करेन्ट अनुभव

ggसुर्खेतमा ३३/३४सालमै स्थानीय झुप्राखोलाबाट बीजुली निकालिएको थियो र उपत्यकालाई झलमल्ल बनाइएको थियो आजभोलि त्यही खोलाबाट पानी निकालिएको छ, तर पानीको हाहाकार छ । सायद ३८÷३९ सालतिर हाम्रोघरमा पनि बिजुली जोड्ने भनेर वेरिङ्ग गर्नका लागि तार अनि बिजुलीको अरु सामानहरू ल्याइएको थियो, ती सामानहरू समाउँदै छाम्दै ओल्टाइ पल्टाइ हेरर म खुब रमाएको थिएँ, त्यसो गर्दा हाम्रो हजुरआमा खुब जंगीनु भएको थियो र मलाइ गाली गर्दै भन्नुभएकोथियोः ‘नछो नछो नछो त्यहाँ नछो क्यारेन्ट लाग्छ ।’ तार र सामान ल्याएर थुपारिएको मात्र थियो बिजुली जोडिएको त थिएन तै पनि हजुरआमाले ती सामान छुँदैमा क्यारेन्ट लाग्छ भनेर मलाइ किन गाली गरेको होला मेरो बाल मस्तिष्कमा एउटा जिज्ञासा उठ्यो ‘साँच्ची त्यो क्यारेन्ट भन्ने चिज हुन्छ कस्तो ?’

पछि हाम्रो घरमा बिजुली जडान भयो त्यति खेरसम्म हाम्रो गाउँमा एक दुई जनाको घरमा मात्र बिजुली जडान गरिएको थियो । प्रायः मट्टितेलको टुकी र लालटिन बाल्ने चलन थियो । बिजुली जोडिएको दिन हाम्रो घरमा विशेष खुशीयाली हुनेनै भयो । त्यो दिन त दिन पनि कति लामो भएको हो कुन्नी ! छिटै रात परेको भए बल्ल बिजुली बत्तिको झिलिमिलि हेर्न पाइन्थ्यो भन्ने कत्रो हुटहुटी ! आखिर रात पनि प¥यो हैन त्यो भन्दा अगाडि साँझ प¥यो अनि धुप बत्ति सकेर बुबा अगाडि लाग्नुभो पछाडि पछाडि हामी केटाकेटीहरू लाग्यौं, बुबा बिजुलीको स्वीच प्याट्ट पार्नुहुन्थ्यो त्योसँगै बीजुली बत्ती झ्वाल्ल बल्थ्यो अनि बुबाले निकै हर्षित हुँदै भन्नुहुन्थ्यो ‘देख् तमासा देख्’ अनि हामीले तररर ताली बजाउँदै कराउँदै उफ्रन्थ्यौं । घर भरी जतिवटा बल्ब जोडिएका थिए सबैको स्वीच प्याट्ट पार्ने र देख तमासा देख भन्ने र ताली बजाएर उफ्रने क्रम जारी थियो तर मेरो मनमा भने एउटै जिज्ञासा खेलिरहेको थियो ‘हैन आखिर त्यो क्यारेन्ट भन्ने चिज हुन्छ कस्तो ?’

करेन्ट लागेर यस्तो–यस्तो भयो मान्छे मरे भनेको हल्ला सुनिराखिन्थ्यो । मलाइ त्यो के चिज रहेछ अनुभव गर्ने इच्छा झन् झन् तीब्र हुँदै गइरहेको थियो । हाम्रो घरका प्रत्येक कोठामा बिजुलीका ठूला साना स्वीचबोर्डहरू थिए, ती स्वीचबोर्डमा लहरै प्लग र स्वीचहरू थिए । प्याट्ट प्याट्ट बज्ने ती स्वीचहरूको काम त मैले बुझेको थिए तर कुनैमा तीनवटा प्वाल र कुनैमा दुई वटा प्वाल भएका ती प्लगहरूको काम के हो मैले बुझ्न सकेको थिइन । किनकी बिजुली जडान गरेको एक÷दुुई महिना बितिसक्दा समेत ती प्वालहरूको काम मैले देखेको थिइन हाम्रो उपयोगमा तिनीहरू आएका थिएनन् बरु ती अधिकांश प्वालहरूमा कुमालकोटीले के–के कोचेर राम्रैसँग माटोको बिर्काे लगाइदिएको थियो ।

