क्रियाशीलताको मापदण्ड

pp

आम जनसमुदायको नजरमा सूचनाको बाहक पत्रकार हुन् । देश, राष्ट्र, समाजको स्थिति तथा भावनालाई कदर तथा सकारात्मक परिवर्तनका अदृश्य पात्र भन्दा पनि फरक नपर्ला । पत्रकार तथा पत्रकारितालाई राष्ट्रको चौथो अंगको रूपमा पनि हेर्ने गरिन्छ । बस्तुस्थितिको सत्य तथ्य बुझाइ तथा सकारात्मक परिवर्तन अनी अभिमुखीकरणका लागि समाचार सम्प्रेषण एउटा पत्रकारको कर्तव्य हो ।

सुर्खेतमा वर्तमान समयमा नेपाल पत्रकार महासंघले थालेको पत्रकार शुद्धीकरणको अभियानलाई नकारात्मक तथा सकारात्मक रूपमा लिनेहरूको संख्या उत्तिकै छ । कतिपयले यसलाई ‘नाटक’को रूपमा पनि व्याख्या गर्ने गरेका छन् । कतिपयले यसलाई राजनैतिक खेलको रूपमा पनि लिने गर्छन् । एउटा त्यस्तो खेल जहाँ विपक्षी दललाई समर्थन गर्नेलाई ‘आउट’ गर्ने गरिन्छ । विपक्षी दलको ‘विकेट’ लिइन्छ । अनि कतिपयले फेरि यो कदमलाई सकरात्मक रूपमा पनि लिएका छन् । उनीहरू पत्रकार शुद्धीकरण आवश्यक रहेको बताउँछन् । गैह्रसरकारी संघ–संस्थाहरूमा आवद्ध भएका, राजनीतिक दलका क्रियाशील, सरकारी सेवामा प्रवेश गरेका, लामो समयदेखि पत्रकारितामा क्रियाशील नरहेका र पत्रकारितालाई मुख्य पेशा नबनाएका व्यक्तिहरूलाई महासंघको शाखा सुर्खेतद्वारा उनीहरूको आवद्धता खारेजीका लागि आव्हान गरिएको छ ।

कसैको लगाव छ पत्रकारितामा, कोही रहरले छिरेका पनि छन् । यथार्थ रूपमा हेनुपर्दा पत्रकारितामा लाग्ने व्यक्तिको आर्थिकस्तर पत्रकारिताको माध्यमद्वारा उभो लागिएको देखिदैंन । नेपाल सरकार तथा सम्बन्धित निकायले पत्रकारहरूको न्यूनतम पारिश्रमिक तोकेता पनि अधिकांश पत्रकारहरू त्यो न्यूनतम पारिश्रमिकबाट वञ्चित रहेका छन् । यो समयमा स्थानीयस्तरमा चार देखि १० हजारबाट पारिश्रमिक सुरु गर्नुपर्ने बाध्यता रहेको हामी देख्न सक्छौं ।

सजिलो छैन पत्रकारिता । सुर्खेतमा बाहिरी जिल्लाका पत्रकारहरूलाई बाँच्नकै लागि पनि कोठाभाडा तथा खाद्यान्नका लागि पत्रकारिता तथा सम्बन्धित संस्थाद्वारा प्रदान गरिएको पारिश्रमिक अपुग छ । जसको समाधानका लागि स्थानीय पत्रकारहरू एकैसाथ विभिन्न सञ्चार माध्ययममा आवद्ध हुन बाध्य भइरहेका छन् । समयलाई बाँडफाँड गर्दै विभिन्न सञ्चार माध्यममा आफ्नो उपस्थिति जनाउँछन् । यसले उनीहरूको क्रियाशीलतालाई कसरी उत्तम बनाउन सक्छ ?

