वैकल्पिक सिकाई केन्द्रका लागि सुर्खेत छनौट
बिसौनी संवाददाता
काठमाडौं, २ वैशाख ।
औपचारिक शिक्षामा प्रवेश हुन नसकेका विभिन्न लक्षित समुदायका बालबालिकालाई यसवर्ष वैकल्पिक सिकाइ केन्द्रमा पनि अध्यापन गराइने भएको छ । यसका लागि छनौट भएका २१ जिल्लामध्य सुर्खेत पनि परेको छ ।
सरकारले एक दशक अघिदेखि हरेक शैक्षिक सत्रमा विद्यार्र्थी भर्ना तथा विद्यालय स्वागत कार्यक्रम सञ्चालन गर्दा पनि केही जिल्लामा भर्नादर औसतभन्दा कम भएपछि वैकल्पिक व्यवस्था गरेको हो । शिक्षा मन्त्रालयले अनिवार्य शिक्षा लागू भएका २१
जिल्लामा सो केन्द्र स्थापना गर्न यसवर्ष प्रतिकेन्द्र २८ हजार बजेट विनियोजन गरेको छ । शैक्षिक तथ्याङ्क २०७१ अनुसार प्राथमिक विद्यालय तहमा प्राथमिक उमेर समूह (५–९) वर्षको विद्यार्थीको खुद भर्नाको अवस्था ९६.२ प्रतिशत छ । २१ जिल्लामा सो प्रतिशतभन्दा कम भर्नादर छ । आधारभूत तह खुदभर्ना दर राष्ट्रिय औसत ८७.६% (छात्र ८७.७ %, छात्रा ८७.६ %) छ ।
विविध कारणवश औपचारिक शिक्षा लिन नभ्याएका प्राथमिक तहको उमेर काटिसकेकालाई अनौपचारिक शिक्षामार्फत् पढ्न चाहनेका लागि स्थापित गरिने यी केन्द्रमा पढाइ हुन्छ । केन्द्रमा ६ देखि १४ वर्ष उमेर समूहका विद्यार्थी हुनेछन् । शिक्षा विभागका निर्र्देशक बैकुण्ठ अर्यालका अनुसार ती केन्द्रमा योग्यता तोकिएका सहजकर्ताले छोटो अवधिमा शिक्षा दिने जानकारी दिए ।
यसवर्षको ‘अनिवार्य शिक्षाको लागि विद्यार्र्थी भर्ना तथा विद्यालय स्वागत तथा विद्यार्र्थी टिकाउ र सिकाइ उपलब्धिमा सुधार कार्यक्रम’ अन्तर्गत सुर्खेत, बर्दिया, डोल्पा, जाजरकोट, हुम्ला, डोल्पा लगायतका २१ जिल्ला छनौट गरिएको छ ।
विगत वर्षमा झैं यस वर्ष पनि सरकारले अनिवार्य शिक्षाका लागि विद्यार्थी भर्ना, विद्यालय स्वागत तथा विद्यार्थी टिकाउ र सिकाइ उपलब्धिमा सुधार कार्यक्रम सञ्चालन गर्न यस वर्ष ‘हामी सबको इच्छा, सर्वसुलभ विद्यालय शिक्षा’ नारा तय गरेको छ । अभियानअन्तर्गत २०७३ वैशाख २ देखि १४ गतेसम्म चेतनामूलक र प्रचारात्मक तथा वैशाख १५ गतेदेखि ३० गतेसम्म घरदैलो कार्यक्रम हुनेछ । अभियानका क्रममा इँटाभट्टा तथा औद्योगिक क्षेत्रमा कार्यरत श्रमिकका बालबालिका र तीनका अभिभावकसँग अन्तक्र्रिया हुनेछ ।
अभियानले ५ देखि १२ वर्षसम्मका सबै बालबालिकालाई यसको लक्षित समूह बनाउनेछ । सबैका लागि शिक्षामा पहुँच सुनिश्चितताका लागि नियमित विद्यालय, खुला विद्यालय, वैकल्पिक विद्यालय, वैकल्पिक सिकाइ केन्द्र, सामुदायिक अध्ययन केन्द्र सञ्चालनमा छन् ।
साझा बिसौनी संवाददाता ।