जनतामा निराशा

नेपालको राजनीति अनपेक्षित घटनाको संयोग बन्दै आएको छ । परिवर्तनको गति त तीव्र छ तर त्यसको संस्थागत हुन सकिरहेको छैन । पछिल्लो सात दशककै बीचमा ठूलाठूला राजनीतिक घटनाक्रम भए । व्यवस्था बदलिए । जसलाई राजनीतिक क्रान्तिका रूपमा समेत व्याख्या गर्ने गरिएको छ । राणाविरुद्धको आन्दोलनले बदलेको व्यवस्था होस् या पञ्चायतविरुद्धको, बहुदल स्थापना वा लोकतन्त्र ल्याउनका लागि गरिएका जनआन्दोलन नेपाली राजनीतिक इतिहासका महŒवपूर्ण घटना हुन् । जसको प्रभाव केवल राजनीतिक अर्थमा मात्र नभइ नागरिकको जनजीवनदेखि शासन व्यवस्थासम्म प्रत्यक्ष परेको छ । यहीबीचमा दश वर्ष लामो सशस्त्र युद्ध पनि मुलुकले बेहोरेको छ ।

सात दशकको यो छोटो समयमा नै यति धेरै परिवर्तन हुनु आफैमा अनपेक्षित छ । उल्लेखित परिवर्तनको बलमा मुलुकले जनप्रतिनिधिमार्फत संविधान लेख्ने अवसर प्राप्त ग¥यो । २०७२ सालमा नयाँ संविधान बन्यो । संविधानले संघीय व्यवस्थालाई अंगिकार ग¥यो । सोही अनुसार मुलुकमा अहिले संघीय शासन व्यवस्था छ । तीन तहका सरकार बनेका छन् । ती जनप्रतिनिधिको नेतृत्वमा छन् । नयाँ व्यवस्था अनुसार नै निर्वाचन भए । जसमार्फत नागरिकले आफ्नो जनमत दिए । सोही जनमतका आधारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संघीयसहित प्रदेश र धेरै स्थानीय तहमा आफ्नो सरकार बनायो । नागरिक मतमार्फत एक दलले बहुमत पाएपछि मुलुकमा राजनीतिक स्थायित्व हुने अपेक्षा आम रूपमा गरिएको थियो । अब राजनीतिक परिवर्तनका लागि लड्नुपर्ने अवस्था थिएन । बरु आर्थिक विकासका लागि गर्नुपर्ने काम धेरै थियो । तर नागरिक अपेक्षा अनुसार मुलुक अघि बढिरहेको छैन । निर्वाचनमार्फत प्राप्त जनमतका आधारमा सरकार बनेको तीन वर्ष नबित्दै मुलुक अर्को संकटको सन्निकटमा आइपुगेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिमार्फत संघीय संसद् अर्थात् प्रतिनिधिसभा विघटन गरिएको छ । यसले मुलुकलाई नयाँ मोडमा ल्याइपु¥याएको छ ।

सरकारको नेतृत्व गरिरहेको नेकपाभित्रको अन्तरकलहको प्रभाव प्रतिनिधिसभामा परेको छ । संसद् विघटनको विषय अहिले अदालतमा छ । जसमाथि बहस भइरहेको छ । अदालतको फैसला आउने नै छ । यद्यपि विकसित घटनाक्रमले आम नागरिक भने निराश बनेका छन् । जनताका नजरमा राजनीतिज्ञहरू फेरि एक पटक असफल सावित भएका छन् । राजनीतिको अस्वस्थ खेलमा जनताको अभिमतको अपमान भएको ठानिएको छ । नेताहरूले जनताकाबीचमा राजनीतिक खास जोगाउन नसकेका हुन् । नेकपाभित्रको आन्तरिक कलहले मुलुक ठूलै घनचक्करमा फसेको छ । तीन वर्ष अघि निर्वाचन हुँदा जनताले अब देशमा स्थायित्व, शान्ति, सुशासन, विकास र समृद्धि हुने अपेक्षा गरेका थिए । त्यो पूरा हुन सकेन ।

यतिबेला देश कोरोना महामारीको कहरसँग जुधिरहेको छ । यहीबेला लाखौं नागरिकले रोजगारी गुमाएका छन् । मुलुक आर्थिक संकटको चपेटामा छ । यस्तो परिस्थितिमा राजनीतिले अर्कै बाटो समाएको छ । राजनीतिक बेइमानी र धोकाको बारम्बार साक्षी बन्दै आएका जनतालाई बदलिँदो राजनीतिक घटनाले उत्साहित बनाउन सकेको छैन ।

प्रकाशित मितिः   १३ पुष २०७७, सोमबार ०९:३१