‘विमानस्थल विकासमा दिगो सोच भएन’
सुर्खेत विमानस्थलको विस्तार र स्तरोन्नतिको काम थालिएको छ । संघीय र प्रदेश सरकारको सहकार्यमा विकास र स्तरोन्नति गर्न लागिएको विमानस्थलको लगत संकलनको काम स्थानीयको विरोधका कारण बीचमै अवरुद्ध भएको छ । सरकारले २०२१ सालदेखि २०६६ सालसम्म विमानस्थल विस्तारका लागि चार पटक जमिन अधिग्रहण गरिसकेको छ । यस पटक पनि ३० विघा जमिन अधिग्रहण गरिने बताइएको छ । यसरी गरिने विकासले दीर्घकालीन समाधान नदिने भन्दै यसलाई रोक्नका लागि संघर्ष समिति नै गठन गरिएको छ । सरकारले थालेको विकासको काम स्थानीयले किन रोके ? प्रभावित क्षेत्रका नागरिकका माग के हुन् ? अवरुद्ध गर्नुको कारण के हो ? उनीहरूका अपेक्षा के छन् ? अब विवाद कसरी समाधान होला ? लगायतका विषयमा हाम्रा सहकर्मी सीता वलीले नागरिक सरोकार समितिका संयोजक टिकाराम आचार्यसँग गरेको संवादः
- विमानस्थल विस्तारको प्रक्रिया अवरुद्ध भएको छ । तपाईंहरूको आपत्ति किन ?
सुर्खेत विमानस्थल विस्तार हुनुहुन्न भन्ने प्रभावित क्षेत्र अर्थात् वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ र वडा नं. १० का नागरिकको भनाइ हो । कुनै पनि हालतमा यो विमानस्थल अन्यत्र सारिनुपर्छ र कम्तीमा ५० वर्षको दिगो सोच राखेर विमानस्थल बनाइनुपर्छ । यस्तो खालको दीर्घकालीन योजना सरकारले ल्याउनुपर्छ । विकल्प हामी दिन सक्छांैं । जनतालाई मुआब्जा दिने रकमले नयाँ विमानस्थल निर्माण गर्न पुग्ने अनुमान हामीले लगाएका छौं । यो विमानस्थल पटक–पटक विस्तार हुँदा पनि सेवा विस्तार भएन । यस्तो अवस्था हामीले कहिलेसम्म भोगिरहने ? ठूला विमान नआउने र दिगो सोच नभएका कारण यसमा हाम्रो आपत्ति हो । हामीलाई प्राविधिकहरूले यो विमानस्थल प्राविधिक हिसाबले अनुकूल नभएको र अझै विस्तार गर्दैमा मात्र समस्या समाधान नहुने बताउनु भएको छ । फेरि उही अवस्था रहने भए बस्ती नै हटाएर किन विस्तार गर्ने भन्ने हाम्रो तर्क हो ? यही प्रश्न हामीले सरकारी अधिकारी र सरोकारवाला निकायलाई राखेका हौं ।
- विस्तारको काम थालनी भइसकेपछि मात्रै तपाईंहरूले विरोध गर्न सुरू गर्नुभयो नि ?
प्रभावित क्षेत्रका बासिन्दालाई विमानस्थल विस्तारको काम सुरू हुनुभन्दा पहिले आधिकारिक रूपमा कुनै पनि सूचना र समन्वय भएको थिएन । हल्लाकै आधारमा हामीहरूले चासो दिएका हौं । धेरै निकायसँग यस विषयमा कुरा पनि राखेका थियौं । तर त्यसको सुनुवाइ भएन । जब पुस ९ गते प्रभावित क्षेत्रमा लगत संकलनका लागि वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ र १० लाई नागरिक उड्डयन कार्यालय सुर्खेतले पत्र पठायो त्यसपछि हामीले आधिकारिक रूपमा आफूहरू प्रभावित क्षेत्रमा परेको थाहा पायौं । तत्काल प्रभावित क्षेत्रका नागरिक र जनप्रतिनिधिको भेला गरी एउटा नागरिक सरोकार समिति गठन ग¥यौं । भेलाले मलाई संयोजकको जिम्मेवारी दिएको छ । उक्त भलाको आयोजना अमरज्योति माध्यमिक विद्यालयले गरेको थियो । जुन विद्यालय पनि प्रभावित क्षेत्रमा पर्छ । सुरूमा हामीले असहमति रहेको विज्ञप्ती जारी ग¥यौं । विमानस्थल विस्तारको दिगो सोच नभएकाले यो कार्य तत्काल रोक्नुपर्ने हाम्रो माग थियो । हामीले असहमति जनाएकै कारण अहिले लगत संकलनको काम रोकिएको छ ।
- तपाईं स्थानीय पनि हुनुहुन्छ । सुर्खेत विमानस्थल कति पटकसम्म विस्तार भइसकेको छ ? उचित मुआब्जा दिइने भनिरहँदा पनि प्रभावित क्षेत्रका बासिन्दाको असन्तुष्ट चाहिँ किन ?
