स्कुल भनेकै दोकान !
गाइज

‘हेलो गाइज ! के छ खबर ?’
‘हाइ आइते ! हामी सबै ठीक छौं तिम्रो के छ नी ?’
‘दिदी सबैभन्दा बढी उमेरको भएर नी हामीलाई तिमी नै भन्नुहुन्छ है । म त सबैभन्दा कान्छि भइकन पनि यी कसैलाई तिमी भन्दिनँ’ रहिनाको बोली सकिनै आँटेको बेला बक्राम बोल्छ, ‘तैंले गर्दा नै हो हामी सबै निम्न आदरार्थी भएको ।’
‘यो नभइदिएको भए हामी सबै कम्तीमा आदर गर्न सिक्ने थियौं । सबै यसले बिगारेकी हो’ महाशंकर आगोमा घ्यू थप्छ ।
‘सिधै भन न हामीसँग संगत नगर भनेर । के ल्याङल्याङ गरिराछस् ? तिमीहरूले नमाने हुन्थ्यो नी । मैले जे भन्यो त्यही मान्ने तिमीहरू के मेरा प्यादा हौं ? अहिले आएर दोष लगाइराछ मुला ।’
रहिना धेरै दिनपछि पट्की । बम त होइन भरुवा बन्दुकको जतिको आवाज आयो । केटाहरू थर्कमान भए । यहि बेला झुमा अगाडि सरी । विवाद साम्य बनाउन ।
‘आदर जस्तो भएपनि फरक पर्दैन । हामीलाई यसैले निकट बनाइरहेको छ । हाम्रो सम्बन्ध यसैले नै राम्रो बनाइरहेको छ भने आदर जाबोले के नै गर्छ र ? प्रचण्ड ओेलीलाई तपाईं भन्नुहुन्छ । ओली प्रचण्डलाई तपाईं । तर उहाँहरूको सम्बन्ध कस्तो छ त्यो भनिरहनु पर्दैन । मलाई त लाग्छ हामी जे छौं, एकदम ठीक छौं ।’
‘दिदी नै हो क्या हामीलाई एक बनाइदिने । नत्र यो रहिना आजसम्म हामीलाई खाइसक्थी । यो पट्की भने कम डर लाग्छ ।’ आइतेले आफ्नो राय राख्यो ।
‘उमम, म मान्छेको मासु खान्छु केरे । यिनीहरूलाई सिध्याउथे नि भुटेर, झोल झारेर, तारेर’ रहिनाको आवेग समाप्त भइसकेको हुँदैन ।
‘ल भैगो छोड यो सब अँ साँच्चै । आइते आज भाइलाई भर्ना गर्न जाने भनेको होइन । कहाँ भर्ना ग¥यौ, सरकारी कि निजीमा ?’
‘निजीमा भर्ना गर्ने कुरा भएको छ । सामुदायिक स्कुलको तल्लो तहमा खासै पढाइ हुँदैन । बेस बनाउनलाई भए पनि निजी स्कुलमा पढाउनु पर्ने भयो । सरस्वती पूजाको दिन अघि भर्ना गरेपछि केही छुट गर्छु भनेका छन्, प्रिन्सिपलले । तर बहुत गाह्रो छ पढाउनलाई । तिर्नु पर्ने त कति हो कति । हिसाबै छैन । किन्नुपर्ने जति सबै स्कुलमा । बाहिर किन्नै नपाइने । अब स्कुल त दोकान भइसकेछन् ।’
‘सही भनिस यार आइते । आजभोलि यस्तै चलिरहेको छ । निजी स्कुलका अभिभावक को हुने रहेछन् थाहा छ ? केही दिन अघि नाम चलेको एउटा निजी स्कुलको प्रिन्सिपलसँग भेट भएको थियो । उनको विद्यालयको सबैभन्दा एक्टिभ अभिभावक सरकारी विद्यालयको शिक्षक रहेछन् । हरेक दिन कुनै न कुनै सुझाव दिने उनलाई स्कुलले राम्रो अभिभावकको सूचिमा पहिलो नम्बरमै राखेछ ।
