सुरक्षित सिकाइका लागि नीतिगत सुधारमा जोड

बालबालिकाका लागि सिकाइमैत्री नीति र संरचना निर्माणमा सरोकारवाला निकायले जोड दिएका छन् । बालबालिकाको गुणस्तरीय पठनपाठनका लागि विद्यालयभित्र र बाहिर भयमुक्त वातावरणको आवश्यकता रहेको उनीहरूले औंल्याएका हुन् । सुरक्षित सिकाइका लागि विद्यालय र तीन वटै तहका सरकारले नीति निर्माणसँगै त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताइएको हो ।

भीएसओ नेपालको सहयोग तथा आसमान नेपाल र शिक्षा पत्रकार समाज (सेज) को आयोजनामा आइतवार वीरेन्द्रनगरमा आयोजित जिल्लास्तरीय कार्यशालामा
विद्यालय शिक्षामा गुणस्तरीयता कायम गर्न सरकारी तथा गैरसरकारी क्षेत्रबाट भए गरेका प्रयासबारे छलफल गरिएको छ । कार्यशालाका सहभागीहरूले विद्यालय शिक्षामा गुणस्तरियता अभिवृद्धि गर्न सुरक्षित सिकाइमा जोड दिएका छन् ।

सिकाइमैत्री वातावरणका लागि सुर्खेतस्थित विभिन्न निकायले तर्जुमा गरेका नीतिको कार्यान्वयन पक्ष कमजोर भएको पाइएको छ । विद्यालय र स्थानीय तहले सिकाइमैत्री वातावरणका लागि कमै चासो दिने गरेको शिक्षा क्षेत्रकै व्यक्ति तथा संस्थाहरूले जनाएका हुन् । भौतिक पूर्वाधार, जनशक्ति र स्थानीय तहमा बालबालिका संरक्षणका लागि कानुन नबन्दा समस्या हुने गरेको सहभागीले बताएका छन् ।

बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले न्यून बजेटका कारण शिक्षा क्षेत्रमा सुधारका कार्यक्रम सञ्चालन गर्न कठिनाइ हुने गरेको सुनाए । सुरक्षित सिकाइ परियोजनाको अवधि छोटो भएको भन्दै उनले शिक्षा क्षेत्रमा लगानीका कार्यक्रम थप्न गैरसरकारी संस्थाहरूलाई आग्रह समेत गरे । सबै निकायले समस्या मात्रै राख्ने तर समाधानका उपायमा जोड नदिँदा कार्यक्रमहरू प्रभावकारी बन्न नसकेको अध्यक्ष बस्नेतको टिप्पणी छ ।

शिक्षाका समस्यालाई मिडियाले पनि कम प्राथमिकता दिने गरेका कारण यस क्षेत्रका समस्या ज्युँका त्युँ रहेको सरोकारवालाहरूको गुनासो छ । भेरीगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख धिरेन्द्रप्रसाद शर्माले मिडियाले सवालहरूबारे निरन्तर बहस चलाउनुपर्ने धारणा राखे ।

‘शिक्षा ऐन नबन्दा परिपत्रका भरमा शिक्षा प्रशासन चलेको छ,’ शर्माले भने, ‘शिक्षा क्षेत्रमा थुपै्र नीतिगत अन्यौलता छन् । मिडियाको कभरेज बढाउन आवश्यक छ ।’ शिक्षा शाखामा जनशक्ति नहुँदा विद्यालय अनुगमन प्रभावकारी हुन नसकेको उनले बताए । स्थानीय तहले पाठ्यक्रम र सुरक्षित सिकाइ योजना निर्माण गर्न पनि जरुरी रहेको शर्माले औंल्याए ।

यस्तै, भीएसओ नेपालका समावेशी शिक्षा शाखा प्रमुख आनन्द पौडेलले सुरक्षित सिकाइ परियोजनाले सरकारी तथा गैरसरकारी निकायबाट तर्जुमा गरिएका नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था, चुनौती, विद्यालयमा हुने दण्ड सजाय, विभेद र हिंसाले पारेको असरका बारेमा विभिन्न गतिविधि सञ्चालन गर्दै आइरहेको बताए । उनले भने, ‘अभिभावक, शिक्षक, विद्यार्थी लगायतका सरोकारवालालाई सुरक्षित सिकाइका क्रियाकलापबारे सुसूचित गर्न जरुरी छ ।’ पौडेलले यसका लागि सुरक्षित विद्यालय र भयमुक्त समाज हुनुपर्ने जनाए । सबै विद्यालयले सुरक्षित विद्यालयको अवधारणा ल्याउनुपर्ने उनले सुझाए ।

स्थानीय तहमा शिक्षाका क्षेत्रमा काम गर्दै आएको आसमान नेपालका कार्यक्रम संयोजक यादव भुषालले पालिका तहमा बालबालिकाका लागि नीति निर्माण नहुँदा शिक्षा, स्वास्थ्य र सुरक्षाजस्ता सवालमा समस्या रहेको जनाए । ‘स्थानीय तह बालबालिकाका मुद्दामा गम्भीर बन्न सकेका छैनन्,’ उनी भन्छन्, ‘बालमैत्री स्थानीय शासन नै बन्न सकेको छैन ।’ भीएसओ र आसमान नेपालको सहकार्यमा सुरक्षित सिकाइका लागि विद्यालय र पालिका तहमा थुप्रै गतिविधि सञ्चालन भएको उनले जानकारी दिए । विद्यालय भवन, शौचालय, खानेपानी संरचना निर्माणमा सहयोगदेखि शिक्षक, विद्यार्थी, अभिभावक, युवा र बालबालिकाका लागि जनचेतनामूलक तथा नीतिगत सुझावका कार्यक्रमहरू गरिँदै आएको बताए । बालबालिकाका लागि स्थानीय तहले पर्याप्त लगानी गर्नुपर्ने भन्दै सुरक्षित सिकाइका लागि भौतिक पूर्वाधार सँगसँगै नीतिगत सुधारको खाँचो रहेको भुषाल बताउँछन् ।

भीएसओ नेपालले पाँच जिल्लाका ६९ वटा विद्यालयमा सुरक्षित सिकाइ परियोजना सञ्चालन गरेको छ । सुरक्षित सिकाइका विभिन्न गतिविधि, विद्यालय सुशासन, विद्यालयलाई ल्यापटप, विद्यार्थीको अभिलेखीकरण, १४ हजार बढी बालबालिकालाई आत्मसुरक्षा तालिम, नीतिगत सुधारका लागि छलफल गर्दै आएको उक्त संस्थाले जनाएको छ ।

कार्यशालामा बालमैत्री स्थानीय शासनको अवस्था, विद्यालय भित्र र बाहिर हुने विद्यार्थीमाथि हुने हिंसा, भययुक्त वातावरण, सुरक्षित सिकाइको प्रभावकारिता लगायतका विषयमा सरोकारवालाबीच छलफल भएको छ । विभिन्न विषयमा प्रस्तुतीकरणसमेत राखिएको कार्यशालामा स्थानीय तहका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षाका कर्मचारी, शिक्षक, प्रहरी, विद्यार्थी, अभिभावक, सञ्चारकर्मी र गैरसरकारी संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   २ चैत्र २०७७, सोमबार ०६:०१