‘रुचि भनेकै पढाइ थियो’

वीरेन्द्रनगर–१० निवासी डा. नरेशविक्रम ढकाल शैक्षिक अभियन्ता हुन् । हाल उनी आरटीआई इन्टरनेशनलको प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सुर्खेतको संयोजक छन् । वि.सं. २०२२ भदौ ५ गते बुवा टीकाराम ढकाल र आमा नन्दकली ढकालको माइलो सन्तानका रूपमा गुर्भाकोट नगरपालिका (तत्कालीन मालारानी गाविस कोटखोलामा) जन्मिएका हुन् । भारतको सत्यसाई युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड मेडिकल साइन्सेस मध्य प्रदेशबाट शिक्षामा विद्यावारिधी गरेका उनै ढकाल हाम्रा सहकर्मी मुना हमाल सँग बालापनका सम्झना यसरी साँटेः

डा. नरेशविक्रम ढकाल

मेरो जन्म किसान परिवारमा भयो । बुवाआमा खेतीकिसानी गर्नुहुन्थ्यो । हामी सात भाइबहिनी छौं । चार भाइ र तीन दिदी–बहिनी । मलाई तीन कक्षामा पढ्दादेखिको सम्झना अहिले पनि ताजै छ । त्यसबेलामा तीन कक्षामा जिल्लास्तरीय परीक्षा हुन्थ्यो । हामी ३० जना विद्यार्थीमा थियौं । त्यसमध्ये जम्मा तीन जना मात्रै पास भएका थियौं । म भने प्रथम भएको थिए ।

मेरो बुवाआमा निरक्षर भए पनि छोराछोरीलाई पढाउनु पर्छ भन्ने चेतना थियो । त्यसबेलामा बुवाले म प्रथम भएको खुशीयालीमा एक बोरा बदाम किनेर छिमेकीहरूलाई खुवाउनु भएको थियो । म प्रथम हुँदा उहाँमा देखेको खुुशीले नै मलाई पढाइमा अघि बढिरहने प्रेरणा दिइरह्यो । मेरो रुचि भनेकै पढाइ थियो । त्यसबाहेक साहित्यिक रचनामा पनि लगाब थियो । कविता लेख्थे । खेलकुदमा पनि रुचि राख्थे । भलिबल खेल्थे । उतिबेला टुक्की बालेर पढ्नु पथ्र्यो । बिजुली थिएन । मट्टितेल लिनका लागि नेपालगञ्ज जानुपर्ने अवस्था थियो । यातायातको पहुँच थिएन । बुवाहरू हिँडेर नै नेपालगन्ज जानुहुन्थ्यो । जाँदा घ्यू लिएर बिक्री गर्ने अनि मट्टितेल लिएर आउने गर्नुहुन्थ्यो ।

म राति पढ्दापढ्दै उज्यालो भएको पनि थाहा पाउँदैन्थे । मलाई पढेर अरुलाई सुनाउन मन पथ्र्यो । किताबका पाठहरू कन्ठ पारेर बुबालाई सुनाउँथे । घरको काम बिहान सघाउँथे । अनि दिनमा स्कुल पढ्न गइन्थ्यो । बिदाको समयमा बाख्रा गोठाला जानुपथ्र्यो । घरमा मेरो खास काम पानी बोक्ने हुन्थ्यो । बिहानभरी पानी बोक्नुपथ्र्यो । घरदेखि खोलामा भएको मुहानमा जान आधा र आउन पौने घण्टा समय लाग्थ्यो । गाईवस्तुलाई समेत बोकेर पानी खुवाउनुपथ्र्यो । मेरो माइली दिदीको विवाह हुुँदा घरमा ३० वटा बाख्रा थिए । अब ती बाख्रा मैले हेर्नुपर्ने भएको थियो । कि बाख्रा बेच्नुुपर्ने थियो कि मैले पढाइ छुटाउनुपर्ने । मेरो बुबाले बाख्रा बेच्ने निर्णय लिनुुभयो । किन्ने मान्छे खोरसहित बाख्रा लिन तयार भए । बुबाले खोर पछिलाई चाहिन्छ भनेर राख्ने मनसाय गर्नु भएको थियो । खोर नबेचे बाख्रा पनि बिक्री नहुने भएपछि बुवाले हाम्रो पढाइका लागि बाख्रा खोर नै बिक्री गरीदिनुभयो । सायद त्यसबेला बाख्रा खोर नबेचेर हामीलाई हेर्न लगाएको भए आज यो स्थानसम्म आइपुगिने थिएन । हामी जहाँ छौं, बुवाकै कारणले छौं । बुवाआमाको ठूलो योगदान छ ।

केटाकेटी उमेरमा धेरैजसो गुच्छा खेलिन्थ्यो । पैसा नै हुन्थेन । सटका टाँक बाजी राखेर खेल्थ्यौं । गुच्छा खेलमा मैले खुबै जित्थे । गोठाला जाँदा दिनभरी खेलेर नै समय बिताउँथ्यौं । स्कुलमा आयोजना हुने अतिरिक्त क्रियाकलापहरूमा सहभागी हुन्थे । साहित्यिक रचनाहरूका कार्यक्रम कहिल्यै छुट्थेनन् । पुरस्कार पाउँदा निकै रमाइलो लाग्थ्यो । एक पटक मैले प्रजातन्त्र दिवसको बेला ‘प्रजातन्त्र’ नामक कविता बाचन गरेँ । कविता प्रतियोगिता जितेपछि उतिबेलाको ओमेगा मसी तीन वट्टा पाएको थिए । ठूलो उपलब्धी हासिल गरेको जस्तै खुशीको सीमा नै थिएन । उतिबेला एउटा मसीको वट्टालाई १० पैसा पथ्र्यो ।

