पार्टी कार्यकर्ता भर्सेस सचेत नागरिक
काङ्ग्रेस नेतृ सुजाता कोइरालालाई उपचार खर्चबापत ५० लाख दिने सरकारको निर्णय र व्यवस्थापिका संसदका सदस्य सांसदहरूको सवा लाख मासिक तलबभत्ताको चर्चा छ । विद्यार्थी सङ्गठनहरूले सांसदहरूको सुविधामा भएको यस भारी बढोत्तरीका विरुद्ध आन्दोलन गर्ने कुरा पनि सार्वजनिक भएको छ । केही समय पहिला सांसदको निर्वाचन क्षेत्र विकास कोषको रकम एक करोड बाट पाँच करोड बनाएर सांसदहरूले आफ्नो आर्थिक हैसियत, पावर र तजबिज ह्वात्तै बढाएका थिए । पूर्वराष्ट्रपति रामवरण यादव, पूर्व प्रधानमन्त्री केपी ओली लगायत नेताहरूले कराडौं उपचार खर्च लिएको विषय पनि पुरानो भएको छैन । हालसम्म कुनै पनि पार्टीका कुनै पनि नेताहरूले यी निर्णयहरू विरुद्ध औपचारकि धारणा सार्वजनिक गरेका छैनन् । एकातिर गोविन्द केसी मेडिकल शिक्षामा रहेको बेथितिविरुद्ध सत्याग्रहमा छन् । लोकप्रिय मानिएका चर्चित र वाकपटु युवा नेता गगन थापा सरकारका स्वास्थ्य मन्त्री छन् तर यो सरकारले गोविन्द केसीका उचित मागहरूलाई सम्बोधन गर्न त परको कुरा पूर्ववर्ती सरकारहरूले जति पनि कुनै चासो प्रकट नगरेको कुरा डा. केसीले सार्वजनिक गरेका छन् । यी सबै घटनाका पछि को जवाफदेही छ ? के नेताहरूको जातै बदमास हो ?
सबै नीतिहरूको माउनीति राजनीति हो भनिन्छ । राजनीतिले नै राज्य सञ्चालनको बाटो तय गर्ने हो । त्यसैले राजनीति शक्तिशाली हुन्छ । राजनीति शक्तिशाली हुने हुनाले नै यसले सही मूल्य–मान्यताको अनुशरण गर्नुपर्छ भन्ने अपेक्षा गरिन्छ । निश्चित मानवीय मूल्य मान्यताहरूका आधारमा चल्ने राजनीतिक प्रणालीकै अर्को नाम लोकतन्त्र हो । जो शक्तिशाली छ त्यसले मूल्यहरूको अनुशरण गरेन भने त्यहाँ अराजकता फैलन्छ । राजनीतिमा एउटा प्रसिद्ध भनाइ छ शक्ति भ्रष्टतातिर उन्मुख हुन्छ र निरपेक्ष शक्ति निश्चितै रूपले भ्रष्ट हुन्छ (पावर टेन्स् टु करप्ट एन्ड् अब्सोल्युट पावर करप्ट एब्सोल्युट्ली) । त्यसैले शक्तिलाई निरपेक्ष नहोस् भन्नका लागि लोकतान्त्रिक मूल्यको आविष्कार गरिएको हो । लोकतान्त्रिक मूल्य भनेको सर्वसाधारण जनताको हितलाई प्रमुख प्राथमिकता राजनीति गर्नेहरूले दिनु पर्दछ भन्ने नै हो । राजनीति गर्न सबै स्वतन्त्र हुन्छन् तर सबैले दलीय राजनीति गरेर नेतृत्व गर्नु सम्भव हुँदैन । जो राजनीतिमा सक्रिय हुन सक्दैनन् ती जनताको हित राजनीति गर्नेहरूले नीति निर्माण गर्नेहरूले ख्याल गर्नुपर्ने हो । राजनीति मूल नीति भएका कारण यसले जनमुखी नीति तर्जुमा गर्नु पर्दछ । बहुदलीय व्यवस्थाको परिकल्पना नै उपयुक्त नीति बनाउने दललाई जनताले चुन्न पाउन भन्नका लागि गरिएको हो ।
