परिचयपत्र लिन आउँदैनन् कृषक

सुर्खेतमा कृषक परिचयपत्र वितरण गर्ने अभियान सुस्ताएको छ । जिल्ला कृषि विकास कार्यालय सुर्खेतले गत असार १५ देखि जिल्लाका कृषकहरूलाई परिचयपत्र दिने कार्य सुरु गरेको थियो । तर सुरुवातमा केही उत्साह देखिए पनि विस्तारै परिचयपत्रप्रति कृषकहरूको उत्साह घट्दै गएको छ ।

सरकारले वास्तविक किसानहरूको पहिचान गर्नका लागि कृषक परिचयपत्र वितरण गर्ने अभियान थालनी गरेको थियो । तर किसानलाई परिचयपत्रको उपयोगिताका बारेमा बुझाउन नसक्दा परिचयपत्र वितरण कार्य सुस्ताउँदै गएको हो । किसानहरूको पहिचान र उनीहरूको उत्थान तथा सहयोगका लागि परिचयपत्र वितरण गर्ने अभियान थाले पनि यसको महत्वबारे किसानलाई बुझाउन सकेको छैन । किसानले किसान परिचयपत्र लिएर के फाइदा हुन्छ ? भन्ने कुराको राम्रोसँग जानकारी नपाएका कारण आफ्नो परिचयपत्र लिनका लागि समेत आएका छैनन् । यसै वर्षबाट सुर्खेतमा किसान परिचयपत्र वितरण कार्य सुरु गरिए पनि स्वयम् किसानले यसको महत्व बुझ्न नसक्दा परिचयपत्र लिन किसानहरू खासै आकर्र्षित छैनन् ।

सुर्खेत जिल्लामा यसै वर्षभित्र पाँच हजार किसानलाई परिचयपत्र वितरण गर्ने लक्ष्य अनुरूप गत असार १५ गतेदेखि औपचारिक रूपमा किसान परिचयपत्र वितरण कार्य सुरु गरेको थियो । अधिकांश किसानहरूले परिचयत्रको महत्वका साथै यसको उपयोगिता र फाइदाको बारेमा थाहा नपाउँदा परिचयपत्र लिन खासै उत्सुक देखिएका छैनन् । सदियौंदेखि गाउँमा खेतीपाती गर्दै आएका किसानलाई राज्यले उपलब्ध गराउने सेवा, सुविधाका साथै विभिन्न अनुदान प्राप्त गर्नको लागि किसान परिचयपत्र महत्वपूर्ण दस्तावेज रहेको जिल्ला कृषि विकास कार्यालयको भनाइ छ । तर यति महत्वपूर्ण दस्तावेज लिनका लागि किसानहरू स्वयम् नै उपस्थिति नभएका कारण लक्ष्य अनुरूप परिचयपत्र वितरण कार्य नहुने सङ्केत देखिएको छ ।

सरकारले कृषि क्षेत्रमा उपलब्ध गराउने अनुदान लगायतका सुविधाहरूलाई प्रभावकारी रूपमा किसानहरूसम्म पु¥याउनका लागि किसान परिचयपत्र वितरण सुरु गरेको हो । सबैभन्दा पहिले सरकारले किसान परिचयपत्र वितरण गर्ने अभियान बाँकेबाट सुरु गरेको थियो । यस्तै, देशभरीमै किसान परिचयपत्र वितरण सुरु गरिएको दोस्रो जिल्ला सुर्खेत हो । सरकारले प्रत्येक विकास क्षेत्रका एक÷एक जिल्ला गरी पाँच वटा जिल्लामा परिचयपत्र वितरण गर्ने दोस्रो चरणको कार्यक्रम अन्तर्गत जिल्ला कृषि विकास कार्यालय सुर्खेतले किसानलाई परिचयपत्र वितरण अभियान सुरु गरेको छ ।

गत असार १५ गते राष्ट्रिय धान दिवसको अवसर पारेर सुर्खेतमा किसानहरूलाई परिचयपत्र वितरण सुरु गरेको थियो । जिल्लामा वास्तविक कृषकको संख्या पत्ता लगाउने उद्देश्यका साथ किसान परिचयपत्र वितरण गरिए पनि त्यसको महत्व बुझाउन नसक्दा र सदरमुकाममा परिचयपत्र लिनका लागि किसानलाई टाढाबाट आउनुपर्ने भएकाले हालसम्म लक्ष्य अनुसारको वितरण हुन नसकेको हो । किसान परिचयपत्रले जिल्ला कृषि कार्यालयमा आउने विभिन्न अनुदानका कार्यक्रममा बीऊहरू पनि वितरण गर्न सजिलो बनाउने वरिष्ठ कृषि विकास अधिकृत कालिकाप्रसाद कोइरालाले बताए ।
किसान परिचयपत्रको लागि गत फागुनमा आवेदन खुला गरिएको र त्यसबेला करिब पाँच हजार जतिले परिचयपत्र लिनका लागि आवेदन दिएका थिए । जनचेतनाको अभाव र परिचयपत्रले आफ्नो अधिकार सुरक्षित गर्छ भन्ने कुराको राम्रोसँग ज्ञान नभएका कारण परिचयपत्र लिने कार्यमा किसानले खासै रुचि नराखेको हुनसक्ने कार्यालयले जनाएको छ । तर कार्यालयमा किसानहरू परिचयपत्र लिन नआएपछि अबदेखि कृषि सेवाकेन्द्रमार्फत् वितरण गर्ने तयारी गरेको छ । जिल्लाबाट लक्ष्य अनुसार परिचयपत्र वितरण हुन नसक्ने देखिएपछि आइतवारदेखि जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा रहेका ६ वटा कृषि सेवा केन्द्रमार्फत् परिचयपत्र वितरण गरिने भएको छ । जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत सुरेशकुमार थापाका अनुसार कार्यालयमा किसानहरू परिचयपत्र लिनको लागि आउन छोडेपछि सेवाकेन्द्रमार्फत् वितरण गर्न लागिएको हो ।

प्रकाशित मितिः   ४ मंसिर २०७३, शनिबार १२:०५