सात कक्षा पास भएपछि घरदेखि टाढाको स्कुलमा पढ्न जानुपर्ने अवस्था आयो । मैलै कक्षा ८, ९ र १० जनसेवा मावि सहारेमा पढेँ । घरदेखि डेढ घण्टा हिँडेर स्कुल जानुपर्ने बाध्यता थियो । पछि मैले होस्टेलमै बसेर पढेँ । त्यहाँ पढ्दा के समस्या थियो भने म सानो थिए । अरु साथीहरू ठूला थिए । उनीहरू मलाई पढेको देखेर घुमाउन लैजान चाहन्थे । घुम्न जाउँ भनेर धेरै कर पनि गर्थे । तर मैले कहिले सन्चो छैन् भनेर टारिरहन्थे । एक पटक उनीहरू मेरो मट्टितेलको भाडाबाट मट्टितेल चोरेर पानी हालिदिएछन् । त्यस दिन साँझ मेरो टुक्की बल्दै बलेन् । पछि थाहा पाए साथीहरूले पानी हालिदिएको । पढ्ने वातावरण नहुुँदा मैले शुुक्रवार घर जाँदा दुई दिन रातभरी घरमा बसेर पढ्थे । त्यसबेलामा विषयगत रूपमा शिक्षक पाउनै समस्या हुन्थ्यो । म विद्यालयमा हुुने टेष्ट परीक्षामा प्रथम भए । तर एसएलसीमा सामाजिक विषयमा फेल भए । दुई विषयसम्म लागेकोले दिन पाइन्थ्यो । तर मलाई अन्य अप्ठेरो विषय भन्दा पनि सामान्य विषय लागेर फेल हुँदा नरमाइलो लाग्यो । मैले २०४१ सालमा एसएलसी पास गरेको हुुँ ।

बालापन त भैगो, कहिलेकाहीँ बद्मासी पनि गरियो । प्रायः गाउँमा दुई ठाउँमा बस्ने गरिन्थ्यों । औल र लेक बस्ने हुन्थ्यो । बुबाआमा अर्को घरमा गएको बेलामा साथीहरूसँग मिलेर उखु चोरेर खाइन्थ्यो । पहिले उखु त्यसपछि गाली खाने हुन्थ्यो । मैले बाल्यकालमा आफूभन्दा ठूलासँग साथ हुन्थ्यो । म सानैदेखि कुनै पनि कुरामा तर्क गर्न मन पराउँथे । निडर स्वभावको पनि थिए । सत्य कुरा बोल्नुपर्छ र डर मान्नुहुँदैन भन्ने लाग्थ्यो । पढेर यो नै बन्छु भन्ने वातावरण नै थिएन । गाउँमा बढी देखिने भनेको शिक्षक र कर्मचारी हुन्थे । पढेपछि त्यही नै बनिन्छ भन्ने थियो । मलाई पढेर जुनसुकै ठाउँमा भए पनि नेतृत्व गर्नुपर्छ भन्ने लाग्थ्यो ।

बाल्यकालमा नयाँ कपडा लगाउन पाउँदा धेरै रमाइलो लाग्थ्यो । हाम्रो पालामा विशेष गरेर दुई वटा पोशाक हुन्थ्यो । चाडपर्वमा लगाउने र स्कुल जाँदा लगाउने । कपडा धुनलाई साबुुन हुन्थेन । रिठ्ठा र खरानीमा कपडा पकाएर धुने गरिन्थ्यो । मोबाइल फोनको त हाम्रो पुस्ताले कल्पना पनि गरेका थिएनौं ।

मैले एसएलसी पछि सुर्खेत क्याम्पस (शिक्षा) बाट आईए पास गरे । स्नातक तह र स्नातकोत्तर सोही क्याम्पसबाट पूरा गरियो । नेपाली र अंग्रेजी दुवै विषयमा स्नातकोत्तर गरे । कानुुन पढ्ने रहर थियो । त्यो पनि पूरा गरियो । एलएलबी गरे । अघिल्लो वर्ष मात्रै मैले भारतको सत्यसाई युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड मेडिकल साइन्सेस मध्यप्रदेशबाट शिक्षामा पीएचडी सक्काएँ । मैले २०४१ सालदेखि नै शिक्षण पेसा सुरू गरेको हुँ । २०४५ सालमा स्थायी शिक्षक भएँ । १७ वर्ष शिक्षक र १४ वर्ष स्रोत व्यक्ति भएर काम गरियो । पाँच वर्ष अघि सरकारी जागिरबाट स्वैच्छिक अवकाश लिएँ । हाल आरटीआई इन्टरनेशनलको प्रारम्भिक कक्षा पढाइ कार्यक्रम अन्तर्गत सुर्खेतको संयोजकको रूपमा कार्यरत छु ।

प्रकाशित मितिः   २४ माघ २०७७, शनिबार ०९:००