सन्दर्भः रेडियो दिवस

समुदायको सारथी रेडियो

सन्दर्भः रेडियो दिवस


मधुवन बिसी

आज फेब्रुअरी १३, विश्व रेडयो दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर नवौंं विश्व रेडियो दिवस मनाइदैछ । सन् २०१२ बाट यो दिवस मनाउन थालिएको हो ।

सन् १९८५ मा इटलीका वैज्ञानिक मार्कोनीले विकास गरेको रेडियो तरङ्ग अहिले विश्वका सबै मुलुक र अधिकांश भू–भागमा पुगिसकेको छ । नेपालमा वि.सं. २००३ सालमा काठमाडौंमा रेडियोको प्रसारण सुरु भए पनि औपचारिक रूपमा भने २००७ सालदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो ।

वि.सं. २०५४ जेठ ९ मा रेडियो सगरमाथाले इजाजत प्राप्त गरे पश्चात मात्र नेपाली सञ्चार जगतमा निजी क्षेत्रबाट एफ्एम् प्रणालीको इतिहास सुरु भएको पाइन्छ । नेपालमा मात्र नभएर दक्षिण एशियाकै पहिलो सामुदायिक एफ्एम् रेडियोको रूपमा सरगमाथाले आफ्नो प्रसारण सेवा सुरु गरेको थियो । नेपाली रेडियोको इतिहासलाई नजिकबाट नियाल्ने हो भने यसको द्रूत गतिको विकास देख्न सकिन्छ । छोटो समयमा सबैभन्दा छिटो विकास भएको छ ।

कर्णालीमा रेडियो

हरेक अल्पविकसित मुलुक र क्षेत्रमा सूचना र सञ्चारको प्रभावकारी माध्यम बनेको छ, रेडियो । विकासमा पछि परेको कर्णाली प्रदेशका लागि पनि यो प्रभावकारी माध्यम बन्न पुगेको छ । यहाँका अधिकांश नागरिकले सूचना, सञ्चार, समाचार र मनोरञ्जनको मुख्य माध्यमका रूपमा रेडियोलाई उपयोग गर्ने गरेका छन् । काम गर्दा खेतको आलीमा होस् वा घाँस बोक्ने डालीमा रेडियो बजिरहेको हुन्छ । काम गर्दै सजिलै सुन्न सकिने माध्यम भएका कारण पनि रेडियोको उपयोगिता अझ बढेको छ ।

भैंसी हराएको सूचनादेखि मेलापातका सूचनासम्म, चियापसलको विज्ञापनदेखि सोह्र श्राद्धसम्मको सूचना दिने काम रेडियोले गरिरहेका छन् । तथ्याङ्कले भन्छ विकासको हिसाबले सबैभन्दा पछाडि पारिएको कर्णाली प्रदेशमा सञ्चालनमा रहेका ४२ वटा रेडियोमध्ये ४१ वटा रेडियो सामुदायिक छन् । समुदायको आवाज प्रतिबिम्बित् गर्नका लागि सामुदायिक रेडियोहरू महत्वपूर्ण सारथी बनेका छन् । सामुदायिक रेडियो समुदायका मानिसहरूको दुःखसुखका साथी हुन् भन्दा फरक पर्दैन । किनभने रेडियोहरूले नै बिहान झिसमिसेदेखि बेलुका निन्द्रा नपुरेञ्जेलसम्मको समयमा साथ दिइरहेका छन् ।

रेडियो यस्तो सञ्चार माध्यम हो, जसबाट सूचना, जानकारी तथा मनोरञ्जन प्राप्त गर्नको लागि कुनै समय तालिकाको व्यवस्थापन गरिरहन जरुरी हुँदैन । भान्सा होस् या आगन, घर होस् या कार्यालय जहाँकहीँ सजिलै रेडियो सुन्न सकिन्छ । जुनसुकै काम गर्दागर्दैदेखि यात्रासम्ममा समेत रेडियोबाट सहजै सूचना प्राप्त गर्न सकिन्छ । यही नै यसको मजबुत पक्ष हो ।

