सुर्खेतमा अब प्रादेशिक राजधानी अनुकूलका योजना

सुर्खेतमा अब प्रादेशिक राजधानीका लागि आधार तयार गर्ने विकास योजनाहरू मात्र छनौट गरिने भएको छ । हालसम्म मध्यपश्चिमको क्षेत्रीय सदरमुकाम रहेको सुर्खेत अब प्रदेश नम्बर ६ को राजधानी बन्ने सम्भावना बढ्दै गएपछि सोही अनुकूलका विकास योजनाहरू निर्माण गरिने भएको हो । आगामी आर्थिक वर्षका लागि जिल्लामा तर्जुमा हुने सम्पूर्ण विकास योजनाहरू प्रादेशिक राजधानी अनुकूल हुने गरी छनौट गर्न सरकारले निर्देशन दिएको छ ।

राष्ट्रिय योजना आयोगले जिल्ला विकास समितिलाई पठाएको योजना छनौट सम्बन्धी मार्गदर्शनमा नै प्रादेशिक राजधानीको आधार तय हुनेगरी सुर्खेतमा विकास योजनाहरू छनौट गर्न भनिएको छ । यस्तै सोही अनुकूलका योजनाहरू छनौट गर्दै केन्द्रमा पठाउनसमेत योजना आयोगले जिविसलाई निर्देशन दिएको हो । देशमा सङ्घीयता कार्यान्वयनको चरणमा रहेको र सुर्खेत प्रादेशिक राजधानीका लागि उपयुक्त देखिएकाले त्यसलाई अनुकूल हुने योजना मात्र छनौट गर्न आयोगले निर्देशन दिएको जिविसले जनाएको छ । केन्द्रको निर्देशन अनुसार नै अब जिल्लाबाट प्रादेशिक राजधानीलाई सुहाउने खालका योजनाहरू मात्र छनौट गरिने स्थानीय विकास अधिकारी अमृत लम्सालले बताए ।

अघिल्ला वर्षहरूमा जिल्लामा स्थानीय आवश्यकता भन्दा पनि दल र नेताको दबाबमा विकास योजनाहरू छनौट हुने गरेका थिए । तर यसपाली जिल्लालाई प्रदेश ६ को राजधानीका रूपमा स्थापित गर्न र राजधानीका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणका योजनाहरू मात्र छनौट गर्नुपर्नेमा यहाँका राजनीतिक दलहरूसमेत एकमत देखिएका छन् । राष्ट्रिय योजना आयोगले मापदण्डसहितको योजना छनौट सम्बन्धी मार्गदर्शन जिल्लामा पठाएपछि जिविसले आगामी आर्थिक वर्ष २०७४/०७५ का लागि पूर्वयोजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । आइतवार वीरेन्द्रनगरमा सम्पन्न भएको गोष्ठीमा सहभागी जिल्लाका राजनीतिक दल, सरकारी कार्यालयका प्रमुख र गैरसरकारी संस्थाका प्रतिनिधिहरूले केन्द्रको मार्गदर्शन अनुसार नै जिल्लामा विकास योजनाहरू छनौट गर्ने सहमति जनाएका हुन् । साथै उनीहरूले अब सुर्खेतमा छनौट हुने सबै विकास योजनाहरू प्रादेशिक राजधानीलाई लक्षित हुनुपर्नेमा जोड दिएका छन् ।

स्थानीय विकास अधिकारी अमृत लम्सालले भने, ‘योजना आवश्यकताको आधारमा तर्जुमा हुनुपर्छ, सुर्खेत सम्भावित प्रादेशिक राजधानी पनि हो । त्यसैले कसैका व्यक्तिगत योजना होइन, अब राजधानीको आधार बन्ने खालका योजना छनौट गरौं ।’ अहिलेदेखि नै राजधानी अनुकूलका योजनाहरू छनौट र कार्यान्वयन गर्दै गएमा भोलिका दिनमा सहज हुने उनको भनाइ छ । साथै उनले यसपालीबाट जिल्लामा छनौट हुने विकास योजनाहरू प्रादेशिक राजधानी लक्षित गरेर तर्जुमा गरिने बताए । ‘आफ्नो घरको आँगन मात्र नहेरौं, समानुपातिक रूपमा योजनाहरू छनौट गरौं’ व्यवस्थापिका संसदका सदस्यसमेत रहेका कांग्रेस नेता खड्गबहादुर बस्याल भन्छन्, ‘आजको स्वार्थ पूरा गर्न तानातान नगरौं, भोलिको बाटो पनि हेरेर काम गरौं । सुर्खेतले अब योजना छनौट गर्दा सोच्नुपर्ने बेला आएको छ, भोलि राजधानी हुँदा अहिले गरेको विकासले पछुताउनु नपरोस् ।’ सहमतिका आधारमा मात्र जिल्लामा योजना छनौट गर्न आग्रह गर्दै उनले राजधानीको आधार तयार हुनेगरी योजना छनौट गर्नुपर्ने सुझाव दिए ।

गोष्ठीका सहभागीहरूले अब जिल्लामा योजना छनौट गर्दा वडादेखि नै प्रादेशिक राजधानीको आधार तय हुनेगरी योजना छनौट हुनुपर्ने बताए । यस्तै जिल्लामा विगतमा अधुरै रहेका तर महŒवपूर्ण योजनाहरूको निरन्तरता, ग्रामीण सडकहरूको स्तरोन्नति, क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण, विद्युत प्रसारण लाइनको क्षमतामा वृद्धि, चौकुने सिमेन्ट उद्योग सञ्चालन, वीरेन्द्रनगर क्षेत्रको गुरुयोजना कार्यान्वयन, प्रादेशिक औद्योगिक क्षेत्रको स्थापना, मेडिकल कलेजको स्थापना र भौतिक पूर्वाधार निर्माणका योजनाहरूलाई प्राथमिकता दिनुपर्ने उनीहरूको भनाइ छ । यी योजनाहरू कार्यान्वयनमा दलहरू एकमत भएमा जिल्लामा प्रादेशिक राजधानीका लागि बलियो आधार तयार हुने स्थानीयको सुझाव छ । यस्तै अबको जिल्ला विकासको योजना छनौट गर्दा जलवायु परिवर्तन, समावेशीता, रोजगारी, उद्यमशीलता, आयआर्जन र महिला लक्षित योजनाहरूलाई समेत प्राथमिकता दिइने जिविसले जनाएको छ । भौतिक पूर्वाधारको पहुँच र सुविधाको आधारमा यो प्रदेशको राजधानी सुर्खेत नै हुने आधार बलियो बन्दै गएपछि अब जिल्लामा सोही अनुकूलका योजना मात्र छनौट गरिने भएको हो ।

प्रकाशित मितिः   १२ मंसिर २०७३, आईतवार २३:११