कुप्रथाको कहर

आदिमकालदेखि नै मानव समाजमा विभिन्न खालका कुप्रथाहरू स्थापित भए । पहुँचमा हुनेहरूले पहुँच नहुनेहरूलाई संस्कारका नाममा विभेद गरे । त्यसको प्रभाव आजको समाजमा पनि कायमै छ । यस्तै एउटा कुप्रथा हो छाउपडी प्रथा र त्यसले निम्त्याएको विभेद । हरेक महिला महिनावारी हुने नियमित प्रक्रिया हो । जो प्रजनन् प्रणालीसँग पनि अन्तरनिहित हुन्छ । तर त्यही प्रक्रियालाई कुप्रथाको रूपमा स्थापित गरियो । महिनावारी भएका महिलाहरूलाई ‘अछुत’ मानियो । त्यो समयमा घरमा बस्न नहुने रिति बसाइयो । घरदेखि टाढा गोठमा बस्नुपर्ने संस्कार जवरजस्ती स्थापित गरियो । समयक्रमसँगै यो कुप्रथा घट्दै गए पनि पूर्ण रूपमा नष्ट भइसकेको छैन ।

कर्णाली प्रदेशमा आज पनि महिनावारी हुँदा महिलाहरू घरभित्र पस्न नपाउने अवस्था छ । उनीहरू पाँचदेखि सात दिनसम्म अलग्गै छाउगोठमा बस्ने गर्दछन् । महिनावारी हुँदा घरमा बस्न नदिएर महिलाहरूमाथि अत्याचार त भएकै छ त्यसमाथि उनीहरू बस्ने गोठको अवस्था अझ दयनीय र अमानवीय देखिन्छ । घरभन्दा पर जंगलछेउमा सामान्य कटेरो बनाइन्छ । साँघुरो त्यही गोठमा महिलाहरूले छाउ अवधि बिताउनुपर्छ । जहाँ कति जोखिम हुन्छ भने हरेक वर्ष कुनै न कुनै महिलाले छाउगोठमै ज्यान गुमाइरहेका घटनाले पनि पुष्टि गर्दछ । छाउगोठमै निस्सासिएर ज्यान गुमाउनेदेखि सर्पले डसेर र अन्य जंगली जनावरको आक्रमणमा पर्ने गरेका छन् । त्यति मात्र होइन बलात्कारको सिकार हुनुपरेका कयौं घटना छन् । यति हुँदाहुँदै पनि रुढीग्रस्त समाजले यस्तो कुप्रथाको जालो तोड्न सकेको छैन । कायमै राखेको छ ।

छाउगोठविरुद्धका अभियानहरू पनि सञ्चालन नगरिएका होइनन् । २०७६ माघ ८ गते गृह मन्त्रालयले देशभर छाउप्रथा मान्ने जिल्लाहरूमा छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न स्थानीय प्रशासनहरूलाई निर्देशन दियो । सोही अनुरूप कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूमा पनि जिल्ला प्रशासनको अगुवाइमा छाउगोठ भत्काउने अभियान थालियो । प्रदेशभर दुई हजार दुई सयभन्दा बढी छाउगोठहरू भत्काइयो । तर सरकारी निकायबाट सञ्चालित उक्त अभियान सफल हुन सकेन । गोठ त भत्किए, सोच बदलिएन । छाउपडी समाजमा व्याप्त प्रथा अहिले पनि उस्तै छ । छाउगोठ भत्काउने अभियान चलाएपछि गोठ त फालिएको छ । तर, महिनावारी भएका महिलाहरू अहिले पनि गाइगोठ र बाख्राखोरमा बस्न थालेका छन् । महिनावारी भएका बेला घरबाहिर बस्नुपर्ने संस्कारका कारण उनीहरू पछिल्लो समय झनै जोखिममा छन् ।

व्यक्तिहरू शिक्षित बन्दै गएका छन् । गाउँगाउँमा शिक्षाको पहुँच पुगेको छ । आजको प्रविधिको युगले हरेक व्यक्तिलाई विश्वसँग जोडेको छ । तर पनि हाम्रो समाजमा यस्ता कुप्रथाहरू कहर बनेर रहिरहनु राम्रो होइन । यो लज्जाको विषय हो । अभियान अन्तर्गत जबरजस्ती गोठ भत्कायो तर सामाजिक चिन्तन भत्काउन सकिएन । यसले के देखाउँछ भने हरेक व्यक्तिलाई पहिले यो कुप्रथा हो र गलत हो भन्ने शिक्षा दिन सकिदैन तबसम्म बल प्रयोग गरेर चलाइने अभियानले सफलता पाउन सक्दैनन् ।

प्रकाशित मितिः   ४ माघ २०७७, आईतवार १०:२५