वरदान बनोस् नयाँ वर्ष

रत्नप्रसाद जैसी-
भनिन्छ, बिहानीले दिउँसोलाई सङ्केत गर्दछ । मंगलवारको बिहानीसँगै खुशी, आशा र योजनाको दस्तावेजहरूको खाकासहित निश्चित शर्तहरू पार गरी (३६५ दिन) हाम्रो सामु त्यो दिन २०७२ वैशाख १ गते उपस्थित भएको थियो । यसको स्वागतका लागि सम्पूर्ण स्वदेशी परदेशी नेपाली मनहरू हातमा फूलका गुच्छाहरू अनि मगजमा भावी योजना र काँधमा जिम्मेवारीसहित उपस्थित भइसकेका थिए । विडम्बनाको कुरा नयाँ वर्षको रमाइलो र खुशीका किरणहरू बसन्तसँगै सर्वत्र छाइरहेकै बेला अचानक त्यो कहाली लाग्दो दिन (वैशाख १२) दर्दनाक पीडाको भारी बोकी गोरखाको बारपाक हुँदै ७.६ म्याग्नेच्यूटको शक्तिका साथ काठमाडौं लगायत देशैभरी हल्लाउने गरी उपस्थित भयो । जसले आठ हजार भन्दा बढी नागरिकलाई सदासदाका लागि सामिप्यताबाट बर्हिगमन गरायो । घाइते अपाङ्गहरूको लाम लगायो, राष्ट्रलाई महाविपत्तिको संघारमा पुर्याएर छोडी दियो, राष्ट्रको शिर धरहरा भाँच्यो, स्वयम्भु, पाटन दरबार, जानकी मन्दिर लगायतका लाखौं ऐतिहासिक धरोहरूलाई अघात क्षति पुर्यायो । 
गरीबहरूको आवास खोस्यो, बालबच्चा टुहुरा बनायो, कैयौं आमा दिदीबहिनीको शिरको सिन्दुर मेटायो । समय–समयमा शक्ति र स्थान परिवर्तन गरेता पनि हल्लिने बानी परिवर्तन गर्न सकेन भूकम्पले । हालसम्म चार सय ४६ पटक यसले भूतको अवतार बनेर डराएर कातर बनेका सम्पूर्ण पीडितलाई अझ त्रास दिइरहेको छ । सरकार अन्तर्राष्ट्रिय समुदाय, संघ–संस्था, राजनीतिक दल, सैनिक फोर्स, पुलिस प्रशासन, सञ्चारकर्मी लगायत सम्पूर्ण स्वदेशी विदेशी नागरिकहरूको यस घटनामा उद्धारका लागि अतुलनीय योगदान रहेको थियो । 
भूकम्पले दिएको तितो अतित भुल्न खोजिरहेका आम पीडित नेपालीहरूमा संविधानलाई महाभूकम्पको संज्ञा दिँदै सन्त्रासपूर्ण तरिकाले सुर्खेत, जुम्ला अनि मधेस हुँदै देशका विभिन्न भागबाट बारुदको पिरो गन्ध फैलियो । जुम्लादेखि सप्तरीसम्म थुप्रैको मृत्यु भयो । थुप्रै घाइते बनि अस्पतालको शैयामा हाजिरी भए । यतिमात्र होइन लगभग पाँच महिना जारी भारतको प्रभुत्व बढाउँ अभियान (नाकाबन्दी) ले भूकम्पमा चर्केका घाउहरूलाई नुनचुक छर्कने भूमिका निर्वाह ग¥यो । बुज्रुवा पद्धतिमा आधारित नेपालको शिक्षा पद्धतिलाई अझ बुजु्रवा बनाउन प्रोत्साहन गर्दै लाखौं नेपाली विद्यार्थीको भविष्यमाथि धब्बा लगाइदियो । बाहना खोजिरहेका व्यापारीहरूलाई कालोबजारी बन्ने स्वर्ण अवसर प्रदान ग¥यो । उद्योगधन्दा ठप्पै बन्द हुँदा राष्ट्रिय निर्यात शून्यमा झ¥यो र लाखौं कामदारहरूले सास्ती झेल्नुप¥यो । ग्यास, पेट्रोल, डिजेल, तेल, कालोबजारीहरूको करोडपति बन्ने सपनाको माध्यम बन्यो तर प्रयोगकर्तालाई एचआईभीको औषधि समान बन्यो । 
