हिमाली जिल्लामा हिमपात

किसान हर्षित, जनजीवन कष्टकर



कर्णालीका हिमाली जिल्लामा वर्षासँगै हिमपात भएको छ । हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालीकोटमा सोमवार बिहान हिमपात भएको हो । यो वर्ष जुम्लामा दोस्रो पटक हिमपात भएको हो । गत मंसिर २ गते पनि हिउँ परेको थियो । वर्षासँगै हिमपात भएपछि जनजीवन कष्टकर भएको छ । तर, किसानहरू भने खुसी भएका छन् । हिमपातले हिउँदेबाली सप्रने आशा उनीहरूले गरेका छन् । स्याउ काँटछाट र बगैंचा व्यवस्थापन भइरहेका बेला वर्षासँगै हिमपात भएपछि किसानहरू हर्षित भएका हुन् ।

‘हिमपात भएपछि गहुँ, जौं लगायतका हिउँदेबाली सप्रने आशा पलाएको छ,’ तातोपानी–७ का कृषक हरि कुँवरले भने । ओखर, स्याउ र आरूजस्ता विरूवाका लागि पनि यस पटकको हिमपात लाभदायक हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय इकाई स्याउ सुपरजोन जुम्लाका प्रमुख नवराज भण्डारीले बताए । हिउँदको समयमा पटक–पटक हिमपात र वर्षा हुनु कृषकका लागि फाईदा हुने उनी बताउँछन् । ‘बेला–बेला हिमपात भयो भने स्याउ, ओखर र हिउँदेबालीको लागि सिँचाइ पुग्छ । तर पर्याप्त वर्षा र हिमपात हुनुपर्छ,’ उनले भने ।

जुम्ला सदरमुकाम खलंगामा कमै हिमपात भएपनि उच्च लेकाली क्षेत्रमा बढी हिउँपर्दा भेडिगोठालालाई भने सकस भएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालयकाअनुसार नेपालमा सबैभन्दा बढी भेडा पालन हुने जिल्ला जुम्ला हो । वनक्षेत्र हिउँले ढाकिएपछि भेडाबाख्रालाई चरन क्षेत्रको अभाव भएको छ । हिउँ परेपछि हिउँदे बाली सप्रने भएकाले कृषकहरू खुसी भए पनि गाईवस्तु चराउन, घाँसदाउरा ल्याउन कठिनाइ हुने गरेको स्थानीयले बताएका छन् । उच्च पहाडी तथा लेकाली भेकमा हिमपात र वर्षाले चिसो अत्यधिक बढेको छ । चिसोका कारण स्थानीयबासी घर बाहिर निस्कन सकेका छैनन् । हिमपातका कारण एक गाउँबाट अर्को गाउँमा आउजाउ गर्न समस्या भएको छ । बाक्लो हिमपातले हिमाली जिल्लामा हवाइ सेवासमेत अवरुद्ध भएको छ ।

प्रकाशित मितिः   २१ पुष २०७७, मंगलवार १२:३५