छाक टार्न कालापहाडकै भर

1

कपाल सेतै फुलेको । चाउरी परेको अनुहारमा पीडाका धर्साहरू प्रष्ट देखिन्थे । कमजोर शरीर भए पनि धन कमाउने आश बोकेका उनी सुर्खेत बसपार्कमा भेटिए । गाउँमा उत्पादन हुने अन्नले वर्षभरी खान नपुग्ने भएपछि जुम्ला घोडेमहादेवका जयदुन रोकाया छाक टार्ने उपाय खोज्न भारत (कालापहाड) को यात्रामा थिए । ५६ वर्षीय रोकाया पाँच महिनापछि घर फर्कने तयारीसहित भारतको सिमला लागे ।

गाउँका साथीहरूसहित भारत जान लागेका उनले भने, ‘बारीमा उत्पादन हुने अन्नले ६ महिना पनि पुग्दैन, घरमा कमाउने मान्छे छैनन् । कालापहाड नगए परिवार भोकै हुन्छ, यो बुढेसकालमा सकी नसकी भए पनि अर्काको देशमा जानुपरेको छ ।’ वर्षमा दुईपटक मजदुरीका लागि भारत जाँदै आएका उनले थपे, ‘घरमा खेतीको काम सकेर आयौं, अब वैशाखमा बाली भिœयाउन आउने हो ।’ १२ वर्षको कलिलो उमेरदेखि नै कालापहाड जाँदै आएका उनले देउता पुज्ने बेलामा मात्र आफूहरू गाउँ फर्कने गरेको सुनाए । काठमाडौंमा कर्णालीको विकास योजना बने पनि आफूहरू छाक टार्नै मुस्किल भएपछि मजदुरीका लागि भारत जान लागेको उनको भनाइ छ ।

जयदुन रोकाया मात्र होइन, छाक टार्ने उपाय खोज्न यतिबेला मजदुरीका लागि भारत जाने कर्णालीबासीको संख्या उल्लेख्य छ । कर्णाली अञ्चलका सबैजसो जिल्लाबाट मजदुरीका लागि भारत जानेहरूको हिजोआज लर्को नै लागेको छ । कर्णालीमा हिउँदको समयमा काम नहुने भएकाले त्यहाँका अधिकांश बासिन्दा परिवारसहित कालापहाड पस्ने गरेका छन् । मजदुरीका लागि भारत जाँदै गरेका जुम्ला चन्दननाथका ६० वर्षीय लक्ष्मी देवकोटा बसमा चढ्दै थिए । ‘देशमा गणतन्त्र आयो, नयाँ संविधान पनि बन्यो’ उनले भने, ‘हामीलाई भने गाउँमा के खाने ? भन्ने समस्या छ, न रोजगारी छ न त विकास । अब कालापहाड नगएर के गर्नु ? जहानपरिवार पाल्नै प¥यो ।’ नौ जनाको परिवारलाई बारीमा उत्पादन हुने अन्नले नपुग्ने भएपछि उनी पनि गाउँलेसँगै भारततर्फ लागे । सिँचाइ सुविधाको अभाव, कम उत्पादन र गाउँमै रोजगारी नहुँदा कर्णालीबासी मजदुरीका लागि भारतका विभिन्न सहर धाउने गर्दछन् ।

गाउँमा लाहुरेको उपनाम पाएका कर्णालीका पुरुषहरू रोजगारीका लागि मौसम अनुसार भारत जाने गर्दछन् । वर्षातको समयमा धान खेती र हिउँदको समयमा गहुँ तथा जौं लगाएर भारत पस्ने र भिœयाउने बेलामा उनीहरू गाउँ फर्कन्छन् । मुगु मुर्माका धनसिंह बुढा भारत जानकै लागि सुर्खेत बसपार्कमा गाडी कुरेर बसिरहेका थिए । उनले भने, ‘खेतीको काम सकियो, अब घरमा बसेर पनि आम्दानीको अर्को उपाय छैन । पाँच महिनासम्म भारतमा मजदुरी गर्नुपर्ला, त्यतिबेलासम्म गाउँमा बाली भिœयाउने समय हुन्छ ।’ वीरेन्द्रनगर बसपार्कमा हिजोआज मजदुरीका लागि भारत जान लागेका कर्णालीबासीको घुइँचो नै छ । कर्णालीका जिल्लाबाट हिजोआज दैनिक दुई सय भन्दाबढी पुरुषहरू कमाउनकै लागि भारततर्फ गइरहेका छन् । हिउँदको समयमा कर्णालीका जिल्लाहरूमा हिउँ पर्ने र विद्यालयहरू पनि बन्द हुने भएकाले बालबालिकाहरू पनि अभिभावकसँगै भारत जान थालेका छन् । परिवारसहित भारत जान लागेकी जुम्ला सिंजाकी जैसरा रावतले भनिन्, ‘पहिला भेडा पाल्थ्यौं, भेडाले नै सुर्खेतबाट चामल र नुन बोक्थे । घरखर्च चलेकै थियो, अहिले गाउँमा गाडी पुगेपछि भेडा पाल्न छोडियो ।’ गाउँमा जति दुःख गरे पनि खान नपुग्ने उनको भनाइ छ ।

उमेर ढल्कदैं जाँदा भारतको सिमला र गडवाल पुगेर कमाउन पनि त्यति सहज छैन । कर्णालीमा विकास र रोजगारी नहुँदा बालबालिकादेखि वृद्धवृद्धासमेत कमाउन कालापहाड गइरहेका छन् । पुरुषहरू कमाउन भारत लागेपछि हिउँदमा गाउँमा महिला र बालबालिका मात्र रहने मुगुका हस्त शाहीले बताए । शाहीले थपे, ‘गाउँमा रोजगारी छैन, घरमै बस्दा वर्षभरी खान पुग्दैन । अब भारतमा कमाउन नगए कसरी बालबच्चा पाल्ने ? आफूहरू कालापहाड पस्नु बाध्यता भन्दै उनले राज्यले कर्णालीलाई उपेक्षा गरेको आरोप लगाए । विकासको नाममा गाउँमा डोजर लगाउने प्रवृत्तिले पनि आफूहरूलाई कालापहाड जानुपर्ने बाध्यता आइलागेको कर्णालीबासीको गुनासो छ । ‘गाउँमा डोजर लाउन थाले, हामीले काम पाउने कुरै भएन’ जुम्ला पटमाराका हर्कबहादुर बुढाले भने, ‘पहिला विकास नहुँदा कालापहाड गयौं, अहिले डोजरले काम पाइदैन । हाम्रा दिन त कालापहाड धाउँदै जाने भए, छोराछोरीले पनि सुख पाउँलान् जस्तो लाग्दैन ।’ पेट भर्नकै लागि घर छोड्नुपर्ने बाध्यता रहेको भन्दै उनले राज्यले कर्णालीमा रोजगारी र उत्पादनमा लगानी गर्नुपर्ने आग्रह गरे ।

प्रकाशित मितिः   ८ मंसिर २०७३, बुधबार १२:३०