पत्रिका तथा अनलाइन जस्तो निश्चित समय नै दिनुपर्ने वा टेलिभिजन जस्तो अगाडि एकटकले बसेर हेर्नुपर्ने अवस्था रेडियोमा छैन । जहाँ पनि सहज रूपमा लैजान मिल्ने र सुनेर मात्र पुग्ने साधन रेडियो भएकोले सूचना प्राप्तिको लागि सञ्चारका सबैभन्दा उपयुक्त एफ्एम् रेडियो नै हो । जहाँ पत्रिका, टीभी र अन्य सञ्चार माध्यमको पहुँच हुँदैन त्यहाँ रेडियो पुग्ने भएकोले पनि रेडियो सबै नागरिकको सूचनाको पहिलो साथी बनिरहेको छ ।

स्रोता घटे, महत्व बढ्यो

पछिल्लो समय रेडियो सुन्नेहरूको संख्या घटेको बताइन्छ । सूचना र प्रविधिको विकाससँगै रेडियो सुन्ने स्रोता घटे पनि रेडियोको महŒव भने बढ्दो छ । कामकाजीहरूले ‘मर्निङ वाक’ गर्दा मोबाइलको हेडफोन कानमा सिउरेर होस् कि किसानले हलो जोत्दा खेतको डिलमा राखेर चर्को आवाज लाएरै होस्, रेडियोको उपभोग मज्जैले गरिरहेका छन् । निर्वाचन होस् कि भिटामिन खुवाउने राष्ट्रिय अभियान, गाउँ–गाउँमा र घर–घरमा सूचना पुर्‍याउने काममा रेडियोले सबैभन्दा बढी भूमिका निभाउँछन् । अझ विपद्को समयमा रेडियोहरूले खेलेको भूमिकालाई नजरअन्दाज गर्न सकिँदैन । चाहे २०७२ सालको भुकुम्प होस, या त कोभिड–१९ को माहामारीकोे अवस्थामा सूचना प्रवाहमा रेडियोको भूमिका सबैभन्दा प्रभावकारी रह्यो ।

अहिले रेडियो रेडियोमा मात्र सीमित रहेन, अन्य विभिन्न माध्यबाट पनि रेडियोलाई सुन्न सकिन्छ । हुन त रेडियो कानको लागि मात्र हो भन्ने गरिन्छ । अहिलेको प्रविधिको उच्चतम प्रयोग गरेर हामीले न्यू मिडियाको प्रयोग गर्नुपर्ने आवश्यकता खड्किएको छ । समय र प्रविधिको विकाससँगै अहिले रेडियोहरूले पनि सामाजिक सञ्जालको प्रयोगबाट आफ्ना स्रोतामाझ पुगिरहेका हुन्छन् ।

बरु अब रेडियोहरूले आफूलाई थप परिमार्जन र सुधार गर्नुपर्ने आवश्यकता भने बोध भएको छ । अब हामीले रेडियोले दिने ‘कन्टेन्ट’को बारेमा पनि सोच्नुपर्ने बेला भएको छ । हामीले दिने विषयवस्तु समुदायका मानिसले कत्तिको रुचाएका छन् एकपल्ट आफूलाई नियाल्नुपर्ने भएको छ । विषयवस्तु र स्थानीय सहभागिताको आधारमा अब नेपालका सामुदायिक रेडियोले काम गर्न ढिला गर्नु हुँदैन ।