मानवीय क्षतिका दृष्टिकोणले यो वर्ष कालमै परिणत भयो । आठ हजार भन्दा बढीको ज्यान भूकम्पले लग्यो । कास्कीको लुम्ले, ताप्लेजुङको खोक्लिङ, थिङ्लाबो, लिवाङ र खापुङमा गएको पहिरोले, जहाज दुर्घटना, गाडी दुर्घटना, आगलागी, महामारी जस्ता  चरम प्राकृतिक तथा कृतिम समस्याले पनि हजारौंलाई गुमाउनुप¥यो । ज्यान लिँदै सुरु भएको २०७२ साल ज्यान लिँदै अन्त्य भयो । वर्षको अन्तिम दिन पनि खोटाङ बस दुर्घटना भइ २४ जनाको असामयिक निधन भयो । राष्ट्रको अर्थतन्त्रले पनि भूकम्प र नाकाबन्दीका कारण मुन्टो उठाउने अवसर पनि पाएन, ५.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य २ प्रतिशतमा खुम्चिने सरकारी अनुमान छ । 
समग्रमा २०७२ सालको दशैं आमाबुबाको, तिहार दिदीबहिनीको र देउसीभैलो साथीभाइको रुवाबासीमै बित्यो । विविध क्षेत्रमा महिला हिंसाका घटनाहरू घटिरहे, लोडसेडिङबाट लाखौं नेपाली जनताले सास्ती भोग्नुप¥यो, उद्योगीहरूका लागि कालो वर्ष र अरु हजारौं नेपालीका लागि घरवारविहीन गराउने दर्दनाक पीडाको वर्षका रूपमा पनि सम्झिन सकिन्छ । करोडौं नेपालीको चाहना बमोजिम राष्ट्रको मूल कानुन संविधान जो बृहत सङ्घर्ष, अतुलनीय योगदान र बलिदानपछि लामो समयपछि ऐतिहासिक संविधानसभाबाट २०७२ असोज ३ गते जारी भयो । महिलाहरू शोषण र उत्पीडनमा परेका बेलामा राष्ट्र प्रमुखका रूपमा राष्ट्रपति पदमा विद्यादेवी भण्डारीले जीत हासिल गरिन् । सभामुख जस्तो संसदको उच्च गरिमामय पदमा ओनसरी घर्तीमगर पनि नियुक्त हुनु त्यस्तै प्रधानन्यायाधीशमा संवैधानिक परिषद्बाट सुशीला कार्कीको नाम सिफारिस हुनुले यस वर्षलाई पुरुष प्रदान नेपाली समाजमा महिलाहरूले विजय हासिल गरेको वर्षका रूपमा पनि लिन सकिन्छ । 
अथक सङ्घर्ष र लाखौं बलिदानीपछि जन्मिएको संविधानको कार्यान्वयन होस्, २०७३ साललाई मेरो शुभकामना । नेतालाई मेरो सुझाव, संविधान कार्यान्वयन गर्न एकजुट भएर लाग्नुहोस् । जुनसुकै मूल्यमान्यतामा सम्झौता गर्नुहोस् तर राष्ट्रियता बचाउनुहोस् राष्ट्रलाई माया गर्नुहोस् । भूकम्पपीडितको गास, बास र कपासको व्यवस्था होस् । सरकारी अनुदान प्रत्यक्ष पीडित समक्ष पुगी पीडितले राहतको अनुभूति गर्न पाउन् । काठमाडौंमा तिब्बतले भ्यू टावर भन्दा घरवारविहीन जनताको घरनिर्माणमा छिटो सरकारको ध्यान जाओस् । राष्ट्रिय गौरवका योजनाहरूले द्रुत गतिमा निर्माणको चरण पार गरुन्, देश लोडसेडिङ्गमुक्त बनोस् । प्राकृतिक विपत्ति पर सरोस्, देशबासीलाई कहिल्यै रुन नपरोस्, राष्ट्रिय राजनीतिमा स्थिरता आओस्, चीनसँगको इन्धन, पारवहन सम्झौता छिट्टै कार्यान्वयनमा आओस्, सङ्घीयताको विषय, धर्मनिरपेक्षताको विषय छिट्टै ढुङ्गोमा पुगोस् । स्थानीय निकायको चुनाव भइ जनमुखी सरकारको गठन होस् । शुभकामना ।
प्रकाशित मितिः   ३ बैशाख २०७३, शुक्रबार ०६:०९