काठ तस्करी बढ्दो

सात महिनामा एक हजार पाँच सय क्यूफिट अवैध काठ बरामद भएको छ भने तस्करीमा संलग्न एक सय जना पक्राउ परेका छन्।

सात महिनामा एक हजार पाँच सय क्यूफिट अवैध काठ बरामद भएको छ भने तस्करीमा संलग्न एक सय जना पक्राउ परेका छन्।

अवैध रूपमा वन फडानी गरी काठ तस्करी हुने गरेको छ । डिभिजन वन कार्यालय सुर्खेतले पछिल्लो समय काठ तस्करी बढेको बताएको छ । सामुदायिक वनबाट अवैध चिरान काठ ओसारपसार गर्ने क्रम बढेको हो । केही दिनयता मात्र तस्करीमा संलग्न दर्जनौं व्यक्ति पक्राउ परेका छन् भने ठूलो परिमाणमा काठ बरामद भएको छ ।

डिभिजन वन कार्यालयले सक्रियता देखाएसँगै दैनिकजसो अवैध काठ र ओसारपसारमा संलग्न व्यक्ति पक्राउ पर्न थालेका हुन् । चालु आर्थिक वर्षको सात महिनामा मात्रै करिब एक हजार पाँच सय क्यूफिट अवैध काठ बरामद भएको छ । काठ कटान तथा ओसारपसारमा संलग्न एक सय जना पक्राउ परेका छन् ।

हाल कार्यालयले दुई वटा ठाउँलाई लक्षित ‘सर्च अप्रेसन’ गरिरहेको डिभिजन वन अधिकृत गोविन्दप्रसाद दाहालले बताए । विशेष गरेर भेरी पुलदेखि छिन्चुको बीचमा पर्ने सत्तरी र पश्चिममा रानीघाट श्रीचौर क्षेत्रबाट काठ तस्करी हुने गरेको उनले जनाए । ‘यी क्षेत्रमा तस्करले रातिको समयमा काठ चिर्ने र बाहिर पठाउने गरेको पाइएको छ,’ उनले भने, ‘अहिले यहाँ नियमित गस्ती बढाइएको छ ।’

वन कार्यालयले तस्करी रोक्न सक्रियता बढाए पनि १० देखि १५ प्रतिशत मात्रै नियन्त्रण गर्न सकिएको जनाएको छ । डिभिजन वन अधिकृत दाहाल भन्छन्, ‘स्थानीय व्यक्तिले दिएको सूचनाका आधारमा मात्र हाम्रो टोलिले नियन्त्रण लिने गरेको छ । यसमा प्रहरीको पनि राम्रो सहयोग पाएका छौं ।’ एकै पटक ३० जनासम्म पक्राउ पर्ने गरेको उनले बताए ।

पछिल्लो चार वर्षमा वन फडानी गरी तस्करी गर्नेविरुद्ध ७० वटा मुद्दा दर्ता भएका छन् । तर, चालु आर्थिक वर्षको यो अवधिमा मात्र २८ वटा मुद्दा दर्ता भएका हुन् । अघिल्ला वर्षहरूको तुलनामा धेरै काठ बरामद र संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको हो । गएका चार वर्षको तथ्याङ्क हेर्ने हो भने वर्षमा झण्डै १५/१६ वटा मात्रै मुद्दा परेको देखिन्छ । यो वर्षको सात महिनामा मात्र २८ वटा मुद्दा पुगिसकेका छन् । गत आर्थिक वर्षमा सुर्खेत जिल्ला अदालत र वन डिभिजन कार्यालयमा १७ वटा वनसम्बन्धी मुद्दा थिए । एक हजार चार सय ८६ क्यूफिट काठ बरामद गरिएको थियो ।

पक्राउ पर्ने अधिकांश भरिया

वन कार्यालयले अवैध काठ चोरी तस्करी रोक्न पटक–पटक विभिन्न अप्रेसनहरू गर्दै आएको छ । यस्तो बेला पक्राउ पर्ने अधिकांश व्यक्ति भरिया पर्ने गरेका छन् । काठ तस्करहरू भने न्यून संख्यामा पक्राउ पर्ने गरेका हुन । तस्करीका नाइकेसम्म वन कार्यालयको अनुसन्धान पुग्न नसकेको हो । आर्थिक प्रलोभनमा पारेर काठ तस्करीमा गरिब, विपन्न र बालबालिकालाई प्रयोग गर्ने गरिएको छ । पछिल्लो समय पक्राउ परेका व्यक्तिको माध्यमबाट मुख्य तस्करसम्म पुग्ने गरी अनुसन्धान अघि बढाइएको डिभिजन वन अधिकृतको दावी छ । धेरै जसो भरियाले आर्थिक प्रलोभनमा परेर काठ बोक्ने काम गरेको पाइएको उनले बताए ।

काठ तस्करीमा पक्राउ पर्नेमा १२ वर्षदेखि ७० वर्ष उमेर समूहका व्यक्तिहरू संलग्न छन् । ठेकेदार, समाजका अगुवाको पहिचान बनाएका र राजनीतिक दलमा आवद्ध भएका व्यक्तिहरू नै काठ तस्करीमा लागेको पाइएको छ । केहीको पहिचान खुलिसकेकाले थप प्रमाण पुष्टि भए त्यस्ता व्यक्तिलाई पनि कानुनी दायरामा ल्याइने दाहालको भनाइ छ । काठ तस्करमा अटो रिक्सा र ट्याक्टरको बढी प्रयोग हुने गरेको छ । एउटै व्यक्ति काठ बोक्ने काममा पटक–पटक संलग्न रहेको समेत पाइएको छ ।

उपभोक्ता समितिबाटै तस्करी

काठ तस्करीमा सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीकै संलग्नता देखिएको छ । तस्करीका घटनामा उपभोक्ता समितिहरूको पनि संलग्नता पुष्टि भएको वन कार्यालयले जनाएको छ । केही सामुदायिक वनका पदाधिकारीलाई मुद्दासमेत चलाइएको छ । गुर्भाकोट नगरपालिकामा रहेको देउती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष थमानसिंह अधिकारी काठ चिरान गर्न मिलमा लैजादै गर्दा पक्राउ परेका थिए । अहिले उनी धरौटीमा छुटिसकेका छन् । यस्तै, बराहताल गाउँपालिकामा रहेको सिर्जना सामुदायिक वन उपभोक्ता समितिका सदस्य पनि काठ तस्करीमा संलग्न भएको पाइएको डिभिजन वन कार्यालयले जनाएको छ । यसरी सामुदायिक वन समितिकै सदस्यहरूको मिलेमतो देखिएपछि काठ तस्करी नियन्त्रणमा चुनौती हुने गरेको छ । सरकारले पछिल्लो समय काठ कटान तथा बिक्रीमा प्रतिबन्ध लगाएको छ । जसले गर्दा पनि काठ चोरी बढेको हुनसक्ने बताइएको छ । घर निर्माणको दर बढेसँगै काठको माग अत्यधिक हुँदा अवैध रूपमा भए पनि काठ ल्याउन थालिएको कतिपयको भनाइ छ ।

प्रकाशित मितिः   १ फाल्गुन २०७७, शनिबार ०९:१२