असहिष्णु अभिव्यक्ति

सडक गालीगलौजले भरिएको छ
सडक कुण्ठा र अहङ्कारले भरिएको छ,
विवेक र मानवताको खडेरी लागेको बेला
सडक स्वार्थहरूको भिडले भरिएको छ ।
कुनै समय गणतन्त्रको नाराले घन्किने सडक अचेल गालीगलौजको दुर्गन्धले भरिन थालेको छ । असभ्यता, अम¥यादा र अश्लीलता छरपस्ट पोखिएको छ सडकभरि । बरु लजाएका छन् शब्दहरू तर लजाएका छैनन् मान्छेका ओठहरू । मान्छेको मनोविज्ञान पनि विचित्रको छ । एउटै व्यक्तिलाई उसले मन पर्दा सम्पूर्ण रूपमा पवित्र दूधले नुहाइदिन्छ तर जब आपूmलाई मन पर्दैन, आफ्नो स्वार्थसँग ठोक्किन आउँछ, त्यो बेला ऊभन्दा नराम्रो कोही हुँदैन । बलजफ्ती अनेक किसिमका लाञ्छना लगाउन अघि सर्छ ।
अचेल नेपालको संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रतालाई विभिन्न ढङ्गले ब्याख्या गर्न थालिएको छ । हरेक व्यक्तिको व्यक्तिगत इजलासमा अभिव्यक्ति स्वतन्त्रताको बहसले ठाउँ पाएको छ । कानुनको अभ्यास हुँदै गएको कुरालाई कानुनी राज्यमा सकारात्मक नै मान्न सकिएला । तर सवाल यो छ कि हामीले जुन संविधान निर्माण ग¥यौँ । उक्त संविधानले प्रत्याभूत गरेको अभिव्यक्तिको स्वतन्त्रता निरपेक्ष स्वतन्त्रता भने होइन । अभिव्यक्ति स्वतन्त्रतासँग उत्तरदायित्व पनि सँगै जोडिएर आउँछ । यो अधिकारको उपभोग गर्दा कुनै व्यक्ति वा समुदायलाई हानिनोक्सानी नपुग्ने गरी तथा अरुको आत्मसम्मानमा आघात नलाग्ने गरी प्रयोग गर्नुपर्छ भन्ने सिद्धान्त समेत सर्वोच्च अदालतद्वारा प्रतिपादन भएको छ ।
प्रसङ्ग अहिले चर्चामा रहेकी रामकुमारी झाँक्रीसँग सम्बन्धित छ । व्यक्तिगत रूपमा मेरो उनीसँग कुनै आग्रह, पूर्वाग्रह र दुराग्रह छैन । उनलाई म एउटी आँटिली महिला नेतृको रूपमा सम्मान नै गर्छु । तर हालै उनले गोरखामा राष्ट्रपतिलाई लक्षित गर्दै जुन अभिव्यक्ति दिइन्, उक्त अभिव्यक्तिलाई कुनै पनि तर्कले त्यसको औचित्य पुष्टि गर्न सक्दैन । हजार मानिसका हजार तर्क हुन सक्छन् तर तथ्य र सत्य जहिले पनि एउटै हुन्छ । विचारमा असहमत हुन सकिन्छ । विचारसँग हजारौँ तर्क गर्न सकिन्छ । विचारसँग पैठेजोरी खेल्न सकिन्छ । तर अभिव्यक्ति स्वतन्त्रताको नाममा राष्ट्रपतिको चरित्रसँग, उनको कठोर र पीडादायी विगतसँग भद्दा मजाक गर्ने छुट न उनलाई छ, न त अरु कसैलाई नै ।
