हिंसाविरुद्ध बोलौं

हिंसा कानुनी रूपमै बर्जित छ । तर हिंसाका श्रृंखला भने निरन्तर छन् । लैङ्गिक भेदभाव त छँदैछ त्यसमा पनि परम्परागत मूल्य मान्यताका आधारमा गरिने हिंसाका कारण महिलाहरू बढी पीडित बन्ने गरेका छन् । महिलाको मानवअधिकारको उल्लंघनको प्रमुख विषय महिलामाथिको हिंसा पनि हो । अधिकांश हिंसाका घटना त सार्वजनिक नै हुँदैनन् । घटना सार्वजनिक गर्दा महिलाले थप मानसिक तथा शारीरिक पीडा खप्नुपर्ने अवस्था सिर्जना भइरहेका छन् । घर निकाला गरिनु, जिउँदै जलाउने प्रयत्न गरिनु र घरपरिवारबाट शारीरिक तथा मानसिक यातनाको शिकार बन्नु हिंसा पीडित महिलाको नियति बन्ने गरेको छ ।

हिंसा निवारणका लागि प्रयास नभएका होइनन् । पर्याप्त कानुन पनि बनेका छन् । तर त्यसको कार्यान्वयन फितलो छ । अर्कोतर्फ घरेलु हिंसाका घटनालाई सकेसम्म मिलापत्रमार्फत टुंग्याउने गरिएको छ । मिलापत्र हुनु राम्रो हो तर के यसरी मिलापत्रमा हिंसाका घटना टुंग्याउँदा त्यसले थप हिंसाका लागि बढावा त दिइरहेको छैन ? यसतर्फ पनि ध्यान दिन जरुरी छ । प्रहरीमा आउने अधिकांश घरेलु हिंसाका घटना अदालतसम्म पुग्दैनन् । त्यस्ता प्रकृतिका घटना मिलापत्रमै टुङ्गिने गरेका हुन् । सामान्य विवादलाई मेलमिलापबाटै समाधान गर्न सकिन्छ । पीडक र पीडितको त्यसका लागि पीडित पक्ष भने राजी हुनैपर्छ । मेलमिलाप एउटा पाटो हो तर घटना दोहोरिने अवस्थामा भने कुनै पनि हालतमा मेलमिलापबाट समस्या समाधान गर्न खोज्नु हुँदैन । छलफल र मेलमिलाप समाधानको पहिलो माध्यम भए पनि हिंसाको उपचार भने कानुनी रूपमै गरिनु प्रभावकारी हुन्छ । जसले थप हिंसा गर्नबाट निरुत्साहित गर्दछ ।

घरेलु हिंसाका घटना बढ्दै गएको सन्दर्भमा यसतर्फ विशेष ध्यान दिनुपर्ने देखिएको छ । पछिल्लो समय महिला हिंसाका घटनाहरू बाहिर आउने क्रम बढेको छ । हिंसाका घटना भए न्यायका लागि प्रहरी तथा अदालतसम्म सम्बन्धित निकाय पुग्ने गरेका हुन् । कतिपय हिंसाका घटना मेलमिलापबाट टुंग्याइँदा पुनः दोहोरिएको पाइएको छ । त्यसैले कानुनी उपचार खोज्नु नै उपयुक्त हुने अधिकारकर्मीहरूले बताउने गरेका छन् । आजको शिक्षित समाजमा कुनै पनि हिंसा हुनु विडम्बना हो । यसको अन्त्य गर्नुको विकल्प छैन ।

त्यसो त छोरीमाथिको विभेद ऊ गर्भमा हुँदादेखि नै सुरु हुने गरेको छ । जन्मिसकेपछि हुर्किंदा र त्यसपछिको जीवनकालमा उसले विभेद र हिंसाका अनेकौं बज्र सहनुपर्ने विडम्बनापूर्ण अवस्था वर्तमान समाजमा कायमै छ । मानवअधिकार र समानताको यति बिघ्न वकालत भइरहेको वर्तमान समयमा पनि महिलाहरूले मानवअधिकारकै समान रूपमा उपभोग गर्न पाइरहेको अवस्था छैन बरु घरेलु हिंसाको सिकार भइरहनुपर्ने परिस्थिति दुःखद मात्रै होइन आजको समय र चेतनाविपरीत छ । आजको समयले त्यस्तो समाजको परिकल्पना गर्दछ जहाँ महिला र पुरुषबीच विभेद गर्दैन । तर हामीले बाँचिरहेको समय र समाज त्यसको ठिक विपरीत छ । त्यसैले महिलाहरूलाई यस्ता हिंसाबाट मुक्त गर्न र आजको समय सुहाउँदो समतामूलक समाज निर्माण गर्न न्यायिक निरूपणमार्फत हिंसाको अन्त्य गर्नु अपरिहार्य छ ।

प्रकाशित मितिः   १९ मंसिर २०७७, शुक्रबार ०९:२७