सुर्खेतमा बढ्दो अवस्थामा रहेको छ, पत्रकारको परिचयपत्र बनाउने चलन । युवा अवस्थाका विभिन्न युवाहरू आफ्नो फोटो टाँसिएको पत्रकार परिचयपत्र राख्न रुचाउँछन् । चिनजान तथा आर्थिक प्रलोभनलाई आफ्नो हतियार बनाउँदै स्थानीय छापा तथा डिजिटल मिडिया हाउसहरूको नामबाट आफूलाई परिचित गराउन खोज्छन् । जसको फाइदा उनीहरूले आफ्नो सुरक्षिततामा उपभोग गरेको पनि पाइन्छ । रात्रीकालीन समयमा प्रशासनद्वारा गरिने सोधपुछमा उनीहरू त्यो परिचयपत्र देखाउँदै लुसुक्क लस्किन्छन् । यस्तो फाइदा उठाउनेहरूमा अवैध काठको धन्दा गर्नेहरू देखि लिएर वीरेन्द्रनगरमा लागूऔषध भित्राउनेहरूको गुठ रहेको छ ।

अवैध काठको ओसार–पसारका समयमा प्रशासनद्वारा उनीहरू विरुद्धका गतिविधिहरूलाई नियाल्न यस्ता व्यक्तिहरू सक्रिय रहेका छन्, जो विभिन्न सञ्चारमाध्यमले दिएको पत्रकार परिचयपत्र बोकी हिँड्छन् । चलनचल्तीको भाषामा भन्नुपर्दा ‘सेन्ट्री’को रूपमा प्रहरी तथा प्रहरी बोकेको गाडी काठ ओसारिने स्थानमा आएको छ छैन ? तथा काठ ओसार्नलाई कत्तिको उपयुक्त रहेको छ यसको जाँच सेन्ट्रीले गर्ने गरेको पाइन्छ । ती सेन्ट्रीहरूद्वारा दिइएको निर्देशन बमोजिम काठ तस्करहरू काठ लिएर मात्र हिँड्दछन् ।

यस्ता सेन्ट्रीहरू प्रायः रातीको निर्धारित समयमा चौक–चौकमा आफ्नो उपस्थिति जनाएका हुन्छन् । र, त्यहाँ मध्ये कोहीसँग पत्रकारको परिचयपत्र भएमा उनीहरू निधक्क रूपमा चौकमा रहने गर्छन् । यदि नभएमा अदृश्य रूपमा उनीहरूको उपस्थिति जनाइएको पाइन्छ । पत्रकारितालाई प्रशासन सम्मान गर्छ । स्वतन्त्रता पूर्वक पत्रकारिताको आधारलाई सुर्खेतमा प्रशासनले उच्च स्थानमा राखेको पनि छ । यस्ता अवैध पत्रकार परिचयपत्रहरू रोक्नमा मिडिया हाउस तथा महासंघको पनि प्रभावकारी क्रियाशीलता जरुरी छ ।

कुनै अन्य गैह्रसरकारी निकाय तथा आफ्नो व्यवसाय सञ्चालन पनि गरिरहेको पत्रकारलाई महासंघको आवद्धता खारेजीका अनुरोध तथा सिफारिस कत्तिको प्रभावकारी तथा उत्तम हो ? नेपाल सरकारले तोकेको पारिश्रमिक उपलब्ध भएमा, को पत्रकार पत्रकारितालाई मुख्य व्यवसाय नबनाइ अन्य व्यवसाय तथा पेसालाई पनि अंगाल्न चाहन्छ र ? मुख्यतय न्यूनतम पारिश्रमिकले पत्रकारको कला तथा क्रियाशीलतामा कमी त अवश्य नै ल्याउने गर्छ, साथै उसमा हिनतावोध पनि ।

के पत्रकार हुन अब बाबुको टन्न पुख्यौली सम्पतिको आवश्यक छ ? जसको कारण पत्रकारले न्यूनतम पारिश्रमिकमा पनि आफ्ना क्रियाकलापहरूमा पारिवारिक खर्च पनि समेट्दै क्रियाशीलतालाई प्रभावकारी बनाओस् ? महासंघमा आवद्ध पत्रकारहरू पत्रकारितामा क्रियाशील नभएमा आवद्धता खारेजी उपयुक्त छ नै तर प्रभावकारी क्रियाशीलताको लागि पत्रकारहरूका पनि आधारभूत तथा अतिरित्त आवश्यकताप्रति ध्यानाकर्षण तथा उनीहरूका हकअधिकारको परिपूर्ति जरुरी देखिन्छ । अन्यथा प्रभावकारी क्रियाशीलता पत्रकारमा खस्किरहेको हामी देख्न सक्छौं । जसको उदाहरण हो क्रियाशील देखिएमा पत्रकारहरूको मिलेमतो विभिन्न खण्डमा माफियासँगको अवैध सम्बन्ध ।

प्रकाशित मितिः   ५ मंसिर २०७३, आईतवार १२:१७