एकदिन घरमा म एक्लै थिएँ, त्यसरी एक्लै हुँदा म किन–किन उत्तेजित हुन्थे र केही न केही चकचक गरिहाल्न मन लाग्थ्यो । त्यो दिन पनि मलाइ त्यस्तै भयो, कसरी हो मेरो हातमा एउटा ठूलो बोरा सिउने सियो आइ पुग्यो मैले त्यो खापसियो खेलाइ रहेको थिए । त्यो स्वीचबोर्डमा भएको प्वालहरूमा कुमालकोटीले बनाएको गुँड भत्काउने उद्देश्यले त्यो खापसियो त्यो प्वालमा यस्सो छिराएको मात्र के थिए मेरो हात कसैले बलपूर्वक स्वाट्ट पछाडि तान्यो म झसङ्ग भएर पछाडि हेरे तर त्यहाँ कोही पनि थिएन । मैले पुनःत्यसैगरी त्यो प्वालमा सियो कोचे, फेरि पनि त्यसै गरी झट्का दिँदै मेरो हातलाई कसैले तान्यो । म आश्चर्यचकित भए, घरमा अरु को छ भनेर घरभरी बाहिर भित्र जता ततै मैले धुइधुइती खोजे तर म बाहेक त्यहाँ अरु कोही पनि थिएन, यो के भएको हो म एक प्रकारले भयवित पनि भएँ । तर केही छिनमा मैले आफै बुझेको थिएँ त्यो अरु केही पनि नभएर करेन्ट नै थियो । पछि कसैले मलाइ भनेको थियो करेन्ट फाल्ने र तान्ने दुइ किसिमको हुन्छ, फाल्नेवाला भएको हुनाले ज्यान बच्यो तान्नेवाला भैदिएको भए त्यही काम तमाम हुने थियो । जे होस् मैले करेन्टको अनुभव त्यसरी गरेको थिए ।

हाम्रो घर निर्माणको क्रममा बुबाले एउटा सानो एक पाङ्ग्रे हाते ठेला ल्याउनु भएको थियो । सामान ओसार–पसार गर्न सजिलो हुन्छ भनेर ल्याएको त्यो ठेलामा पालै–पालो कोही बस्ने, कसैले ठेल्ने गरेर हामी खुव रमाइ–रमाइ खेल्थ्यौ । ठेलामा चढ्नेवाला त आनन्दित हुन्थ्यो नै त्यो भन्दा बढी आनन्दित सायद ठेला ठेल्नेवाला नै हुन्थ्यो, आफूलाई गाडी चालक भन्दा पनि अझ पाइलट नै ठानेर होला । सायद मैले ७÷८ कक्षामा पढ्दा–पढ्दै साइकल चढ्न सिकेको हुँ । अरु धेरै साथीहरूले साइकल चढ्न सिकिसकेका थिए । बजारमा भाडामा साइकल पाइन्थ्यो, धेरैले त्यही भाडाको साइकलबाटै सिकेका थिए । मैले भने हाम्रो एक जना भिनाजुको अफिसको साइकलबाटै चलाउन सिकेको थिएँ, त्यसपछि बुबाको अफिसको एउटा थोत्रो साइकल मरमत गरेर खुब चलाएँ । पछि नौ कक्षामा पढ्दा मलाइ काठमाडौं बोर्डिङ्ग स्कुलमा पढ्ने भूत चढेको थियो र मेरो रहर पूरा गर्न बुबाले काठमाडौं लिएर जानुभो तर मेरो मन काठमाडौंमा अडिन सकेन, म सुर्खेतै फर्कने भएँ, पुरस्कार स्वरूप बुबाले एउटा एभन साइकल किनिदिनुभो । मैले एक वर्षसम्म चलाएर नौ सय ५० रूपैयाँमा किनेको त्यो साइकल नौ सय रूपैयाँमा एक जना शिक्षकलाई बेचिदिएँ ।

