्य सहभागिता गराउने व्यवस्था रहे पनि नीति निर्माण गर्ने राजनीतिक दलहरुले नै यसको कार्यान्वयन गर्न सकेका छैनन् ।

एकातर्फ महिला सहभागिता नै न्युन छ भने अर्कोतर्फ जिल्ला कार्यसमितिका प्रमुख पदमा पनि महिला सहभागिता देखिदैन । मूख्य तीन दलको पदाधिकारीमा नै महिला छैनन् । राष्ट्रिय जनमोर्चाले भने दुई जना महिलालाई पदाधिकारीमा स्थान दिएको छ । ३३ प्रतिशत महिला सहभागिताको नारा केवल कागज र भाषणमा मात्र सिमित भएको छ । यहाँका दलहरुले आफैले गरेको प्रतिवद्धतालाई नै कार्यान्वयन गर्न सकेका छैनन् । जिल्लामा रहेका प्रमुख पार्टीहरु नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीको जिल्ला नेतृत्वमा नै महिलाहरुको सहभागिता निराशाजनक रहेको छ । यी दलहरुको तुलनामा अन्य साना दलहरुमा महिलाको सहभागिता बढी छ ।

नेकपा एमाले सुर्खेतका जिल्ला कमिटी सचिवालय सदस्य गगनसिंह सुनारले महिलाहरुको न्युन सहभागिता हुनुमा पार्टीको कमजोरी नभएको दावी गरे । उनले नेतृत्वमा महिलाहरुको सहभागिता बढाउनका लागि आफुहरु प्रयासरत रहेको भन्दै त्यसका लागि महिलाहरुमा नेतृत्व क्षमता बढाउनु पर्ने बताए । तर एमाले निकट अखिल नेपाल महिला संघ सुर्खेतकी अध्यक्ष मोहनमाया ढकालले भने यो कुरालाई अस्वीकार गरेकी छिन् । महिलाहरुले अवसर नपाएका कारण समस्या भएको बताउँदै उनले भनिन्, ‘कानुनले व्यवस्था गरेको आरक्षणमा त दलहरुले महिलालाई वेवास्ता गरेका छन् भने कसरी बढ्न सक्छ महिला सहभागिता ?’ अवसर पाएमा महिलाले पनि नेतृत्व लिन सक्ने भन्दै उनले दलहरुले नै यसतर्फ ध्यान दिनुपर्ने बताइन् । उनले थपिन्, ‘राष्ट्रपति पनि महिला भएकै छन्, महिलाले अवसर पाउनु पर्छ नेतृत्व सम्माल्न सक्छन् ।’ महिला स्वयम आफै पनि आफ्नो अधिकारका लागि आफ्नो क्षमता, दक्षताको विकास गर्न जरुरी रहेको उनको भनाई थियो । उनले न्युनतम ३३ प्रतिशत महिलाहरुलाई नेतृत्वमा पु¥याउन समेत जिल्लाका राजनीतिक दलहरुले पहल गर्नु पर्ने बताइन् ।

त्यस्तै नेपाली कांग्रेस निकट नेपाल महिला संघकी केन्द्रिय कोषाध्यक्ष जानकी सिंहले राजनीतिको निर्णयाक तहमा महिला सहभागिता न्युन हुनु दुखदायी कुरा भहेको बताइन् । उनले भनिन्, ‘पुरुषवादी सोचले गर्दा राजनीतिमा महिला सहभागिता कम भएको हो, पुरुषहरु महिलालाई अघि बढाउन चाहादैनन् ।’ राजनीति क्षेत्रमा मात्र नभई अन्य क्षेत्रमा पनि महिला सहभागिता न्युन रहेको भन्दै उनले अब महिला एकता हुन जरुरी रहेको बताइन् । महिलाले काम गर्न सक्दैनन् भन्ने सोचले गर्दा महिलालाई नेतृत्व तहमा पुग्न नदिने उनको भनाइ छ ।

सुर्खेतकै राजनीतिमा सक्रिय महिलाहरु भने आफूहरु सक्षम भएर पनि अवसर नपाएको बताउँछन् । महिला लोकतान्त्रिक संजालका अध्यक्ष हरिमाया शर्माले महिलाहरुमा क्षमता हुँदा हुँदै पनि राजनीतिमा महिलालाई काम गर्ने वातावरण नभएको बताइन् । उनले भनिन्, ‘महिलाहरुमा रहेक क्षेत्रमा काम गर्न सक्ने क्षमता छ तर, काम गर्ने वातावरण छैन त्यस कारण महिलाहरु नेतृत्व तहसम्म पुग्न सकिरहेका छैनन् ।’ जिल्लाका सबै दलहरुमा महिला सहभागिता ३३ प्रतिशत पु¥याउनको लागि पार्टीले नै पहल गर्नु पर्ने उनको भनाई छ । उनले थपिन्, ‘महिला स्वयम पनि जागरुप भएर लाग्नु पर्छ ।’ उनले पितृसत्तात्मक सोच र महिलालाई नेतृत्व तहसम्म पुग्न दिनु हुँदैन भन्ने पुरुषवादी सोचलाई अन्त्य गरी महिला र पुरुष दुवैलाई समान रुपमा हेर्ने दृष्टिकोणको सिर्जना गर्न जरुरी रहेको बताइन् ।

प्रकाशित मितिः   १३ मंसिर २०७३, सोमबार २३:०३