मेरो जानकारीमा भएसम्म सुर्खेत विमानस्थल यसअघि चार पटक विस्तार भइसकेको छ । त्यस्तै २०२१÷०२२ सालतिर यसको निर्माण भएको हो । जुनबेला कुनै पनि नागरिकलाई एक रूपैयाँ पनि मुआब्जा नदिएरै सरकारले जमिन अधिग्रहण गरेको थियो । जसमा मेरो जमिन पनि परेको हो । त्यो समयमा झण्डै २७÷२८ विगाहा जति जमिन सरकारले विमानस्थलका लागि भनेर नागरिकहरूबाट लियो । त्यसपछि दोस्रो पटक २०३४ सालमा फेरि पनि विमानस्थल विस्तार गरियो । त्यो बेलामा भने कतिपयले मुआब्जा पाए । चलनचल्तीको जग्गाको मूल्य भने जनताले पाएनन् । त्यसबेला कति जमिन अधिग्रहणमा प¥र्यो त्यसको यकिन जानकारी मलाई भएन । तर मुआब्जा भने जनताले कमै पाएको गुनासो अहिले पनि सुनिन्छ ।
तेस्रो पटक २०६० सालमा नेपाली सेनाका लागि भन्दै नेवारेकै बस्ती विस्थापित गरियो र २०६६ सालमा तीन सय मिटर रनवे विस्तारको लागि सरकारले पुनः जमिन अधिग्रहण ग¥यो । सरकारले जति पटक जमिन अधिग्रहण गरे पनि उचित मूल्याङ्कन भने हुन सकेको छैन । जग्गा र भौतिक संरचनामा जनताको करोडौंको लगानी छ । तर सरकारले न्यून मूल्याङ्कन गर्दा प्रभावित क्षेत्रका बासिन्दा निकै मारमा पर्दै आएका छन् ।
- अहिले प्रभावित क्षेत्रमा सरकारी, गैरसरकारी र निजी गरी के–कति संरचना होलान् ?
हामीहरूलाई नागरिक उड्डयन कार्यालयले विमानस्थल विस्तारका लागि दिएको जानकारी अनुसार करिब पाँच सय घरधुरी प्रभावित हुने देखिएको छ । त्यस्तै एउटा सामुदायिक विद्यालय, दुई वटा निजी विद्यालय, एक सहकारी छन् । यी संस्थाका आफ्नै भवन छन् । एक मानव सेवा आश्रम र धेरै निजी संघ–संस्थाहरू यहाँ छन् । जो भाडामा बसेर काम गरिरहेका छन् । यसरी जनताको खुन पसिना बगेका संरचनाहरू समन्वय नै नगरी भत्काउने तयारी गरेपछि जनताले मान्ने कुरा पनि भएन । अर्को कुरा पटक–पटक एउटै बस्तीलाई तहसनहस बनाउने र त्रासैत्रासमा बस्नुपर्ने बाध्यता छ । कतिबेला सरकारले उठ भन्छ भन्ने त्रास यहाँका नागरिकलाई छ । २०२१ सालतिर उत्तरी जलाधार क्षेत्र निर्माणका क्रममा हालको पृतनाभन्दा माथि जंगलमा बसेको बस्ती विस्थापित भइ नेवारेमा छ । यही बस्तीलाई अहिलेसम्म विमानस्थलका नाममा चार पटकसम्म सरकारले विस्थापित गरेको छ ।
- विमानस्थल विस्तार गर्ने निर्णयबाट सरकार पछि हटेन भने तपाईंहरूले के गर्नुहुन्छ ?
