बजार

आधुनिकताउन्मुख बजार

बजार


सुर्खेतको वीरेन्द्रनगर बजार आधुनिक बन्ने कसरतमा छ । वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी पनि हो । यसअघि मध्यपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम थियो, यो । उसबेला वीरेन्द्रनगर साविक भेरी र कर्णाली अञ्चलको प्रशासनिक र शैक्षिक केन्द्र मानिन्थ्यो । यहाँका अधिकांश व्यवसाय भने परम्परागत शैलीमै सञ्चालनमा थिए । बजार निकै सानो थियो भने लगानी पनि न्यून । जनसंख्याको चाप पनि उत्ति धेरै थिएन ।

पछिल्लो समय व्यापारमा विविधता आएको छ भने बजार पनि गुल्जार बन्दै गएको छ । वीरेन्द्रनगरले आधुनिक विकासको स्वाद लिन थालेको हो । दिन प्रतिदिन व्यवसाय थपिने क्रम बढ्दो । यहाँ ठूलो लगानीका आधुनिक व्यवसायहरू सञ्चालनमा आएका छन् । केही वर्ष पहिलेसम्म लगानी र प्रविधिका हिसाबले स्थानीय बजारकै झल्को दिने वीरेन्द्रनगर अहिले व्यस्त सहरझैं बनेको छ । बजारमा व्यवसाय मात्र थपिएका छैनन्, ठूलो लगानी पनि भित्रिएको छ । एउटै छानामुनि सबै प्रकारका वस्तु उपलब्ध गराउन ठुल्ठूला डिपार्टमेन्ट स्टोर्स र सपिङ्ग मल खुलेका छन् ।

प्रदेश राजधानी भएसँगै बढ्दो जनसंख्याको चापले व्यवसाय पनि राम्रो हुँदै गएको हो । वीरेन्द्रनगर प्रशासनिक र शैक्षिक हब मात्र नभएर अब व्यावसायिक केन्द्र पनि बनेको छ । वीरेन्द्रनगरको बजारमा व्यवसायका नयाँ आयाम थपिएका हुन् । भर्खरै शहरीकरणतर्फ उन्मुख वीरेन्द्रनगरमा जोखिम मोलेरै भए पनि निजी क्षेत्रले लगानी बढाएको हो । बढ्दो शहरीकरणसँगै व्यवसायमा देखिएको सम्भावना आँकलन गरेर व्यवसायीले लगानी गर्न थालेका हुन् ।

वीरेन्द्रनगर बजारमा अहिले ठूला सपिङ्ग मल, होटल, डिपार्टमेन्ट स्टोर, डेरी उद्योगलगायत सञ्चालनमा ल्याइएको छ । व्यक्ति र कतिपय संघ–संस्थाले समेत बजारमा लगानी गरेका हुन् । ठूला सपिङ्ग मल, डिर्पाटमेन्ट स्टोर खोल्ने क्रम बढेको छ । व्यवसायीले व्यापार गर्ने परम्परागत शैली पनि परिर्वतन गरेका छन् । ग्राहकको माग र रुचिलाई ध्यान दिन थालिएको छ । प्रविधिको प्रयोग गरेर व्यवसाय गर्न थालिएको हो । उनीहरूले आफ्ना उत्पादन तथा सेवाहरू प्रविधिमार्फत ग्राहकलाई जानकारी दिन थालेका छन् भने होम डेलिभरीजस्ता सेवा पनि विस्तारगरिएको छ ।

एकै छानामुुनि सबै सामग्री

घरायसी सामग्रीदेखि आवश्यक दैनिक उपभोग्य वस्तु एउटै ठाउँबाट ग्राहकले खरिद गर्न सक्ने गरी ठूला पसलहरू सञ्चालन भएका छन् । वीरेन्द्रनगर बजारमा रेष्टुराँमा खाने र लिफ्ट चढेर सपिङ्ग गर्ने कल्चर भित्रिएको छ । दैनिक उपभोग्य सामग्री खरिद गर्न ठूला सहर नेपालगन्ज, काठमाडौँ जानुपर्ने विगतको बाध्यता टरेको छ । एउटै वस्तु पाइने व्यवसाय नभइ ग्राहकलाई आवश्यक हरेक सामग्री एकै ठाउँमा पाउन थालिएको हो । यसले ग्राहकलाई ठाउँठाउँमा जाने झन्झटबाट मुक्त मात्र गरेको छैन, समयको बचत समेत गराइदिएको छ ।

