‘कर्णालीलाई खेलकुदबाटै चिनाउने हो’

साझा संवाद


जिल्ला खेलकुद संघ सुर्खेतका उपाध्यक्ष प्रमोद हमाललाई कर्णाली प्रदेश सरकारले प्रदेश खेलकुद परिषद्को उपाध्यक्ष पदमा नियुक्त गरेको छ । खेल क्षेत्रकोे लामो अनुभव बटुलेका हमालले वीरेन्द्रनगरस्थित फिटनेश सेन्टर समेत सञ्चालन गर्दै आएका छन् । विभिन्न समयमा जिल्ला, क्षेत्रीय हुँदै राष्ट्रियस्तरका खेलकुद प्रतियोगितामा सहभागी भइ थुप्रै मेडलसमेत प्राप्त गरेका हमाल वि.सं. २०४२ सालदेखि नै खेलक्षेत्रमा होमिएका हुन् । हमालले राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत रही फुटबल प्रशिक्षकको रूपमा काम गरिसकेका छन् । कर्णाली खेलकुद परिषद् गठन भएसँगै खेलक्षेत्रको विकासमा पर्ने प्रभाव, सम्भावना र चुनौतीको विषयमा नवनियुक्त उपाध्यक्ष हमालसँग हाम्रा सहकर्मी सीता वलीले गरेको कुराकानीः

प्रमोद हमाल

 

  • कर्णाली प्रदेश खेलकुद परिषद्को उपाध्यक्षमा नियुक्त हुनु भएको छ । कस्तो अनुभूति भइरहेको छ ?

विगत एकवर्षदेखि गठनको प्रक्रिया थालिएको परिषद्ले भर्खरै पदाधिकारी पाएको छ । खेलकुद परिषद् ढिलै भए पनि गठन भएको छ । हामी खेल क्षेत्रमा लागि रहेकालाई यसले खुशी नदिने कुरै भएन । प्रदेश सरकारले मलाई विश्वास गरेर परिषद्को उपाध्यक्षको जिम्मेवारी दिएको छ । म जसको सवाल उसैको नेतृत्व हुनुपर्छ तबमात्रै सम्बन्धित क्षेत्रले न्याय पाउँछ भन्ने मान्यतामा विश्वास गर्छु । मैले धेरै लामो समय खेल क्षेत्रमा बिताएको छु । त्यो अनुभवले परिषद्मा रहेर काम गर्न पक्कै सहज हुनेछ । त्यसैले मलाई खेलक्षेत्रका सम्भावना र पीडा राम्रोसँग थाहा छ । सरकारले दिएको जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्ने छु ।

  • कर्णालीको खेलकुद विकासमा तपाईंहरूको भूमिका के रहन्छ ?

हाम्रो पहिलो र मुख्य एजेण्डा भनेकै कर्णालीमा दशांै राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गराउने हो । त्यसका लागि आवश्यक पूर्वाधारको विकास, प्रदेशका दशवटै जिल्लाहरूमा खेलाडी उत्पादन गर्नुका साथै प्रशिक्षकहरू समेत तयार गर्ने काम हुनेछ । कर्णाली अब खेलकुदबाट चिनिनुपर्छ । त्यसका लागि मौखिक प्रतिबद्धताभन्दा पनि खेलक्षेत्रका लागि आवश्यक सम्पूर्ण पूर्वाधार विकास नै महत्वपूर्ण पक्ष हो ।

  • खेलक्षेत्रको विकासका लागि तत्काल के कस्ता संरचना आवश्यक देख्नुहुन्छ ?