कुशल अभिभावकको ख्याति कमाएका शिक्षक आफ्नो स्कुलमा त्यति समय दिन पाउँदा रहेनछन् । हरेक दिन बिहान छोरालाई स्कुलसम्म पु¥याउन र साँझ लिन जाने तथा सुझाव दिन लाग्दा आफ्नो स्कुलको केही समय चोरी हुने रहेछ । उनको आफ्नो स्कुलको शैक्षिक स्तर भने खस्कदै गइरहेको छ । त्यसैले तैंले आफ्नो भाइलाई त्यो दोकानमा लिएर हुल्नुपर्ने भयो’ रहिनाले वास्तविकताको उजागर गरि ।
‘मैले पनि एउटा राम्रो नाम चलेको सरकारी विद्यालयकी शिक्षिकालाई एउटा निजीमा देखेथे । आफूले पढाउने सरकारी विद्यालय र छोरो पढ्ने निजी विद्यालयको दूरिमा खास फरक छैन । बिहान विद्यालयसम्म छाड्न, दिउँसो खाजा खुवाउन र बेलुका लिन आफै पुग्छिन् । उनले पनि छोराको विद्यालयको शैक्षिक स्तर उकास्न सकेको सल्लाह दिन्छिन् । विद्यालय परिवार प्रसन्न छ । तर उनको विद्यालयमा भने त्यसरी सुझाव दिन आउने अविभावक कुरी बसेको छ’ बक्राम बोल्यो ।
‘त्यो त हो धेरै शिक्षकहरूलाई आफू पढाउने विद्यालयको कम, आफ्ना छोराछोरी पढ्ने विद्यालयको चासो र चिन्ता बढी हुन्छ । धेरैजसो निजी विद्यालयहरूले सरकारी शिक्षक र कर्मचारीका छोराछोरी पढाउन पाउँछन् । अभिभावक गतिला पाउँछन् । सुझाव पनि गतिलै पाउँछन् । त्यसैले राम्रा अविभावकको सूचिमा सितिमिति अरुको नाम दर्ज हुन सक्दैन । यस्तो अवस्थामा निजी विद्यालय अगाडि हुने नै भए । अनि हामीले हाम्रा भाइ, छोरा निजी स्कुलमा पढाउनै पर्ने दिन आए’ आइतेले आफ्नो बाध्यता सुनाउँदै झुमासँग अनुरोध ग¥यो, ‘एक पटक संविधानको सही व्याख्या गर्नुस् त दिदी ।’
‘नेपालको संविधान २०७२ को धारा ३१ को उपधारा दुईमा आधारभूत तहसम्म निःशुल्क र अनिवार्य तथा माध्यमिक तहसम्म निःशुल्क पाउने हक हुनेछ भनेर लेखिएको छ । आधारभूत भनेको १–८ र माध्यमिक ९–१२ हो । अनिवार्य र निःशुल्कको अर्थ तिमीले जसरी पनि ८ कक्षासम्म पढ्नैपर्छ त्यसको लागि कुनै शुल्क तिर्नु पर्दैन भन्ने हो । त्यो भन्दामाथि कक्षा १२ सम्म पढ्नलाई अनिवार्य छैन तर तिमी पढ्न चाहान्छौ भने कुनैपनि खालको रकम तिर्नु पर्दैन भनेको हो ।
१२ कक्षासम्मको शिक्षालाई संविधानतः राज्यले आफ्नो दायित्व मानेको छ । त्यसैले निःशुल्क भनेर लेखेको छ । त्यसपछिको शिक्षा तिमी आफै पढ । पढ्न नसक्ने र कमजोर आम्दानी हुनेले चिन्ता लिनु पर्दैन राज्यले छात्रवृत्तिको व्यवस्था गर्नेछ पनि भनेको छ । धारा ४० मा दलितलाई प्राथमिक तहदेखि उच्च तहसम्म छात्रवृत्तिसहित निःशुल्क शिक्षाको व्यवस्था हुनेछ लगायतको प्रावधान समेटिनु यसको अर्को उदाहरण हो ।
