‘एक हजार रूपैयाँ हुनेलाई हजारे साहु भन्थे’
कृष्णप्रसाद शर्मा उपाध्याय नेपाल सरकारका अवकाश प्राप्त कर्मचारी हुन् । उनको जन्म २००३ साल जेठ १९ गते दैलेखको साविक रावतकोट गाविस (हाल भैरबी गाउँपालिका) मा भएको हो । बुवा काशीराम उपाध्याय र आमा मनधरा उपाध्यायका सन्तान उनीसँग गाउँले परिवेशका पुराना अनुभव छन् । सरकारी जागिरको समेत लामो अनुभव संगालेका उपाध्यायले हाम्रा सहकर्मी मुना हमालसँग बालापनका सम्झना यसरी साटेः
म घरको एक्लो छोरा । मेरो बुवा ६० वर्षको हुँदा म जन्मिएको रहेछु । एक्लो छोरा भएकाले बुवाआमाले खुबै पुलपुल्याएर हुर्काउनु भयो । बाल्यकाल रावतकोटमा बित्यो । त्यसबेलाको परिवेश अहिलेको जस्तो थिएन । गाउँमा विकास भन्ने केही देख्न नपाइने । साह्रै दुःख थिए उतिबेला । पहिलेको हेरेर अहिले धेरै विकास भएको छ ।
गाउँ–गाउँमा मोटरबाटो पुगेको छ । घर–घरमा बिजुली बलेका छन् । गाउँमा स्कुल थिएनन् । हामीले स्कुुलको सट्टा गुरुकुल, भाषा पाठशालामा गएर पढ्यौं । त्यस समयमा पढ्ने भनेको संस्कृत, कर्मकाण्ड, शास्त्रीय, आचार्य सम्बन्धी पढाइ थियो । घरदेखि एक दिन हिँडेर गुरुकोमा गएर पढ्थ्यौं । कोही गाउँ छोडेर बाहिर गएर पनि पढ्थे । मलाई बुवाआमाले टाढा पठाउनु भएन । घरको आर्थिक अवस्था पनि कमजोर नै थियो । गुरुको घरमा पढ्न जाँदा त्यहाँ काम पनि गर्नुपथ्र्यो । पढेको पैसा तिर्नका लागि मैले गुरुकोमा दिनभरी गाइवस्तु चराउने र बिहानसाँझ पढ्ने गर्थे । घर कहिलेकाहीँ मात्र आउथे । गुरुकै घरमा काम गरी दिने र पढ्ने हुन्थ्यो ।
हामीले पढ्ने बेलामा कापी, कलम हुन्थेनन् । काठको पार्टी हुन्थ्यो । पार्टीमा खरीले लेखेर अक्षर चिनेको हुँ । कटुस् पकाएर मसी बनाउनुपथ्र्यो । मैले दुई वर्षसम्म गुरुको घरमा बसेर पढें । पछि दुल्लूमा स्कुल स्थापना भएपछि २०२५ सालमा त्यहीँबाट आठ कक्षा पास गरें । त्यसबेलामा कक्षा आठ पढेपछि जहाँ पनि जागिर पाइन्थ्यो । आठ कक्षा पास गर्नु भनेको धेरै पढेको मानिन्थ्यो । गाउँमा स्कुल नहुँदा गुरुकोमा पढ्ने भएकाले तीन वर्ष पढे एसएलसी सरह हुन्थ्यो । शास्त्रीय चार वर्ष र आचार्य ६ वर्ष पढ्नुपथ्र्यो ।
अहिले र पहिलेको शिक्षामा फरक छ । हामीलाई नकारात्मक कुराहरू गर्नुहुन्न भनेर सिकाइन्थ्यो । ठूलालाई सम्मान र सानालाई माया, अपाङ्गता भएका तथा असहायलाई सेवा गर्नुपर्छ भनेर पढाइन्थ्यो । उसबेलाका विद्यार्थीमा लगनशील र इमान्दारिता बढी हुन्थ्यो । अहिले यस्तो खालको नैतिक शिक्षा छैन । सबैले भौतिक शिक्षातर्फ जोड दिएको देख्छु । आम मानिसमा कसरी पैसा कमाउने भन्ने सोच मात्र छ । जसले गर्दा हत्या, हिंसा, चोरीका घटना बढेका छन् । त्यसैले अहिले नैतिक शिक्षाको खाँचो देखिएको छ ।