झाँक्रीले गोरखाको एक कार्यक्रममा अभिव्यक्ति दिने क्रममा आक्रोशित मुद्दामा भनिन्, ‘निर्वाचनको तयारीका लागि बडामहारानीले सम्पूर्ण सुख सुविधा ऐस आराम शितलनिवास छोडेर पहिले कोटेश्वरमा आउनुस्, होइनभने बालकोट नै गएपनि हुन्छ ।’ बालकोट भनेर उनले अभिव्यक्त गर्न खोजेको अन्तरनिहीत अर्थ र उनको मनसाय छर्लङ्गै देखिन्छ । अहिले बालकोट प्रधानमन्त्रीको निजीनिवास हो भन्ने कुरा दुनियाँलाई थाहा छ । सम्मानित र गरिमामय राष्ट्रपति संस्थाको प्रमुखमाथि त्यति सजिलै त्यति ठूलो चारित्रिक लाञ्छना लगाउने छुट उनलाई कसले दियो ? उनले कसरी त्यो बोल्न सकिन् ? पुरुषवादी मानसिकताले महिलालाई कमजोर बनाउनु प¥यो भने सबैभन्दा पहिले प्रयोग गर्ने बलियो हतियार हो उसको चरित्र । किनभने चरित्र सबै प्रतिभाभन्दा माथि हुन्छ । दुःखका साथ भन्नु पर्छ नेतृत्वदायी तहमा पुगेकी एउटी महिला नेतृले पनि राजनीतिक असहमतिका नाममा चारित्रिक हतियारको नै प्रयोग गरेकी छिन् । त्यतिमात्र होइन, मन्तव्यको क्रममा उनले अझ अगाडि भनिन्, ‘यो नेकपा एमालेले २०५० सालमा गरेको भुल थियो । मदन भण्डारीको हत्या पछाडि सेतो सारी लाएर जुनशक्ति आर्जन गर्ने गलत साँस्कृतिक अभ्यास गरेको थियो नेकपा एमालेले, त्यसको प्रतिउत्पादन हो विद्या भण्डारी ।’ यसको अर्थ के हो ? पतिवियोगको पीडाले रन्थनिएकी एकल महिलालाई तत्कालीन एमालेले राजनीतिमा ल्याउनु के गलत थियो ? के विद्या भण्डारीको परिचय मदन भण्डारीकी धर्मपत्नीभन्दा अरु केही थिएन ? के पार्टी संगठनमा उनको कुनै योगदान थिएन ? के झाँक्रीले पनि राष्ट्रपति विद्यादेवी भण्डारीलाई घरको चार दिवारभित्र गृहिणीको रूपमा बन्दी बनेर नै बस्नु पथ्र्याे भन्न खोजेकी हुन ? यसो भनेर उनले कस्तो सन्देश प्रवाह गर्न खोजेकी हुन ? पुरुषहरू नै सर्वेसर्वा हुन् र राजनीतिको मूल चावी पुरुषको हातबाट सञ्चालित हुनुपर्छ भन्ने मनोविज्ञान बोकेको हाम्रोजस्तो समाजमा एउटी महिलाको सशक्त राजनैतिक उपस्थिति आपैmमा स्वागतयोग्य कुरा हो । एउटी महिलाको शिरबाट पुछिएको सिन्दुरलाई दुनियाँको कुनै पनि सुख, सुविधा, यशले छोप्न सक्दैन तर उनले राष्ट्रपतिको सेतो सारीमाथि प्रश्नहरूको वर्षा गरिन् । सेतो सारी र बालकोट कसरी राजनीतिक प्रश्न हुन सक्छ ? यो महिलाको अस्मितामाथिको प्रहार हो । यो महिलाको यौनिकतामाथिको प्रहार हो । जुन कुरा हजारौँ वर्षदेखि पुरातन, सामन्तवादी र पितृसत्तात्मक मानसिकताले गर्दै आएको छ । त्यही लाइनमा उभिएर झाँक्रीले पनि एकल महिलामाथि चरित्रको जुन कार्ड प्रयोग गरिन्, त्यो सर्वथा निन्दनीय, कुरूप र अशोभनीय छ । राजनीतिक प्रश्नहरूको उद्योग निर्माण गर्न सकिन्छ । राजनीतिक प्रश्नहरूको वर्षात् गर्न सकिन्छ तर लोकप्रिय हुने नाममा एउटी महिलाको दुःखपूर्ण विगत कोट्याएर अत्यन्त संवेदनशील क्षेत्रमा प्रहार गर्ने कुरा न राजनीतिक संस्कारभित्र पर्छ, न त राजनीतिक मर्यादाभित्र । यो त अश्लीलताको चरम कुरूपता मात्र हो ।