विगत साठी वर्षदेखि नेपालमा हामी अनेक नाममा लोकतन्त्रको अभ्यास गरिरहेका छौं तर यो केबल बादरको हातमा नरिवल जस्तो भएको छ । हुनुपर्ने थियो जनता चाहिँ दाता र नेता जनताको मेन्डेटका कृपा पात्र । लोकतान्त्रिक मान्यताहरूको यसरी व्याख्या र प्रयोग हामीले गर्यौं, जसबाट नेता निरन्तर दाता हुने र जनता निरन्तर नेताका कृपा पात्र हुने अवस्था भइरह्यो । यसका अनेक सामाजिक, आर्थिक, सांस्कृतिक र परम्परित राजनीतिक प्रभावजन्य कारणहरू हुन सक्छन् त्यसबारे छुट्टै अर्को आलेखमा चर्चा गरिनु आवश्यक पर्ला तर यसको परिणति यति नकारात्मक स्वरूपमा प्रकट भएको छ जसको चर्चा यहाँ गर्न खोजिएको छ ।
ठूला भनिने राजनीतिक दलहरूलाई अब कुनै सिद्धान्त, मूल्य, राष्ट्रिय विकासको भावना र त्यागको आवश्यकता छैन । उनीहरूलाई उनका स्थायी कार्यकर्ताहरूले नै भोट हालेर नै पनि उनीहरू सदा ठूला पार्टी भइरहन सक्छन् । ठूला पार्टी भनिने खास गरी काङ्ग्रेस, एमाले, माओवादी र अनेक राप्रपाहरूका स्थायी कार्यकर्ताहरू छन् । स्थायी कार्यकर्ता भनेका को हुन् भने ती पार्टीहरूले आ–आफ्नो पहुँच, साइज र सामर्थ्यअनुसार अनियमित तरिकाले प्रक्रिया पु¥याएर बनाएका राहत तथा निजी स्रोतका शिक्षक तथा तिनका पतिपत्नी र परिवार, ती पार्टीहरूले चलाएका एनजीओहरूमा जागिर खुवाएका व्यक्ति र तिनका पतिपत्नी तथा परिवारका सदस्य, ती पार्टीहरूले गृहमन्त्रालय चलाउँदा बनाइदिएका प्रहरी र तिनका परिवार, नेताको सोर्सबाट बनाइएका अन्य फोर्सका जागिरे र तिनका परिवार आदि इत्यादि । खास पार्टीहरूले ठेक्कापट्टा, तस्करी र हप्ता उठाउने कार्यमा लगाएका अन्डरवर्ल्ड तथा सेमी अन्डर ओल्र्ड प्रणालीका सङ्गठनमा सङ्गठित व्यक्तिहरूको पनि चर्चा हुने गरेको सुनिएकै छ । यी र यस्ता स्थायी कार्यकर्ताका अलावा अहिलेका ठूला भनिने पार्टीहरूसित अर्को एक प्रकारका हामी स्थायी कार्यकर्ता पनि छौं जो खास दललाई राजनीतिक विचार बोकेको एक दल ठान्दैनौं कि आफ्नो थर ठान्छौं । जसरी हामीलाई हाम्रो थर प्यारो छ र त्यसको हामीलाई माया लाग्छ त्यसैगरी हामीलाई एमाले प्यारो छ, हामीलाई कांग्रेस प्यारो छ, हामीलाई माओवादी प्यारो छ र हामीलाई राप्रपा प्यारो छ । हामी हाम्रो थर बदल्ने बारे सोचौंला तर जतिसुकै काम नलाग्ने किन नहोस पार्टी बदल्ने सोच्न सक्दैनौं । हामीलाई गर्व छ आफू पुरानो एमाले भएकोमा । हामीलाई गर्व छ हामी पुरानो काङ्ग्रेस भएकोमा । हामीलाई गर्व छ हामी पुराना मसाल माओवादी वा पञ्च राप्रपा भएकोमा । हामी चिया पसलमा गर्वसाथ यी कुरा गर्छौ र प्रतिष्पर्धा गर्छौ कसको सङ्गठित सदस्यता कति पुरानो ।
