कर्णालीको विडम्बना
कोरोना भाइरस (कोभिड–१९) को महामारीले विश्वलाई नयाँ पाठ पढाएको छ । मानव जीवन पूर्ण रूपमा मानिसकै नियन्त्रणमा छैन । जुनसुकै समयमा कुनै पनि महामारीले मानव जीवनमा तगारो हाल्न सक्छ । जीवनशैली नै बदल्नुपर्ने हुनसक्छ । असामान्य हुनसक्छ । जस्तो कि कोरोनाका कारण लामो समयदेखि हामी असामान्य परिस्थितिको सामना गरिरहेका छौं । सिङ्गो विश्व समुदाय यसविरुद्ध उभिएर पनि पार पाउन सकिरहेको छैन । कोरोनाबाट बच्न हामीले लामै समय लकडाउन गरेर आफूले आफैलाई घरभित्र सीमित ग¥यौं । घरबाहिर गर्नैपर्ने धेरै कामहरू महिनौंसम्म थाती राख्यौं । कैयौं यस्ता काम थिए जसको अर्को विकल्प थिएन । तर कतिपय क्षेत्रमा विकल्प भएका कार्यहरूको पनि विकल्पविहीन हुनुपर्ने अवस्था सिर्जना भयो । विशेष गरेर कर्णालीका बालबालिकाहरूले अध्ययन तथा सिकाइका लागि वैकल्पिक विधिबाट पनि वञ्चित हुनुपर्यो ।
कोरोना महामारीका कारण भौतिक उपस्थितिमा पठनपाठन गरिँदा संक्रमणको जोखिम हुने भन्दै झण्डै नौ महिना विद्यालयहरू बन्द गरिएका थिए । विद्यालय बन्दा हुँदा कतिपय सुगम क्षेत्रका विद्यालयहरूले वैकल्पिक विधि अवलम्बन गरेर पनि पढाइलाई निरन्तरता दिए । सरकारले नै विभिन्न आमसञ्चारका माध्यम प्रयोग गरेर पठन–पाठन सञ्चालनको प्रयास ग¥यो । तर कर्णाली प्रदेशका धेरै बालबालिका भने त्यसबाट पनि वञ्चित रहे । सरकारले वैकल्पिक शिक्षण सिकाइलाई प्रोत्साहन गरिरहेका बेला कर्णाली प्रदेशमा भने २७ प्रतिशत बालबालिका कुनै पनि सञ्चार साधनको पहुँचमा नभएको पाइएको छ । यहाँका ठूलो संख्यामा बालबालिकाहरू रेडियो, टेलिभिजन, पत्रपत्रिका र इन्टरनेटको पहुँच बाहिर रहेको खुलेको हो । प्रदेशमा प्रारम्भिक बाल विकास उमेर समूहका र कक्षा एकदेखि पाँचसम्मका गरी तीन लाख ३६ हजार ६ सय ९० बालबालिका छन् । तीमध्ये बाल विकास उमेर समूहका बालबालिकाको संख्या ५८ हजार एक सय ५८ छ भने दुई लाख ७८ हजार पाँच सय ३२ जना बालबालिका कक्षा एकदेखि पाँचसम्मका छन् ।
जसमध्ये ९० हजार एक सय ८८ बालबालिका कुनै पनि सञ्चार माध्यमको पहुँचमा छैनन् । सामाजिक विकास मन्त्रालयको नेतृत्वमा शिक्षासँग सम्बन्धित सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि सम्मिलित शिक्षा समूह कर्णाली प्रदेशले गरेको सर्वेक्षणबाट यस्तो तथ्य खुलेको हो । एकातर्फ विद्यालय बन्द थिए । विद्यालय बन्द भएको समयमा अन्य कुनै पनि सञ्चार साधन नभएकाले बालबालिकाको सिकाइ प्रभावित भयो । सञ्चार साधनको पहुँचमा नभएका बालबालिका कोरोनाका कारण लामो समय विद्यालय बन्द रहँदा बढी प्रभावित भएका हुन् । यो अवधिमा सञ्चारको पहुँचमा भएका विद्यार्थीलाई रेडियो, टेलिभिजन र अनलाइनजस्ता वैकल्पिक माध्यमबाट सिकाइमा सहजीकरण गरिएको थियो । तर, पहुँचमा नभएका विद्यार्थी भने उक्त सुविधा लिनबाट वञ्चित भएका थिए । कर्णाली प्रदेश भौगोलिक रूपमा विकट छ । यहाँ पूर्वाधारको विकास भएको छैन । अन्य आधारभूत पूर्वाधारजस्तै इन्टरनेटको पहुँच न्यून छ । जसका कारण प्रतिकूल परिस्थितिमा पनि सुगम क्षेत्रका बालबालिका वैकल्पिक माध्यमबाट अध्ययन गरिरहँदा यहाँका बालबालिका त्यसबाट विमुख हुन पुगे ।
प्रकाशित मितिः १४ मंसिर २०७७, आईतवार ०६:०१
साझा बिसौनी ।