संविधानको मौलिक हकमा त्यस्ता कुरा मात्र समावेश गरिन्छ जुन राज्यले नागरिकलाई दिन सक्छ । हाम्रो संविधानको मौलिक हकले व्यवस्था गरे अनुसार १२ कक्षासम्म सरकारी शिक्षा र शिक्षण संस्था मात्र रहन्छन् । निजी शिक्षण संस्था रहँदैनन् । बरु त्योभन्दा माथिल्लो तहमा हुन सक्छ । हाल १२ कक्षासम्म अस्तित्वमा रहेका निजी स्कुललाई समेत राष्ट्रियकरण गरिएको हुनुपर्ने हो । तर सरकारका उच्चपदस्थ व्यक्तित्व नै निजी शिक्षण संख्याको प्रवद्र्धनमा लागेका छन् । सबैभन्दा खल्लो कुरा के भने नी यो सब हुनलाई कानुन बनेको हुनुपर्छ । हाम्रो संसद्ले संविधान अनुकुलको कानुन बनाउनै सकेन’ झुमाको कुरा सबैले ध्यान दिएर सुनेपछि रहिनाले प्रधानमन्त्रीसँग आक्रोश पोखी ।
‘दुई वर्ष अगाडि जेठ ९ गते उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले राजधानीमा सुरु गरेको शैक्षिक मेलाको उद्घाटनको क्रममा प्रधानमन्त्री केपी शर्मा ओेलीले निजी क्षेत्रबाट सञ्चालित शैक्षिक संस्था बन्द हुँदैनन् । ढुक्क भएर लगानी गर्नुस सरकारले सुरक्षा दिन्छ, भनेका थिए । अब सरकारले नै सुरक्षा दिने भएपछि हाम्रो आइतेले निजी स्कलमै पढाउँछ नि, आफ्नो भाइलाई ।’
‘हो नी त्यो कार्यक्रममा प्रधानमन्त्री निजी विद्यालयलाई गुणस्तरीय शिक्षाका नेतृत्वकर्ता नै भन्नुभयो । स्वदेशमै स्तरीय शिक्षा दिएका विद्यालय सञ्चालकलाई माफिया भनेकोप्रति चित्त दुखाउनु भयो र सरकारी स्वामित्वको पक्षमा लाग्नेलाई प्रश्न गर्नुभयो, ‘यहाँका विद्यालय बन्द गराएर विदेशमा विद्यार्थी पठाउने चाहीँ बडा (ठूलो) हुने ?’ भनेर ।
‘अब दिदी नै भन्नुस न । बन्द निजी विद्यालय हुन्छन् कि सरकारी विद्यालय ?’ आइतेको प्रश्नको जवाफ झुमाले यसरी दिइ ।
‘सरकारी विद्यालय बन्द गराउने काम सरकार आफैले गरिरहेको छ । सरकारले विद्यार्थी कम भएका विद्यालयलाई मर्ज गर्ने नीति लिएको छ । उक्त नीतिले नजिकै रहेका दुईमध्ये एउटा विद्यालय बन्द गराउँछ । प्रधानमन्त्रीको भाषामा सबैभन्दा ठूलो शैक्षिक माफिया सरकार हो । विद्यालय बन्द गर्ने, विद्यार्थी विदेश पठाउने र निजी विद्यालय भरिभराउ गराउने र विद्यार्थी कम भएको बाहानामा विद्यालय मर्ज गराएर बन्द गराउने काम सरकारको नीतिबाहेक अरुले सक्दैन । त्यो नीतिलाई सफल बनाउने काम हालसम्मका सरकारले गरिरहेका छन् । सरकार फेरिएसँगै अरुले पनि गर्लान, हिजो गरेका थिए ।
ओलीले संकेत गरेको शैक्षिक माफियाको सूचिमा नेतृत्वकर्ताको हिसाबले पहिलो नम्बरमा उहाँकै नाम आउने भयो । उहाँले प्रशंसा गरेका र गुणस्तरीय शिक्षाको नेतृत्व गरेका शैक्षिक संस्थाहरू विद्यायलय कम र व्यापारिक संस्था बढी छन् । तिनले स्टेसनरी, कपडा, टाइ, बेल्ट, जुत्ता सबै बेच्छन् । यातायात व्यवसायीको काम समेत आफै गर्छन् । तीनले विद्यालयको अर्थ बदलिदिएका छन् । अघि आइतेले भनेझैं अब स्कुल मिन्स विद्यालय (विद्या आर्जन गर्ने ठाउँ) नभएर स्कुल मिन्स दोकान (माल बिक्री गर्ने ठाउँ) मा परिणत भएको छ । यी पसलहरूको व्यापार चम्काउन आफूलाई संविधानको रक्षक बताउने सरकार भक्षक बनिरहेको छ ।’