म बाल्यकालमा शान्त र मिलनसार स्वभावको थिए । सबैले माया गर्नुहुन्थ्यो । बुढेशकालमा जन्मिएको छोरा भएर होला घरपरिवार र आफन्त सबैको प्यारो थिए । हामी केटाकेटी छँदा भकुण्डो बनाएर खेल्ने गथ्र्यौं । जात्रा जाने, गीत गाउने, रमाइलो गर्ने हुन्थ्यो । मेरो रूचि धार्मिक गतिविधिमा बढी थियो । त्यसैले म धेरै जसो धार्मिक कार्यक्रमहरूमा सहभागी हुन्थे । अहिले धार्मिक गतिविधिहरूमा झन रूचि बढेको छ । बुढेशकालमा धर्मकर्ममा ध्यान जान्छ भन्थे, हो रहेछ ।
मैले पढ्दा मासिक १० रूपैयाँ शुल्क तिर्नुपथ्र्यो । दश रूपैयाँ कमाउन धेरै समय लाग्थ्यो । एक रूपैयाँमा एक सय दाना सुन्तला पाइने जमाना हो त्यो । एक आना, दुई आना चार आना पैसा हुन्थे । एक हजार हुनेलाई गाउँमा हजारे साहु भनिन्थ्यो । उसबेला हजार रूपैयाँ भएको मान्छे धनी कहलिन्थे । पैसाको महŒव उसबेला धेरै थियो । अहिले पैसा सस्ता भए । मुख्य आयस्रोत भनेकै अन्न उत्पादन थियो । अन्नसँग अरू वस्तुु साटेर व्यवहार चलाउने चलन थियो । रूपैयाँ नहुने हुँदा वस्तु विनिमय गर्ने गरिन्थ्यो ।
वर्षभरीलाई आवश्यक पर्ने सामान लिन हाट जानुपथ्र्यो । चप्पल पाइँदैन्थे । खाली खुट्टै हाट जानुपर्ने दिन थिए ती । हाट गएर आउन १८÷२० दिन लाग्ने । गाउँभरीका मान्छेहरू सल्लाह गरेर हाट डिँड्थे । उसबेलाको हाट बजार नेपालगञ्ज, राजापुर थियो । हाट जाँदा रमाइलो हुन्थ्यो । लस्करै लागेर गइन्थ्यो । ३०÷४० जनाको समूह हुन्थ्यो । घरमा भएको घिउँ, खुुर्सानी, भटमास, फापर लिएर बेच्ने र आवश्यक कपडा, नुनलगायतका सामग्री किनेर ल्याउने गरिन्थ्यो । बाटोमा अहिलेका जस्ता होटल हुन्थेनन् । खानाका लागि दाल चामल घरबाटै लिएर जानुपथ्र्याे । हाट गएर मिठाइ किनेर खाँदा रमाइलो लाग्थ्यो । वर्षमा बडामुस्किलले एक जोर कपडा फेरिन्थ्यो । चाडपर्वमा आएपछि मात्र कपडा किन्ने चलन थियो । अघिपछि कपडा च्यातिए टालो हालेर लगाउनुपथ्र्यो ।
मैले आठ कक्षा पास गरेपछि बिफर खोप आयोजनामा जागिर सुरू गरेँ । उसबेला अहिलेको कोरोना महामारी जस्तै बिफरको महामारी थियोे । मुखिया पदमा रहेर काम गर्थे । पछि नेपाल बिफर उन्मूलन देश भयो । यसकै खोप सम्बन्धी विस्तारित आयोजनामा लामो समय काम गरँे । गाउँ–गाउँ गएर खोप लगाउनुपथ्र्यो । मैले ३९ वर्ष जागिरे जीवन बिताएँ । मुखिया हुुँदै खरिदार भएर जागिरबाट अवकाश लिएँ । बाल्यकालदेखि नै गरेको दुुःख र संघर्षले मलाई यहाँसम्म पु¥याएको हो ।
प्रकाशित मितिः २० मंसिर २०७७, शनिबार ०९:४९
साझा बिसौनी ।