सात दशक लामो प्रजातन्त्र र गणतन्त्र प्राप्तिको लडाइपछि हामीले महिला राष्ट्रपति पाएका छौँ । विश्वमै विरलै सुन्न पाइने राष्ट्रपति जस्तो गरिमामय पदमा महिला आसिन हुन पाउनु हाम्रो जस्तो देशका लागि ठूलो उपलब्धि हो । विश्व इतिहासलाई हेर्ने हो भने हालसम्म ३६ जना महिलाहरू राष्ट्रपति बनिसकेका छन् । २२ मुलुकमा महिलाले नै प्रमुख भूमिका निभाइरहेका छन् । विश्वमा प्रथमपल्ट महिलालाई राष्ट्रपति बनाउने देशमा भने अर्जेन्टिनाको नाम अगाडि आउँछ ।
कुनै पनि व्यवस्था परिवर्तनमा नायकहरू अग्रपंतिमा देखिन सक्छन् । बारम्बार पर्दामा देखिने पनि उनीहरू नै हुन्छन् र राज्यको सुखभोग पनि उनीहरूले नै गर्दछन् तर ती नायकहरूको पछाडि लागेर राष्ट्रका लागि भिड्ने लाखौँ जनताहरू गुमनाम हुन्छन् । आम जनताको सामूहिक प्रयत्नबाट नै कुनै पनि व्यवस्था परिवर्तन भएको हुन्छ । कुनै पनि व्यवस्था परिवर्तन गर्नेभन्दा पनि ठूलो चुनौती व्यवस्थालाई संस्थागत गर्नु हो, व्यवस्थालाई बचाउनु नै हो । व्यवस्था बचाउने कुरा राजनीतिक पात्रहरूको व्यवहार, आँचरण, संस्कार, विचार र दृष्टिकोणको बलमा नै हो । हाम्रोजस्तो कमजोर अर्थतन्त्र भएको मुलुकमा पार्टीका कार्यक्रमहरू, पार्टी नेताका सोचहरू भ्रष्टाचारको निर्मूलीकरणमा, बेरोजगारी अन्त्य गर्ने दिशामा, गरिबी घटाउने मुद्दाहरूमा, हत्या हिंसा, बलत्कार हुन नदिने कुरामा, विकास निर्माणको योजनामा छलफल हुनुपर्ने हो तर पार्टीका नेताहरूको ध्यान निर्माणमुखी भन्दापनि ध्वंशमुखी बन्दै गइरहेको छ । भोको पेट भर्न कुदाइरहेको मजदुरको ट्याक्सी जलाउने कुरालाई हामी बहादुरी ठान्छौँ । आराम गर्ने शरीरले ठेलागाडा धकेलेर जिवीका चलाउन हिँडेकी वृद्ध आमाको तरकारीलाई जबरजस्ती आफ्नो कब्जामा लिएर बाटैभरि छरिदिने कुरालाई हामी साहस गरेको ठान्छौँ । अरुलाई जति तुच्छ देखाउन सक्यो, आपूmत्यत्ति नै अग्लो भएको ठान्छौँ हामी । गालीगलौज राजनैतिक पार्टीहरूको संस्कृति बनिसकेको छ । दोष जति अरुको टाउकोमा थुपार्ने र आपूmले कुनै पनि कुराको जिम्मेवारी लिन तयार नहुने प्रवृत्तिको विकास भइरहेको छ ।
हजारौँ वर्ष अगाडिको महाभारतको पवित्र ग्रन्थमा समेत निर्दोष द्रौपदीले कर्णको मुखबाट वेश्याको आरोप खेप्नु प¥यो । त्यो समयदेखि नारी शरीरमाथि सधैँ चरित्रको एसिड प्रहार हुँदै आएको छ । चरित्रको भारी के सधैभरि नारीले मात्र बोक्नुपर्ने हो ? के नारीले गरेका तमाम योगदानहरू उसको चरित्रभन्दामाथि हुन सक्दैनन् ? चरित्रको हतियारले मात्र कहिलेसम्म प्रहार गर्ने ? नारी चरित्र मात्र हैन, नारी एक शक्ति हो, नारी विवेक हो, नारी सिर्जना हो र सौन्दर्यको सम्भारकर्ता पनि हो नारी । चरित्रको आयामबाट मात्र हेर्ने नजरहरू अब बन्द हुनुपर्छ ।
प्रकाशित मितिः ६ फाल्गुन २०७७, बिहीबार ०९:३२
साझा बिसौनी ।