वर्षात्मा च्याउ उम्रेजस्तै बजारले धान्न नसक्ने संख्यामा खुलेका रेडियोले आफ्नो विश्वसनीयताको साख भने भत्किन दिएका छैनन् । कोरोना कहरकैबीच सरकारले लकडाउन गरेलगत्तै सुर्खेतका मात्र नभएर देशभरका चल्तीका म्यागजिन र दैनिक पत्रिकाहरू पनि बन्द भए । तर रेडियोले नियमित प्रसारण जारी राखे । यसले पनि रेडियोको महत्व झल्काउँछ । शेयरकाष्ट ईनिशियटिभ नेपालले गरेको ‘नेपाल मिडिया सर्वेक्षण २०२०’ ले कोभिड–१९ का बारेमा नागरिकलाई सूचना पाउने प्रभावकारी माध्यममा रेडियो रहेको देखाएको छ । सर्वेक्षणमा सहभागीमध्ये ६७ दशमलव ३ प्रतिशतले रेडियोबाट नै कोरोनाका बारेमा नियमित जानकारी पाइरहेको जवाफ दिएका थिए ।

लकडाउनको समयमा रेडियोले जति राम्रो भूमिका खेले, तर कोरोनाकै कारण रेडियोले अहिलेसम्मकै उच्च आर्थिक संकट पनि झेल्नु परेको छ । रेडियोलाई मात्रै होइन, सबैजसो सञ्चार माध्यम यो समयमा अहिलेसम्मकै गहिरो आर्थिक संकटबाट गुज्रिएका छन् । यो दुखद् पक्ष हो ।

कर्णालीको पहिलो रेडियो भेरी

कर्णालीमा पहिलो पटक रेडियो भेरी एफ्एमरको स्थापना भएसँगै एफ्एम् रेडियोको विकास सुरु भएको हो । २०६१ सालमा रेडियो भेरीले ‘हिमालदेखी पहाड हुँदै तराईसम्म, सबैको मन छुने’ नारासहित कर्णालीमा पहिलो पटक एफ्एम् ब्यान्डमा आफ्नो प्रसारण सुरु ग¥यो । यसले आफ्नो स्थापना कालदेखि नै लोकतन्त्र, मानव अधिकार, प्रेस स्वतन्त्रता एवम् जनअधिकारका पक्षमा आफूलाई समर्पित गर्दै आएको छ ।

विषम परिस्थितिमा स्थापना भएको एफ्एम्ले लोकतन्त्र स्थापनाका लागि निकै चुनौतीको सामना गर्नुप¥यो । रेडियो भेरीले निकै साहसका साथ शाही शासनका विरुद्ध र लोकतन्त्रका पक्षमा भूमिका खेलेर पश्चिम नेपालमै अग्रणी रेडियोको भूमिका खेल्ने अवसर पायो । तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएको समयमा पनि रेडियो भेरीले जनतालाई सुसूचित गर्ने काममा निकै महŒवपुर्ण योगदान गरेको थियो । देशमा सशस्त्र द्वन्द्व चर्केको समयमा नेपाली मिडियालाई समाचार प्रसारणमा अंकुश लगाइएको थियो । त्यो समयमा पनि रेडियो भेरीले ‘कार्यक्रम वरपर’ नाम दिएर घुमाउरो तरिकाले जनतालाई सूचना, समाचार र जानकारी दिइ रह्यो । त्यही समयमा तत्कालीन सशस्त्र द्वन्द्वमा रहेको माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अन्तर्वार्ता नेपालमा पहिलो पटक रेडियो भेरीले प्रसारण गरेको थियो ।

बीबीसी नेपाली सेवाले लिएको प्रचण्डको अन्तर्वार्ता देशका अन्य कुनैपनि एफ्एम् रेडियोले प्रसारण गर्न सकेनन् । रेडियो भेरीले पहिलो पटक प्रचण्डको अन्तर्वार्ता प्रसारण गरेको थियो । सोही अन्तर्वार्ता प्रसारण गरेको बहानमा तत्कालीन शाही सेनाले रेडियो स्टेशनलाई धम्की समेत दिन थाल्यो । तर रेडियोले डर र धम्कीलाई बेवास्ता गर्दै आफ्ना स्रोताका लागि सूचना र समाचार निरन्तर प्रसारण गरिरह्यो । यस्ता धेरै अप्ठ्यारा र असजिला घटनाहरूकाबीच रेडियोले आफूलाई स्थापित गरेको छ ।

