‘सानैदेखि विद्रोही स्वभावको थिएँ’

अनिता कोइराला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कि नेतृ हुन् । हाल नेकपा सुर्खेतको जिल्ला कमिटी सदस्य छिन् । विद्यार्थीकालदेखि नै कम्युनिष्ट आन्दोलनमा होमिएकी कोइराला महिला संगठन हुँदै पार्टीको मूल राजनीतिमा आएकी हुन् । वीरेन्द्रनगर–४ भैरबस्थान निवासी कोइराला वि.सं. २०२४ कार्तिक ७ गते बुवा घनश्याम कोइराला र आमा इन्द्रादेवी कोइरालाको सन्तानको रूपमा वीरेन्द्रनगर–१४ गोठीकाँडामा जन्मिएकी हुन् । उनी तत्कालीन अखिल नेपाल महिला संघ सुर्खेतको संस्थापक सचिवसमेत हुन् । सुर्खेती कम्युनिष्ट आन्दोलन र महिला सशक्तिकरणका क्षेत्रमा लामो समयदेखि सक्रिय कोइराला पछिल्लो समय राजनीतिमा भने उत्ति सक्रिय छैनन् । सार्वजनिक रूपमै व्यक्त नगरेपनि कोइरालालाई पार्टीमा विधि र पद्धतिभन्दा व्यक्ति हाबी भएको मन परेको छैन । उनै कोइरालाले हाम्रा सहकर्मी मुना हमालसँग आफ्नो बालापनको सम्झना यसरी साटिनः

अनिता कोइराला

म राजनीतिक चेतना भएको परिवारमा जन्मिएको हुँ । सानैदेखि मेरो जीवनमा राजनीतिको छाप बस्यो । विद्यार्थीकालदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय भएँ । मेरो पुरै परिवार राजनीतिमा सक्रिय थियो । त्यसैले पनि हाम्रो परिवारमा राजनीतिक चेत थियो ।

म गोठीकाँडामा जन्मिए पनि भैरबस्थानमा बाल्यकाल बित्यो । गोठीकाँडाबाट वीरेन्द्रनगर उपत्यकामा बस्ती सरेर आएका थियौँ । नेपाल राष्ट्रिय माध्यमिक विद्यालयबाट पढाइ सुरू गरेँ ।

मैले उक्त विद्यालयमा कक्षा तीनसम्म पढे । त्यसपछि चारदेखि ६ कक्षासम्म जन माध्यमिक विद्यालयमा पढेँ । त्योभन्दा माथिका कक्षा भैरब माध्यमिक विद्यालयमा पढेकी हुँ । पढ्दै गर्दा विद्यार्थी संगठनमा आवद्ध भएँ । विद्यालयस्तरका कमिटी हुँदै अनेरास्ववियूको जिल्ला नेतृत्वमा गएँ । अनेरास्ववियूको जिल्लाको सचिव भएँ । २०३६ सालको जन आन्दोलनमा सहभागि भएँ । शिक्षक आन्दोलनमा सहभागी भइन्थ्यो । शिक्षकहरू जेलमा पर्दा छुटाउनका लागि हामीले आन्दोलन गथ्र्याैँ । महिलाहरूको नेतृत्वमा प्रशासन घेरा हालेर शिक्षकहरू छुटाउँदा हामी विद्यार्थीहरू पनि सहभागी हुन्थ्यौँ ।

गाउँमा केही अप्ठेरो पर्दा समस्या समधानका लागि हाम्रो घरमा आउँथे । बुवा समाज सेवामा रूचि राख्नुहुन्थ्यो । गाउँका सबैलाई सहयोग गर्नुहुन्थ्यो । मेरो ठूली दिदी पनि विद्यार्थी राजनीति गर्नुहुन्थ्यो । उहाँबाट पनि मलाई राजनीतिमा लाग्ने प्रेरणा मिलेको हो । म सानैदेखि अरूभन्दा फरक अलि विद्रोही स्वभावको थिएँ । महिनावारीको बेला कहिल्यै बाहिर बसिन । मेरो दिदी अरूको घरमा बस्नुभयो । मैले आमालाई बाहिर बस्दिन घरमै बस्छु भनेर अड्डी कसे । घर बाहिर बस्दा केही भयो भने यसको जिम्मेवारी कसले लिने ? यस्तै प्रश्न गर्दै मैले आमालाई सम्झाएर महिनावारी हुँदा भित्रै बसेँ । महिनावारी हुँदा बुवाआमा, दाइभाइसँग नदेखिने, लुकेर बाहिर बस्नुपर्ने चलन थियो । परिवर्तनका लागि सबैभन्दा पहिले आफैँबाट सुरुवात गर्नुपर्छ भन्ने मलाई सानैदेखि लाग्थ्यो । त्यसैले मैले यो संस्कारलाई तोडेर घरभित्रै बस्न सफल भएँ ।