चार÷पाँच वर्ष यता वीरेन्द्रनगरको बजार क्षेत्र धेरै विस्तार भएको व्यवसायीहरू बताउँछन् । व्यवसायीले धेरै लगानी गरेर डेकोरेशन तथा प्रचार–प्रसारमा ध्यान दिन थालेका छन् । जसले गर्दा व्यवसाय बढेको छ भने ग्राहक समेत आकर्षित हुने गरेका छन् ।

व्यवसायमा स्तरोन्नति

सुर्खेतमा लामो समयदेखि फेन्सी व्यवसाय गर्दै आएको राजु कलेक्सनले समयको माग अनुसार आफ्ना सेवाहरू थप गर्दै लगेको छ । राजु कलेक्सनले लगानी बढाएर सबै सामान एउटै छानामुनि पाउने गरी व्यवसायको विस्तार गरिएको हो । यसै वर्षदेखि व्यवसायलाई नयाँ स्वरूपमा सञ्चालनमा ल्याइएको सञ्चालक राजु पाण्डेले बताए । ‘बजारको मागअनुसार चल्न सके मात्र व्यवसायमा प्रगति हुँदै जाने उनको अनुभव छ ।

राजु कलेक्सनले अहिले दैनिक उपभोग्य सामग्रीदेखि कपडासम्म बिक्री गर्दै आएको छ । हरेक सामानहरूको छुट्टाछुट्टै डिपार्टमेन्ट बनाएर सजावट गरिएको छ । फेन्सी, जेन्स र लेडिजको ब्राण्ड छुट्टाछुट्टै, बालबालिकाहरूको लागि छुट्टै डिपार्टमेन्ट, फरक–फरक कम्पनीका शूजहरूको छुट्टै डिपार्टमेन्ट, खेलाडीहरूको लागि छुट्टै स्पोर्टस् हाउस र गिफ्ट एण्ड मार्टलगायतका डिपार्टमेन्ट कलेक्सनमा राखिएको छ । सञ्चालक पाण्डेका अनुसार पहिलेको व्यवसायमा हाल झण्डै ८० लाख रूपैयाँ लगानी बढाइएको हो । उनले आफ्नो कलेक्सनमा ३८ जनाले प्रत्यक्ष रोजगारी पाएको बताए ।

लकडाउनमै लगानी

‘कर्णाली मल’ सञ्चालनमा ल्याइएको छ । वीरेन्द्रनगरको नेताचोकमा ठूलो लगानीमा मल खुलेको हो । कोरोना महामारीका कारण व्यापार व्यवसाय ठप्प भएकै बेला केही महिना पहिले मल सञ्चालनमा ल्याइएको थियो । यो प्रदेशमै पहिलो र ठूलो सपिङ्ग मल हो ।

वीरेन्द्रनगरकै स्थानीय दुई जना व्यवसायी अर्जुन पाण्डे र धर्मराज ढकालले मलमा लगानी गरेका छन् । औपचारिक उद्घाटन नभए पनि यहाँ केही महिना अघिदेखि बिक्री भने सुरू गरिसकिएको छ । व्यापार राम्रो हुने सम्भावना देखेरै लगानी गरिएको सञ्चालकको भनाइ छ । अहिले दैनिक भइरहेको व्यापारबाट उनीहरू सन्तुष्ट छन् । ठूलो लगानी गरेर केही नयाँ व्यवसाय गर्ने सोच आएपछि मलमा लगानी गरिएको अर्जुन पाण्डेले बताए । ‘अब हामी मल औपचारिक उद्घाटनको तयारीमा छौं । तीन महिनादेखि बिक्री थालेका हामीले ग्राहकको राम्रो रेस्पोन्स पाएका छौं ।’ एकै छानामुनि सबै गुणस्तरीय सामान उपलब्ध गराउने आफूहरूको उद्देश्य रहेको उनले बताए । लिफ्ट सुविधासहितको कर्णाली मलमा भाँडाकुडा, खाद्य, खुद्रा, कपडा, रेष्टुरेण्टलगायतका सेवाहरू उपलब्ध छन् । करोडौं लगानीमा खोलिएको मलका शाखा विस्तारै प्रदेशका अन्य ठूला बजारमा पनि विस्तार गर्ने योजना रहेको सञ्चालकहरूले बताएका छन् ।

