‘चर्चित गीतकार बन्ने धोको छ’

बाँके बनकटवा गाविस–४ घर भएकी गोमा परियार पिता मानबहादुर परियार र माता जयकला परियारको कोखबाट जन्मिएकी हुन् । बाल्यकालदेखि नै गीत संगीतमा रुची राख्ने उनी ७÷८ कक्षामा पढ्दादेखि नै भावना, गीत, गजलहरू लेख्ने गर्थिन् । उनले लेखेका शब्दका हालसम्म १० वटा गीत बजारमा आइसकेका छन् । उनको भविष्यमा देखेको सपना एउटा चर्चित गीतकार बन्ने रहेको छ । प्रस्तुत छ परियारसँग सहकर्मी गीता थापाले गरेको कुराकानी ः
हिजो आज के मा व्यस्त हुनुहुन्छ ?
पेसाले पत्रकार भएकाले पत्रकारितामा व्यस्त छु । त्यस बाहेक गीत लेख्नमा नै व्यस्त छु ।
तपाईं त एउटा पत्रकार, गीत संगीतको क्षेत्रमा कसरी रुचि गयो ?
म पेसाले पत्रकार भए पनि मेरो बाल्यकालदेखिको रुचि गीत संगीत सुन्ने र जानी नजानी कापीमा शब्दहरू लेख्ने थियो । फेरि पत्रकारिता र कलाकारिता भनेको मेरो विचारमा एक अर्काेको परिपूरक हुन् । म रेडियोकर्मी भएकाले पनि रेडियोमा गीत संगीतसँग बढी नजिक भइन्छ । मेरो बाल्यकालदेखिको संगीतप्रतिको लगावले गर्दा पनि संगीत क्षेत्रमा लाग्न सहज भयो ।
कहिलेदेखि शब्द लेख्न थाल्नुभयो ? 
मलाई सानैदेखि साहित्य मनपर्ने । साहित्यिक रचना गर्न पनि निकै मनपर्छ । ७–८ कक्षा पढ्दादेखि नै म खाली समयमा गीत, गजलहरू लेखेर साथीहरूलाई सुनाउँथे गर्थें । गीत गजल लेखनमा यति धेरै रुचि राख्न थालें की, म बरु परीक्षाको समयमा कहिल्यै रातीको १२ बजेसम्म बसिनँ, तर गीत लेख्न बस्दा १२ बजेको पत्तै पाउँदिन । यसो गीत लेख्छु भनेर कपी कलम अगाडि राख्दा कहिले पनि लेखिँदैन । आफैं–आफैं फुर्छन् शब्दहरू । बाटोमा हिँड्दा—हिँड्दै कहिले काहीं त र कहिले रुमलिल्यका बेला । गीतले भरिएका धेरै डायरी छन् मसँग । स्कुल र क्याम्पसका हरेक नोटको पछाडिको भागमा गीत र गजलमात्रै हुन्थे मेरा । गाउँघरमा हुने सांगीतिक कार्यक्रमका लागि पनि गीत लेखिदिने गर्थें ।
तपाईंले लेखेका गीतमध्ये हालसम्म कति वटा बजारमा आए ?
अहिलेसम्म १० वटा गीतहरू बजारमा आइसकेका छन् । केही बजारमा आउने तयारीमा पनि छन् । म निकै खुशी भएँ दर्शक, स्रोताले राम्रै मन पराउनुभयो । देउता लाहोलापछि मेरो अर्काे गीत २०७० मै ‘बिन्ती छ सान’ बजारमा आयो । त्यसमा पनि स्वर गोपाल नेपाल जीएम र गायिका स्मृती शाहीको रहेको थियो । केशब बडुको लयमा । पछि क्रमशः हे भगवान् धोका नदेउ भन्छु, आत्महत्या गर्छु अबत, तिम्रो जस्तो जवानी छैन कसैको, मात्र तिम्रो कारण, तीजको गीत चुरा बजाउँदै छन्छन् नाडीमा, नक्कली मोरीले र बैंशालु जोवन बजारमा आएका छन् । एक गीतमा मैले थेगो मात्रै लेखे ‘पिरतीमा धोका खाएर, हरेक पल रुदैछु म, टाढा हुँदैछु निस्ठुरी तिमीसँग माया लाएर’ यसरी मेरा गीतहरू बजारमा आए अहिलेसम्म सबै गीतलाई माया गरिदिनु भएको छ ।
गीत लेखेर बाँच्न सकिन्छ त ?
म सधैं भन्ने गर्छु । कि पत्रकारिता मेरो पेसा हो र कलाकारिता क्षेत्र मेरो सपना हो । कलाकारिता क्षेत्रलाई पेसा बनाएर अगाडि बढ्न त निकै गाह्रो छ । कलाकारिता क्षेत्रमा लाग्नुभएका धेरै कलाकार साथीहरू कलाकारिता क्षेत्रमा मात्र सीमित हुनु हुन्न जहाँसम्म मलाई लाग्छ । अन्य पेसा गर्ने र कलाकारिता लाग्नेहरू धेरै हुनुहुन्छ । नढाँटेर भन्नुपर्दा मैले यी गीत लेखे वापत एक रूपैयाँ पनि पाएकी र लिएकी छैन । कति साथीले पैसा दिने कुरा गर्नुहुन्छ । अनि बिर्सनुहुन्छ । म आफैं माग्दिन । सोच्छु पैसा भन्दा पनि मेरो शब्दले ठाउँ पाउँन् । मेरो रुची पूरा होस् ।
कस्ता खालका शब्द लेख्नु हुन्छ ?
मैले हालसम्म लेखेका र बजारमा आएका गीतहरू त सबै लोकदोहोरी नै छन् । तर, म आधुनिक गीतहरू पनि लेख्ने गर्छु । पहिला म आधुनिक गीत नै बढी लेख्ने गर्थे । तर, पछि गजल, भावना लेख्दालेख्दै कसरी लोकदोहोरी गीत लेख्न पुगे आफैलाई थाहा छैन । म गीत यो लेख्छु त्यो लेख्छु भनेर लैख्दैन कापीमा लेख्दा लेख्दै गीत भइदिन्छ ।
भावी योजना के छ ?
मेरो भावी योजना भनेको मुख्य त पत्रकारिता क्षेत्रलाई अगाडि बढाउने हो । र कलाकारिता क्षेत्रमा गीतकार गोमा परियार भनेर चिनिने सपना छ । गीत लेखन क्षेत्रमा धेरै चर्चित गीतकार बन्ने धोको छ ।
प्रकाशित मितिः   ६ चैत्र २०७२, शनिबार १०:४६