बुवा शिक्षक हुनुहुन्थ्यो । राजनीति गतिविधिमा पनि संलग्न भइरहने । आमा बिरामी भइरहनुहुन्थ्यो । आमा बिरामी भइरहने भएकाले घरायसी काम धेरै गर्नुपर्ने । उहाँको हेरबिचार हामी भाइबहिनीले गर्नुपर्ने हुन्थ्यो । आमालाई सकेसम्म एक्लै छोड्न गाह्रो हुन्थ्यो । सानैदेखि घरको काम, राजनीतिक गतिविधि यस्तैमा व्यस्त भइन्थ्यो । अहिले बालापन सम्झदा संघर्ष धेरै गरेको जस्तो लाग्छ । पढ्दा र राजनीति गर्दा दुःख धेरै हुन्थ्यो । पार्टीका बैठकहरू हाम्रो घरमा हुन्थे । प्रशासनले घेरा हाल्थ्यो । उतिबेला कम्युनिष्टहरूले भूमिगत शैलीमा राजनीतिक गतिविधि गर्नुपर्ने हुन्थ्यो । अहिले ती संघर्ष र दुुःख सम्झ्यो भने मैले त्यसबेला ठिकै गरेको रहेछु भन्ने लाग्छ ।

घरायसी कामदेखि गाईवस्तु चराउन जान्थ्यौं । गोठालो जाँदा साथीहरूसँग खेल्ने र रमाइलो गर्ने गरिन्थ्यो । त्यसबेला हामीले डण्डीबियो, कपर्दी जस्ता खेलहरू खेल्थ्यौँ । त्यसबेला टेलिभिजन, मोबाइल फोन केही थिएनन् । सरकारले टोल–टोलमा भिडियो डकुमेन्ट्री देखाउँथ्यो । हामी त्यही जम्मा भएर कहिलेकाँही भिडियो डकुमेन्ट्री हेर्ने गथ्र्याैँ । सामाजिक सचेतनामुलक भिडियो डकुमेन्ट्रीहरू हुन्थे । अहिले जमान कहाँ पुग्यो, उसबेलाका दिन सम्झेर रमाइलो लाग्छ ।

त्यस समयमा हरेक कुराहरूको अभाव हुन्थ्यो । हामी नौ भाइ–बहिनी थियौँ । किनेर पनि केही पाउने सम्भावना हुन्थेन । कक्षा पाँचसम्म खाली खुट्टा स्कुल जान्थ्यौँ । म कक्षा पाँचदेखि राजनीतिमा लागेको भएर अन्य कामहरू ध्यान दिएन । बुवा शिक्षक भए पनि उहाँको मात्र कमाईले पुग्ने अवस्था थिएन । खेती लगाउने, गाईवस्तु पालेका थियौँ । चाडपर्वमा रमाइलो हुन्थ्यो । तिहारको समयमा रमाइलो लाग्थ्यो । तिहारको समयमा भैली खेल्न रमाइलो हुन्थ्यो ।

अरुलाई दुःख नहोस्, सहज जीवनयापन गर्न पाउन र एक गाँस भए पनि सुख शान्तिले खान पाउन भन्ने प्रेरणाले नै मैले राजनीति गरेको हुँ । यो चेतना मैले सानैदेखि परिवारबाट पाएँ । मैले विद्यार्थी राजनीति गर्दैदेखि पछिसम्म पनि राजनीतिक जीवन नै बिताउँछु भन्ने सोच राखेकी थिएँ । सानैदेखि आफूभन्दा परिपक्क व्यक्तिसँग साथ गरेँ । बुवा नै राजनीतिज्ञ भएपछि मरो संगत प्रायः राजनीतिक व्यक्तिहरू मात्रै भयो । जसले मलाई राजनीतिमा अघि बढ्न सहयोग गर्‍यो ।

विद्यार्थी राजनीतिमा संगठन निर्माणका लागि गाउँगाउँमा भएका विद्यालयमा गइन्थ्यो । म विशेष गरेर सुर्खेतको पूर्वी भेगतिर संगठन विस्तारमा गएँ । विद्यालयमा गएर विद्यार्थी संगठन निर्माण गर्ने काम हुन्थ्यो । विद्यार्थी राजनीतिसँगै अखिल नेपाल महिला संघमा आवद्ध भए । त्यसमा पनि संगठन निर्माणको क्रममा गाउँगाउँ पुगियो । पछि पार्टी मूल राजनीतिमा आएँ । तत्कालीन एमालेको जिल्ला कमिटी सदस्य भएँ । अहिले पार्टी एकीकरण भएपछि जिल्ला कमिटी सदस्य छु । पछिल्लो समय पार्टीमा विधिभन्दा व्यक्ति बलियो भएको पाउँछुु । पार्टीभित्र किचलो छ । विधिमा नचलेकै कारण यस्तो भएको हो । सबैभन्दा पहिले राजनीतिकदलहरू सुध्रिन जरुरी छ । अनि मात्रै मुुलुकको समग्र विकास सम्भव छ ।

प्रकाशित मितिः   २७ मंसिर २०७७, शनिबार ०६:०३