होटल व्यवसायमा आकर्षण

प्रदेश राजधानी बनेसँगै यहाँ होटल तथा रेष्टुरेण्ट व्यवसायमा पनि लगानी बढ्दो छ । सुविधा सम्पन्न तथा स्तरीय होटलहरू सञ्चालनमा आएका छन् । सुर्खेतमा सिद्धार्थ, शुभ, बुलबुले भ्यू, भ्याली भ्यूजस्ता होटलले सुविधा विस्तारै गर्दै लगेका छन् । पछिल्लो समय खाजा नास्ताका लागि थुपै्र फास्टफूड रेष्टुरेण्ट तथा कफी सपहरू पनि सञ्चालनमा आएका छन् । खासगरी युवा व्यवसायीहरू होटल तथा रेष्टुरेण्टमा लगानी गर्न आकर्षित भएका छन् ।

होटल बुलबुले भ्यूका सञ्चालक जनक सिंहले यसै वर्षदेखि होटल बुलबुले भ्यू–टू सञ्चालनमा ल्याएको बताए । कर्णालीको अर्गानिक उत्पादनलाई प्राथमिकता दिएर होटल सञ्चालन गरिएको उनी बताउँछन् । कर्णालीमा पर्यटन व्यवसायको सम्भावना राम्रो देखेका उनी होटलमा लगानी बढाउँदै जाने योजनामा छन् ।

थपिए उद्योग

सुर्खेतमा यसै वर्षदेखि सुर्खेत डेरी उद्योग सञ्चालनमा आएको छ । तीन जना व्यवसायीको ठूलो लगानीमा वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा डेरी उद्योग खोलिएको हो । सञ्चालक माधव धितालका अनुसार अहिले उक्त उद्योगले कर्णालीका विभिन्न जिल्लाबाट दैनिक ६ हजार लिटर दुध संकलन गर्छ । दुई हजार लिटर दुध सुर्खेतमै खपत हुने गरेको छ भने बाँकी चार हजार लिटर काठमाडौं निर्यात हुँदै आएको छ । डेरी उद्योगले ३० वटा सहकारीसँग समन्वय गरेर सुुर्खेत, दैलेख, जाजरकोट, रुकुम–पश्चिम र सल्यानबाट दुध संकलन गरिरहेको छ । दुध सहज रूपमा बिक्री हुन थालेपछि किसानहरू उत्साहित भएका छन् । उद्योगले प्याकिङ तथा लेबलिङ गरेर दुग्धजन्य सामग्रीको बिक्री–वितरण गरिरहेको हो । करिब २० करोडको लगानीमा डेरी उद्योग स्थापना गरिएको सञ्चालक धितालले बताए ।

वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा पनि लगानी भित्रिने क्रम बढ्दो छ । औद्योगिक क्षेत्रमा विभिन्न प्रकृतिका २१ वटा उद्योगहरू सञ्चालनमा छन् । तीन वटा उद्योग निर्माणाधीन अवस्थामा रहेका छन् । कोल्ड स्टोरेज, तार जाली सामग्री उत्पादन र खाद्य पदार्थको प्रशोधन तथा उत्पादन सम्बन्धी नयाँ उद्योग सञ्चालनका लागि निर्माणको काम भइरहेको हो । नयाँ उद्योग स्थापना हुने क्रम बढेको वीरेन्द्रनगर औद्योगिक क्षेत्रका कार्यालय सहायक राकेश सिंहले बताए । पछिल्लो समय धमाधम उद्योग व्यवसाय थपिएका हुन् ।

 

प्रकाशित मितिः   २२ फाल्गुन २०७७, शनिबार १०:४७