अर्को एक उदाहरण हो, तत्कालीन अखिल क्रान्तिकारीका विद्यार्थी नेता नरेन्द्र कार्कीलाई तत्कालीन शाही सेनाले विष्फोटक पदार्थसहित नियन्त्रणमा लियो । उनको विरोधमा सुर्खेतमा शैक्षिक हड्तालको घोषणा भयो । रिहाईको माग गर्दै सुर्खेतका सबै विद्यालयहरू बन्द भए । सेनाले कार्कीको अवस्था अज्ञात बनाएको थियो । उनको अवस्था थाहा पाउनुपर्ने माग गर्दै वीरेन्द्रनगरमा दिनहुँ जसो आन्दोलन हुन थाल्यो । तर स्थानीय प्रशासनले कुनै जानकारी समेत दिएको थिएन । त्यही समयमा रेडियो भेरीले कार्की सेनाको निगरानीमा रहेको समाचार सार्वजनिक ग¥यो । रेडियोले कारागारमा रहेका विद्यार्थी नेता कार्कीसँग अन्तर्वार्ता प्रसारण गरेपछि सबै आन्दोलनका कार्यक्रमहरू स्थगित भए । त्यसलगत्तै सेनाले उनलाई रिहाई समेत गर्‍यो ।

अहिलेको कर्णाली प्रदेश बन्नुमा पनि रेडियो भेरीको महŒवपूर्ण भूमिका रहेको छ । रेडियो भेरीले शाही शासनकाल, २०६२र०६३ को जनआन्दोलन, २०६४ सालको पहिलो संविधान सभाको निर्वाचन, २०७२ सालको भुकम्प र कोरोना माहामारीको समयमा अविचलित सूचना प्रसारणमा आफूलाई उभ्याइरह्यो । रेडियो भेरीले यसक्षेत्रका मुद्दालाई प्रमुख रूपमा उठाउँदै समाधानका लागि जिम्मेवार निकायलाई निरन्तर दबाब दिने काम जारी राखेको छ ।

रेडियोका चुनौती

संख्यात्मक रूपमा रेडियोको वृद्धि भएको छ । त्यो सँगसँगै रेडियोमा चुनौती पनि थपिँदै गएका छन् । सुर्खेतजस्तो सानो ठाँउमा सात वटा रेडियो स्टेशन हुनु, सीमित श्रोत र साधन, दक्ष जनशक्तिको अभाव, बिजुलीको समस्या जस्ता कारणले गर्दा सामुदायिक रेडियोहरूको अवस्था दिनानुदिन धरासायी बन्दै गइरहेको छ ।

विज्ञापन बजारको अभावका कारणले र अस्वस्थ प्रतिस्पर्धाको कारण पनि सामुदायिक रेडियोहरू समस्यामा छन् । एकातिर अत्यन्त सस्तो मूल्यमा विज्ञापन बजाउनुपर्ने, अर्कोतर्फ बेलैमा भुक्तानी नदिने समस्याले आक्रान्त छन् रेडियोहरू । एउटै सानो सहरमा पनि आधा दर्जन बढी रेडियो खुलेका छन् । प्रत्येक पार्टी र तिनका गुटलाई रेडियो चाहिनु, स्वार्थ समूहहरूले रेडियो खोल्न तम्सिनु र सजिलै इजाजत र उपकरण पाइनुले रेडियो चाहिने भन्दा बढी खुलेको छन् । तर रेडियोको मुख्य आम्दानीको स्रोत विज्ञानप बजार बढेको छैन । बरु कर्णालीबाट मात्रै वार्षिक रूपमा अनुमानित ५० करोडभन्दा बढीको विज्ञापन काठमाडौंका राष्टिरूय मिडियामा गइरहेको छ । तर कर्णालीकै सञ्चारमाध्यम आर्थिक संकट बेहोरि रहनुपरेको छ । यो अवस्थाको अन्त्य अपरिहार्य भएको छ ।

प्रकाशित मितिः   १ फाल्गुन २०७७, शनिबार ०९:२०