बुबाको जागिर निबृत्त भएर काठमाडौंबाट आउँदा उहाँले एउटा ठूलो क्यासेटप्लेयर ल्याएर आउनुभो त्यसमा गीत बजाउने मात्र नभएर मैले खुब गीत तथा नाटकहरू समेत रेकर्ड गर्थे । त्यसमा रेकर्ड भएको आफ्नै आवाज सुन्दा मलाइ बडो रमाइलो लाग्थ्यो । इसाइ धर्म प्रचारको क्रममा यशुको सु–समाचार भनेर विभिन्न किसिमका श्रव्यदृश्य सामग्रीहरू गाउँगाउँमा भित्रिएका थिए , मेरो एकजना इसाइ साथी थिए उनले मलाई एउटा सामान्य कागजको बोर्डमा बनाइएको डिस्क प्लेयर दिएका थिए जसलाई हातैले सजिलै बजाउन सकिन्थ्यो भने हातैले घुमाएर बजाउन मिल्ने क्यासेट प्लेयर पनि उनले नै मलाइ दिएका थिए । हुन त पश्चिमी मुलुकमा बैज्ञानिकहरूले पहिला यसरी हातले नै बजाउन मिल्ने यन्त्र बनाएरपछि मात्रै ब्याट्री र बिजुलीबाट चल्ने बनाए होलान् तर ब्याट्री र बिजुलीबाट चल्ने त्यस्ता यन्त्र देखिसकेको मलाइ त्यस्तो हाते यन्त्र देख्दा अचम्म लागेको थियो ।

मैले काठमाडौंमा मोटर साइकल चलाउन सिक्दा १८ वर्ष जतिको हँुदो हुँ । पछि २०५१ सालमा सरकारी जागिर भइसकेपछि अफिसमा भएको मोटर साइकल अलि–अलि चलाइयो । २०५६ साल तिर मैले आफैले मोटर साइकल किनें । त्यस बेलासम्म पनि सुर्खेतमा त्यति धेरै मोटरसाइकल थिएनन् । हाम्रो अफिसमा समेत निजी मोटरसाइकल चढ्ने सायद म नै पहिलो व्यक्ति हुँ । आजभोलि त सायद असी प्रतिशत मान्छेको घरमा दुई पांग्रे साधन छ । मोटरसाइकल चढ्दा–चढ्दै मलाइ कार चढ्ने पनि रहर पलायो र मैले २०६९ मा एउटा नयाँ कार पनि किने तर छ महिना मात्रै चढेर त्यो कार दुर्घटना हुन पुग्यो, त्यति ठूलो दुर्घटनामा पनि ज्यान सकुशल बच्यो कुनै अङ्गभङ्ग समेत भएन । मैले थाहा पाउँदासम्म सुर्खेतदेखि नेपालगन्ज जान पनि हिँडेरै जानुपथ्र्याे ता पनि प्लेन भने चलिसकेको थियो, बुबाको दैलेखबाट नेपालगन्ज सरुवा भएर जाँदा सायद म चार वर्षको थिएँ मैले पहिलो पटक प्लेन चढेको त्यतिबेलामा नै हो, सुर्खेतदेखि नेपालगन्जसम्म १५ मिनेटको त्यो हवाइ यात्राको बीचमा सायद हर्रे डाँडा माथि जहाज पुग्दा मलाइ पिसाबले च्यापेको थियो र मैले बाहिर गएर पिसाब फेर्ने माग राखेको थिएँ । मेरो मागको सुनुवाइ भएन बरु सबैले मेरो समस्याको खिल्ली उडाएर हाँसेका थिए, म भने रोएको थिएँ कसैले सम्झाएपछि मैले पाँच सात मिनेट रोकेर नेपालगन्ज पुगेर पिसाब गरेको थिएँ । त्यतिखेरका ती साना प्लेनमा ट्वाइलेट हुन्थ्यो हुँदैनथ्यो मलाइ याद छैन । आज धेरै पटक ठूला र साना जहाजमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका आकाशे यात्रा तय गर्ने मौका मिलिसकेको छ । हाम्रो देशको विकासको गति अति नै धिमा हो ता पनि आज विकट पहाडि जिल्लाका कुना–कुनासम्म मोटर बाटो पुगेको छ । धेरै ठाउँमा हवाइ सेवा पनि पुगेको छ ।