भएको त्यही हो आफ्नो स्थायी सदस्य बढाउनमा मात्र पार्टीहरूको ध्यान छ राष्ट्रियताको विषयमा । आफ्नो स्थायी मतदाता अनुयायी बढाउनु मात्र पार्टीहरूको उद्देश्य हो नकि विकास गर्न । अहिले राजनीतिक पार्टीहरूको कामै मुलुकको प्रगति र समृद्धिका लागि नीति बनाउने र कार्यान्वयन गर्ने होइन । उनीहरूको कामै के भएको छ भने कार्यकर्तालाई जागिर खुवाउनु, कार्यकर्तालाई संरक्षण गर्नु, कार्यकर्तालाई ठेक्कापट्टा मिलाउनु र जतिसक्दो अर्थोपार्जन गरेर चुनावमा मत सुरक्षित गर्नु । यसरी हेर्दा हामीले स्पष्ट हुनैपर्छ सांसदहरूलाई आफ्नो सुविधा दोब्बर पार्न कसले उत्प्रेरित गर्यो । निश्चय नै यसमा केबल नेताहरू दोषी होइनन् । यसमा हामी पार्टीका स्थायी कार्यकर्ताहरूको झन् ठूलो भूमिका छ । सुजातालाई ५० लाख उपचार खर्च दिनुमा केवल नेताहरू मात्र दोषी छैनन् । हामी उनीहरूका स्थायी कार्यकर्ताहरू पनि उत्तिकै जिम्मेवार छौं । सबै नेताहरूलाई थाहा छ चुनाव जित्नका लागि के आवश्यक हुन्छ र के हुँदैन । हाम्रो वर्तमान सन्दर्भमा चुनाव जित्नका लागि राष्ट्रियहितमा एउटा पनि काम गर्नुपर्दैन । मैले मेरो एउटा लेखमा पहिले पनि लेखिसकेको छु उदाहरणका लागि यसपालीको बजेटलाई लिन सकिन्छ । मुलुकको आर्थिक वृद्धि शून्य दशमलव सात सात प्रतिशत भएका बेला तलब भत्ता पच्चीसदेखि पाँचसय प्रतिशतसम्म बढाउने सरकारको चासो देश हो कि भोट हो स्पष्ट छ । सरकारलाई थाहा छ देश जहाँसुकै पुगोस् तर चुनाव जित्ने हो भने पढेलेखेका कर्मचारी र तिनका परिवारलाई खुशी पार्नु पहिलो शर्त हो । सांसदहरूलाई थाहा छ देश जहाँसुकै पुगोस तर लाखौं करोडौं पैसा हातमा भयो भने आफ्ना स्थायी कार्यकर्ताहरूको चित्त बुझाएर चुनाव जित्न सकिन्छ । गगन थापाहरूलाई थाहा छ यो देशमा नैतिकता भनेको बोल्ने र बेच्ने कुरा हो । भन्ने कुरा हो भाषण गर्ने कुरा हो । डा. गोविन्द केसी मरेर केही फरक पर्दैन तर मेडिकल लगायत क्षेत्रका माफियाहरूसित पौठे जोरी खेलेर आफ्नो राजनीतिक भविष्य दाउमा लगाउनु हुँदैन । चुनाव जिल्ने भनेको आफ्ना स्थायी समर्थक र माफियाको पैसाले नै हो ।
देशमा कहिल्यै राम्रा काम नभएका होइनन् । कुनै समय राशरण महतले देशमा स्रोतको उचित व्यवस्था र परिचालनको प्रयास नगरेका होइनन् । गोकर्ण विष्टले उर्जाको उन्नयनमा सत्प्रयास नगरेका होइनन् । कुलमान घिसिङनेतृत्वमा ऊर्जामन्त्री जनार्दन अहिले पनि त्यो प्रयासमा लागेकै छन् । बाबुराम भट्टराईले राजस्व सङ्कलनदेखि सहरी विकासमा उल्लेख्य सुधार नगरेका होइनन् । पशुपतिमा नेपाली नै भट्ट पुजारी राख्ने निर्णय मुलुकमा नभएका होइनन् । तर ती कुनै काममाथि हामी खास खास पार्टीका स्थायी कार्यकर्ताले जनता जनार्दनको भूमिकामा न्याय गर्न सक्यौं, सोच्नुपर्ने बेला भएको छ । सधैं थरको रूपमा पार्टीको परिचय बोकिरहने वा सचेत नागरिकको भूमिकामा उभिने, सधैं पार्टीको स्थायी कार्यकर्ता बनिरहने कि विवेकशील नागरिक बन्ने प्रयत्नमा राजनीतिक पूर्वाग्रह÷दुराग्रहबाट माथि उठेर सहीलाई सही गलतलाई गलत भन्ने । हाम्रो यही निर्णयले भोलीको समाजको र राजनीतिको दिशा निर्धारण गर्ला ।
प्रकाशित मितिः ८ मंसिर २०७३, बुधबार २१:४९
साझा बिसौनी ।