अहिले जीर्ण अवस्थामा रहेको सुर्खेतको रंगशालालाई राष्ट्रियस्तरको रंगशालाको रूपमा विकास गर्न जरुरी छ । यो सुर्खेत जिल्लाको मात्र रंगशाला होइन, प्रदेश राजधानीको रंगशाला हो । यसलाई सोही अनुसार स्तरोन्नति आवश्यक छ । त्यस्तै, स्टेडिम, व्यक्तिगत खेल (कराँते, तेक्वान्दो, बक्सिङ्ग, उस्सु) लगायतका खेलका लागि मल्टी कवर्डहलको समेत यहाँ आवश्यकता छ । भलिबल खेलाडीहरू अहिले धुलो उड्ने चौरमा खेल्न बाध्य छन् । त्यसको लागि समेत सबै जिल्लामा कम्तीमा एउटा व्यवस्थित हल आवश्यक हुन्छ । फुटबल र क्रिकेट लगायतका खेलका लागि राम्रा खेलकुद मैदान छैनन् । खेलकुद क्षेत्रमा हामीले धेरै गर्न बाँकी छ । भौतिक संरचनादेखि तालिम प्रशिक्षणलगायतका थुप्रै काम गर्नुपर्ने छ । प्रदेश राजधानीमा मात्र संरचना भएर पनि भएन । जिल्लास्तरमा खेलकुदका संरचना भएको खण्डमा कर्णालीका खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा राम्रो प्रदर्शन गर्न सक्छन् । त्यो सम्भावना हामीले देखेका छौं ।

  • कर्णालीलाई खेलकुदका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन सरकारले के गर्नुपर्ला ?

मैले अघि नै भनिसके, खासगरी खेलक्षेत्रका संरचना निर्माणमा ध्यान दिनुपर्छ । खेल क्षेत्रमा जति धेरै लगानी भयो त्यसको प्रतिफल सोही अनुसार पाइने हो । कर्णालीको अहिले पनि आफ्नै परिचय छ । त्यसमा पनि खेलकुदको क्षेत्रबाट कर्णालीलाई परिचित गराउनको लागि उच्च पहाडी क्षेत्रमा म्याराथुन दौड प्रतियोगिता र भलिबल प्रतियोगिता आवश्यक छ । जसले कर्णालीको भौगोलिक बनावट, मौसम र सौन्दर्यलाई विश्व सामु पु¥याउनेछ । फेरि पनि यसका लागि आवश्यक पर्ने भनेकै पूर्वाधार विकास नै हो । सरकारले वार्षिक बजेट विनियोजन गर्दा खेलकुदका संरचना निर्माणका लागि उचित व्यवस्था गर्न आवश्यक छ । अर्को कुरा खेलाडीलाई प्रोत्साहन गर्ने र टिकिराख्ने वातावरण सरकारले मिलाउनुपर्छ ।

हाम्रो पहिलो प्राथकिता भनेकै कर्णालीमा दशांै राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गराउने हो । त्यसका लागि आवश्यक पूर्वाधारको विकास, दशवटै जिल्लाहरूमा खेलाडी उत्पादन गर्नुका साथै प्रशिक्षकहरू समेत तयार गर्ने काम हुनेछ । कर्णाली अब खेलकुदबाट चिनिनुपर्छ । त्यसका लागि मौखिक प्रतिवद्धताभन्दा पनि खेल क्षेत्रका लागि आवश्यक पूर्वाधार विकास नै महत्वपूर्ण पक्ष हो ।

  • समग्रमा कर्णाली प्रदेशमा खेल क्षेत्रका चुनौती के–के हुन् ?

खेलक्षेत्रको चुनौती नै आर्थिक समृद्धि नहुनु हो । चाहे त्यो सरकारको होस् वा व्यक्तिको पहिले आर्थिक अवस्था सुध्रिनु पर्छ । खेलक्षेत्रमा लाग्न सहज छैन । खानपिन, पोशाक र खेल सामग्रीमा ठूलो लगानी गर्नुपर्ने हुन्छ । कतिपयले आफैले लगानी गरेर यो क्षेत्रलाई निरन्तरता दिइरहेका छन् । तर खेलक्षेत्रमा लाग्ने सबैको आर्थिक स्थितिले भ्याउँदैन । त्यसैले पनि राम्रा खेलाडीहरू यो क्षेत्रबाट पलायन हुनुपर्ने अवस्था छ । कर्णालीको हकमा सबैभन्दा चुनौती भनेको प्रशिक्षक कै हो । यहाँ ३२ विधाका खेलाडीहरू छन्, प्रशिक्षक भने जम्मा आठ विधाका मात्रै छन् । जसले गर्दा अन्य २४ विधाका खेल ओझेलमा परेका छन् ।