‘सरकारी विद्यालय र समग्र शैक्षिक सुधारको आशा ‘माछो माछो भ्यागुतो’ मात्रै हुने भयो । शिक्षा क्षेत्रमा सबैभन्दा बढी बजेट विनियोजन गरिएको छ भनि प्रचार गरिन्छ तर प्रचार गरेअनुसारको बजेट, कुल बजेटको झण्डै १० प्रतिशत जति मात्र हुन्छ । समग्र शैक्षिक सुधार र संविधान अनुसारको शिक्षा बनाउन २०–२५ प्रतिशत बजेट छुट्याउनु पर्छ । यस्तो अवस्थामा प्रधानमन्त्री स्वयम्ले निजी विद्यालयलाई गुणस्तरीय शिक्षाको नेतृत्वकर्ता मान्नु अनौठो भएन नी है दिदी ?’ रहिनाले थपी ।
‘जसरी द ब्यूटिफूल ट्रीमा जेम्स टलीले जिकिर गरे कि सार्वजनिक शिक्षाको समय सकिएकाले अब निजीतिर लाग्नैपर्छ । उनले शिक्षामा राज्यको एकाधिकार हुनु हुँदैन भन्ने कोणबाट बहस चलाएका थिए । अब सत्ता पनि त्यसरी नै प्रस्तुत भइरहेको छ । जुन एउटा समाजवादउन्मुख राज्यको लागि सुहाउने कुरा होइन ।’
‘अनि दिदी शिक्षामा स्वामित्वको सवालमा पूँजीवादी देशहरू कत्तिको उदार छन् ? हाम्रो त संविधानमै समाजवादउन्मुख भन्ने शब्दावली छ ।’ बक्रामले पनि झुमालाई नै प्रश्न गर्यो ।
‘ओली भएको देशमा के को शब्दावलीको कुरा गर्नु हो ? अमेरिका, बेलायत जस्ता पूँजीवादी देशले समेत शिक्षालाई राज्यको दायित्वभित्रै राखेका छन् । शिक्षाका सबै प्रबन्धको जिम्मा राज्यले लिनेबित्तिकै असमानताका ठूल्ठूला खाडल खुम्चिन्छन् । स्वीडेन, डेनमार्क र जापान जस्ता देशले शिक्षामा व्यावसायिकतामा जोड दिएका छन् तर व्यवसायीकरण गरेका छैनन् ।
शिक्षाले सभ्य समाज निर्माण गर्ने हो, व्यापार गर्ने होइन भन्ने मान्यता बोकेर पूँजीवादी देशहरू समेत लागेका छन् । मिलनसार, समतामूलक समाजवादी व्यवस्था निर्माण गर्न पनि शिक्षा राज्यको दायित्व हुनुपर्छ । तर हरेक पल्ट समाजवादको रटान लगाउने हाम्रो सत्ता निजी विद्यालय सुरक्षित गर्ने हर्ताकर्ता सिपाही बाहेक अरु केही बन्न सकेको छैन ।’
रहिनाले यति बोलेर सकाउँदा क्यान्टिनको टेबलमा भएका पाँचवटा लेमन टिबाट उडिरहेको वाफको गति धिमा भइसकेको हुन्छ । सबैले एकै पटक चियाको गिलास रित्याए र आफ्नो कक्षा कोठातिर लागे ।
(नोटः कोरोनाले शैक्षिक सत्र अलमल भनेपनि शिक्षण संस्थाहरूले यतिबेला भर्ना अभियान चलाइरहेका छन् ।)
प्रकाशित मितिः १ फाल्गुन २०७७, शनिबार ०९:२३
साझा बिसौनी ।