यस्तो बेला विमानस्थल बनाउने कसका लागि हो ? भन्ने प्रश्न जमिन्छ । आखिर विकास त जनताकै लागि गर्ने होला । यो भनिरहँदा हामीलाई विकास विरोधी नठानियोस् । हामी विकासका पक्षपाती हौं । विकास चाहन्छौं । जनतालाई जब आवश्यकता नै छैन भने त्यो विकासले के अर्थ राख्छ ? हामीलाई विमानस्थल नचाहिएको पनि होइन । तर सबैलाई पायक पर्ने स्थान र वर्षौं प्रयोगमा आउने गरी विमानस्थलको विस्तार, विकास र स्तरोन्नति होस् भन्ने मात्र हाम्रो चाहना हो । विस्तारका नाममा गरिने राज्यको लगानी बच्ने गरी नयाँ विकल्पको खोजी गर्नु जरुरी छ । वीरेन्द्रनगरको विकास स्वाभाविक रूपमा हुन्छ । अर्को कुरा कुनै पनि ठाउँमा यसरी बजारको बीच क्षेत्रमा विमानस्थल निर्माण भएको हामीले देखेका छैनौं । सुर्खेत विमानस्थललाई पनि अन्यत्र स्थानमा निर्माण गर्न सकियो भने त्यो क्षेत्रको पनि विकास हुन्छ र दीर्घकालीन महŒव रहन्छ । बस्ती उठाउनु पर्दैन, संरचनासमेत मास्नु पर्दैन ।
त्यसैले सरोकारवाला निकायले दिगो सोच राखी नयाँ विकल्पको खोजी गर्नुपर्छ । यदि सरकारले पनि आफ्नो अडान नछोड्ने हो भने हामीहरू पनि आफ्नो अडान कायमै राख्छौं । यदि प्राविधिक रूपमा यही क्षेत्र नै विस्तारका लागि उपयुक्त भयो र आगामी दिनमा फेरि विस्तारको नाममा बस्ती नउठाउने शर्तमा आधिकारिक सहमति भए सोच्न सकिन्छ । उचित मुआब्जा नागरिकले पाउने ग्यारेण्टी गरिनुपर्छ ।
अर्को कुरा सरकारले बस्तीका लागि उचित क्षेत्रको खोजी गरी व्यवस्थापन गरीदिनुपर्छ । अमरज्योति माध्यमिक विद्यालय वीरेन्द्रनगर–१२ का जनताको रगत र पसिना छ । अनि आफूहरूले रगत पसिना बगाएको विद्यालय अन्य क्षेत्रमा लैजान यहाँका जनताले कदापी दिँदैनन् । सरकारले नै उचित स्थानको खोजी गरिदिनुपर्छ । र अन्य संरचनासमेत अन्यत्र सार्न मुस्किल छ । यही वडामै उपयुक्त क्षेत्रमा सरकारले जमिन खोजी व्यवस्थापन गरिदिनुपर्छ ।
- तपाईंहरूलाई विकास विरोधी र राजनीतिक स्वार्थले प्रेरित भएको भन्ने आरोप पनि छ नि ?
कसले कसरी विरोध गर्छ र कसरी मूल्याङ्कन गर्छ त्यो तपसिलको कुरा भयो । तर जति पीडा र त्रास प्रभावित क्षेत्रका बासिन्दालाई छ त्यो अनुभूति अरुले गर्न सक्दैनन् । पटक–पटक विस्थापित भइसकेका नागरिकलाई त्यो पीडा छ । हल्लाको पछाडि लाग्नेलाई छैन । हामी विकास विरोधी होइन र कुनै राजनीतिक आग्रह पूर्वाग्रह पनि राखेका छैनांै । नागरिक सरोकार समितिमा सबै राजनीतिक दलमा आस्था राख्ने व्यक्तिहरू हुनुहुन्छ । सबै पेसा, प्रभावित क्षेत्र र सबै राजनीतिक दलमा आवद्धको आवाज हो यो । यो व्यक्तिगत रूपमा टीकाराम आचार्यले गरेको विरोध होइन । जनताको हितसँग सम्बन्धित भएर गरिएको विरोध र असहमति हो । यसमा सम्बन्धित निकायले ध्यान दिनुपर्छ ।
- विमानस्थल विस्तारमा प्रभावित क्षेत्रका नागरिकहरूको अपेक्षा के हुन् ?
विमानस्थल जनताको इच्छा विपरीत विस्तार गरिनु हुँदैन । विकास जनताकै लागि हो । विकास गर्दा विनाश अवश्य पनि हुन्छ । यो नियम हामीले पनि बुझेकै छौं । तर यहाँका जनताले विकाससँगसँगै सास्ती समेत भोग्दै आएका छन् । त्यो पनि बारम्बार । अर्को कुरा यो विमानस्थल विस्तार भयो भने यो क्षेत्र अपायक पर्छ । यसले पनि नागरिकमा समस्या निम्त्याउँछ । पटक–पटक विस्तार गर्नुपर्ने हो भने किन यही स्थानमा विमानस्थल चाहियो ? नयाँ स्थानको खोजी गरौं भन्ने हाम्रो भनाइ हो । म प्रभावित क्षेत्रका बासिन्दाको तर्फबाट सरोकारवाला निकायलाई यही आग्रह गर्न चाहन्छु । जनतालाई पटक–पटक मुआब्जा दिने रकमले नयाँ विमानस्थल बनाऔं । यसरी मात्रै दीर्घकालीन समस्या समाधान हुन्छ भन्ने नै यहाँका नागरिकको भनाइ हो ।
प्रकाशित मितिः १६ पुष २०७७, बिहीबार ०९:४६
साझा बिसौनी ।