हामी स्कुल पढ्दै गर्दा बजारमा रू.५ मा भिडियो हेर्न पाइन्थ्यो । त्यतिबेला सुर्खेत बजारमा चार÷पाँच वटा भिडियो हल थिए, जसमा हिन्दी सिनेमाहरू देखाइन्थे मेरो भिडियो हेर्ने त्यति लत बसेको थिएन तर बजारतिरका हाम्रा साथीहरू आफूले हेरेका फिल्मका कहानीहरू बडो कलात्मक पारामा सुनाउँने गर्थे कक्षामा शिक्षक नआएर खाली भएका समयहरूमा अरु साथीहरूले उनीहरूलाई घेरिहाल्थे र उनीहरू बडो शानका साथ कहानी प्रस्तुत गर्थें ।

यस्तैमा कसैले मलाइ सुनाएको थियो टेलिभिजन भन्ने एउटा बाकस हुन्छ रे जसमा अमेरिकामा नाचेको यही नेपालमै देख्न पाइन्छ रे । यस्तो कुरा केही पत्यारिलो जस्तो केही अपत्यारिलो जस्तो लाग्थ्यो । म आठ कक्षामा पढ्दा–पढ्दै काठमाडौं पढ्न गएका डिलबहादुर मामाले टेलिभिजनको बारेमा लगाएको गफ बडो अलौकिक मानेर हामी सुन्ने गथ्र्याै उनले उता घटना भइरहँदा यता टेलिभिजनले देखाइरहन्छ भन्दा हामीले केही पत्यारिलो र केही अपत्यारिलो मानेका थियौं । सायद त्यो प्रत्यक्ष प्रसारणको कुरा हुनुपर्छ ।
२०४४ सालतिर एसएलसी पास भएर पढ्न काठमाडौं गएपछि काठमाडौंका छत र छानामा माछाका करङ्ग जस्ता धातुका डण्डीले बनेको वस्तु ठड्याइएको देखेपछि मैले सोधेको थिएँ त्यो के हो ? भनेर कसैले मसँग ठट्टा गरेको थियो ‘काठमाडौंका मान्छे धेरै धर्मात्मा छन्, त्यो स्वर्ग जाने भ¥याङ्ग हो, यहाँका मान्छेहरू आ–आफ्नै घरबाट स्वर्ग आवत जावत गर्छन् ।’ पछि मैले थाहा पाएको थिएँ त्यो त स्वर्ग जाने भ¥याङ्ग नभएर स्वर्गीय आनन्द दिने टेलिभिजनको एन्टेना थियो । त्यतिबेला सायद सबैले भारतीय च्यानल दुरदर्शन र नेपाल टेलिभिजन मात्र हेर्दथे । सायद टेलिभिजन स्याटेलाइट प्रविधिमा गइसकेको थिएन ।
घरका छाना र छतमा माछाको काडा जस्तो एन्टेना राखेर टिभी हेर्ने चलन आउँदा–आउँदै ठूलो छाताको करङ्ग जस्तो डिस्क एन्टेना राखेर देश विदेशका च्यानलहरू हेर्ने लहर भित्री सकेको थियो सहर बजारहरूमा डिस्क लाइन वितरकहरू आइसकेका थिए । घरघरमा रंगीन टिभीहरू भित्रिसकेका थिए । २०५० सालमा मैले पनि काठमाडौंबाट एउटा २१ इन्चको रंगीन टिभी ल्याएर आएँ । हाम्रो घरमा पनि छरछिमेकबाट टिभी हेर्ने दर्शकको घुइँचो लाग्न थाल्यो । आज घरमा टेलिभिजन नहुनेको होला कतिपयका कोठाकोठामा टिभी हुन्छन् । (बाँकी अर्को साता)

प्रकाशित मितिः   ४ मंसिर २०७३, शनिबार ११:५६