पारी स्कुल छ, वारी घर : पुल छैन, डुंगाकै भर

2

पारी स्कुल छ, वारी घर । बीचमा सुसाउँदै बगेको छ भेरी । भेरी नदीको किनारमै कमला थापाको घर छ । उनको घरबाट विद्यालय देखिन्छ, विद्यालयबाट घर देखिन्छ । खुरुरु दौडियो भने पाँच मिनेटको दुरी हो, उनको घरदेखि विद्यालयम्म । उनकै अनुमानमा पाँच सय मिटर ।
तर, त्यही पाँच मिनेटको दुरीमा रहेको घरबाट विद्यालय पुग्न आधा घण्टा समय खर्चिनु परेको छ, कमलालाई । किनकी बीचमा रहेको भेरी नदीमा पुल छैन । डुंगाबाट नदी तर्नुपर्छ । त्यसमा पनि पालो कुर्नुपर्छ । ‘पालो कुर्दा कुर्दै आधा घण्टा बित्छ’ कमला भन्छिन्, ‘नदीमा पुल बनेको भए पाँच मिनेटमै स्कुल पुगिन्थ्यो ।’

कमलाको घर हरीहरपुर गाविसको वडा नं. ५ मा छ । उनी अध्यनरत भेरी माध्यमिक विद्यालय वडा नंं. ४ मा छ । बीचमा भेरी नदी छ । कमला मात्र होइन उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको ठुलो संख्या पनि वारीकै छ । थापाडेरा, डोप्का, सिस्नेरी लगायतका गाउँबाट सात दर्जन भन्दा बढी विद्यार्थी भेरी माविमा भर्ना भएका छन् । उनीहरुलाई विद्यालय पुग्नका लागि नदी तर्नैपर्ने बाध्यता छ । नदी तर्नका लागि डुंगा चढ्नै पर्ने बाध्यता । यही बाध्यताका कारण उनीहरु ज्यान जोखिममा राखेरै विद्यालय जाने गरेका छन् ।

२०७१ को साउन अन्तिम साता भेरी नदीमा बाढी आयो । बाढीले सुर्खेतको हरिहरपुरमा रहेको रानीघाट गाउँ नै बगायो । हरीहरपुरकै वडा नं. ४ र ५ लाई जोड्ने भेरीको झोलुंगे पुल पनि बग्यो । दुई वर्ष बितिसक्दा पनि त्यहाँ अर्को पुल बन्न सकेको छैन । जसले गर्दा थापाडेराकी कमला थापा जस्तै यहाँका दर्जनौं बालबालिका नदीमा जोखिमपूर्ण यात्रा गरेर विद्यालय जान बाध्य छिन् । ‘डुंगामा चढेर भेरी तर्दा मनमा डर लाग्छ’ कमलाले भनिन्, ‘डराई डराई भएपनि विद्यालय जानै प¥यो, पढाई छुटाउन भएन ।’ उनले जतिसक्दो छिटो पुल निर्माण गरिदिन आग्रह गरिन् । कसलाई भन्यो भने पुल बन्छ कमलालाई थाहा छैन । तर उनी भन्छिन्, ‘चाँडो भन्दा चाँडो पुल बनाइदिए हामीलाई डरैडरमा विद्यालय जानुपर्ने त थिएन ।’

1

भएको झोलुंगे पुल बाढीले बगाएपछि विकल्पमा डुंगा सञ्चालनमा ल्याइएको हो । डुंगा पनि सानो छ । हरेक दिन त्यसैबाट नदी तरेर बालबालिकाहरु विद्यालय आउजाउ गर्छन् । सानो डुंगामा धेरै मान्छे राखेर तार्ने गरिएको छ । स्थानीयस्तरमै बनाइएको काठको डुंगामा यात्रुहरुको सन्तुलन नमिल्दा पल्टिने सम्भावना रहन्छ । यहाँ जोखिम किन पनि छ भने डुंगामा लाइफ ज्याकेटको प्रयोग छैन । दुई वर्षदेखि बालबालिकाहरु यस्तै जोखिम मोलिरहेका छन् ।

भेरी माध्यमिक विद्यालयका अनुसार थापाडेरा, डोप्का, सिस्नेरी लगायतका गाउँका ९१ जना बालबालिकाहरु विद्यालयमा भर्ना भएका छन् । तर डुंगाको जोखिमकै कारण केही विद्यार्थीहरुले पढाई नै छोडेको विद्यालयका प्रधानाध्यापक रत्नबहादुर बुढा बताउँछन् । ‘त्रासले बालबालिकाहरुको मानसिकतामा नै असर गर्ने रहेछ, त्यसैले कतिपय बालबालिकाहरु विद्यालय आउनै छोडेका छन्’ उनले भने ।
बाढीले बगाएको झोलुंगे पुल पुनर्निर्माण नहुँदा हरिहरपुर गाविसका सबै नागरिकलाई असुविधा भएको छ । तर त्यसको मारमा सबभन्दा बढी विद्यार्थी परेका छन् । डुंगाबाट नदी तर्दा असुरक्षित हुने भएकाले साना बालबालिकाहरु हरेक दिन त्रासमा विद्यालय पुग्ने गरेका छन् ।
बाढीले घर भत्काई दिएपछि हरिहरपुरका १ सय ७४ परिवार गाउँबाट विस्थापित भई गिरीघाट शिविरमा त्रिपालको टहरामा कष्टपूर्ण अवस्थामा बस्दै आएका छन । गिरीघाटमा अस्थायी सिकाई केन्द्र बनाएर कक्षा ५ सम्म पढाई हुने गरेको छ । कक्षा ६ भन्दा माथिल्लो कक्षा पढ्नेहरुलाई विद्यालय जान रानीघाटमा नदी तर्नैपर्ने बाध्यता छ । एक घन्टा हिँडेपछि रानीघाटस्थित भेरी नदीमा डुंगा चडेर जोखिमपूर्ण अवस्थामा वारपार गर्नु पर्छ । नदीपारका लागि प्रयोग भई रहेको डुंगा पनि सुरक्षित छैन ।

विद्यार्थीहरु दैनिक १ घन्टाभन्दा बढी हिँडेर जोखिमपूर्ण अवस्थामा डुंगा तरेर विद्यालय जाने गरेका छन् । डुंगा समयमा तर्न नपाउँदा उनीहरूको कैयौं दिन पहिलो र दोस्रो पिरेड पढाइ समेत छुट्ने गरेको उनीहरु बताउँछन् । उनीहरु जतिसक्दो छिटो झोलुंगे पुल निर्माण हुने अपेक्षामा छन् ।

विशिष्टको नाममा विभिन्न व्यक्तिहरुलाई विभिन्न वाहनामा राज्यकोषबाट लाखौं रुपैयाँ वितरण गर्दै आएको सरकारले हरिहरपुरका दर्जनौं बालबालिकाको एउटा माग पुरा गरिदेला ?

उनीहरुको एउटै माग छ, ‘चाँडोभन्दा चाँडो भेरी नदीमा झोलुंगे पुल बनाइदेऊ ता कि सजिलै विद्यालय जान पाइयोस् ।’

प्रकाशित मितिः   ९ मंसिर २०७३, बिहीबार १०:४४