  • खेलक्षेत्रमा भविष्य छैन भन्नेहरू पनि छन् । खेलेरै नाम, दाम कमाइरहेकाहरू पनि थुप्रै छन् । तपाईं खेलुकदको भविष्य कतिको देख्नुुहुन्छ ? खेलाडीलाई खेलक्षेत्रमै आकर्षित गरिराख्न के गर्नुपर्ला ?

महŒवपूर्ण प्रश्न गर्नुभयो । सबैभन्दा पहिले त सरकारले नै खेलाडीहरूको उचित मूल्याङ्कन गर्नुपर्छ । खेलाडी आफू मात्रै बाँचेर हुँदैन, उसको पनि परिवार हुन्छ । पारिवारिक दायित्व निर्वाह गर्नुपर्ने हुन्छ । त्यसैले खेलकुद क्षेत्रलाई व्यावसायिक बनाउनु आजको प्रमुख आवश्यकता हो । म आफैले पनि सुर्खेतमै पहिलो पटक फिटनेश सेन्टर सञ्चालन गरेको छु । समयको परिवर्तनसँगै खेलकुदमा समेत नयाँ प्रविधि भित्रिएको छ । नयाँ सुविधासहित व्यावसायिक रूपमा जानुपर्छ । यसका लागि सरकारले लगानी गर्ने वातावरण सिर्जना गर्नुपर्ने हुन्छ । सरकार आफैले लगानी गर्ने अवस्था छैन भने पनि त्यसका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्न सकिन्छ । जिल्ला, प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको खेलाडीलाई सरकारले उचित मूल्याङ्कन गरी सम्मान र पुरस्कारको व्यवस्था गरिदिनुपर्छ ।

  • खेलक्षेत्रमा विनियोजन भएको बजेट खर्च नभइ फ्रिज जान्छ । यस हिसाबले सरकारले खेल क्षेत्रमा लगानी गर्न खोजेकै जस्तो पनि देखिन्छ । पूर्वाधार निर्माणमा ढिलासुस्ती र उदासीन प्रवृत्ति हटाउन के गर्नुपर्ला ?

यसमा केही सत्यता पनि छ । अघिल्ला वर्षहरूमा कर्णाली प्रदेश सरकार तथा संघीय सरकारले खेल क्षेत्रका पूर्वाधार निर्माणका लागि विनियोजन गरेका बजेटहरू फ्रिज भएकै हुन् । खर्च गर्ने संरचना नहुँदा पनि त्यस्तो समस्या देखिएको हुन सक्छ । अब कर्णाली खेलकुद परिषद् गठन भएको छ । खेलक्षेत्रका सबै बजेट आवश्यक संरचना र पूर्वाधार निर्माण खर्च हुने अपेक्षा छ । कर्णालीमा हुन लागेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीकै खेलाडीले स्वर्णपदक जित्नेगरी खेलाडी उत्पादन गर्ने गरी मैले काम गर्नेछु । त्यसको लागि विभिन्न पूर्वाधार निर्माणको पहल गरिनेछ ।

  • खेल क्षेत्रका लागि सरकारले अहिले विनियोजन गरिरहेको बजेट पर्याप्त छ ?

खेल क्षेत्रका लागि पनि दुई किसिमको बजेट विनियोजन हुने गरेको छ । पूर्वाधार विकासका लागि विनियोजन हुने बजेट पर्याप्त छैन । भएको बजेट पनि कार्यान्वयन हुन नसक्नु अर्को समस्या छ । खेलकुदका लागि तालिम, प्रशिक्षणलगायतमा पनि सरकारले ठूलो लगानी गर्न नसकिरहेको अवस्था विद्यमान छ ।