निर्माण कार्यले गति लिँदै, दुई वर्षमा के भयो प्रगति ?

bheri-babaiराष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउदेश्यीय आयोजना निर्माणको कामले गति लिएको छ । आयोजनाको मुख्य मानिएको सुरुङ खन्ने कार्य आउँदो पुसबाट सुरु हुनेछ । अहिले सुर्खेतको भेरीगंगा नगरपालिकास्थित हात्तीखालमा सुरुङ खन्न आवश्यक पूर्वाधार निर्माणको काम धमाधम भइरहेको छ ।

भेरी नदीको पानी सुर्खेत र बर्दियाको सिमानामा रहेको बबई नदीमा खसालेर विद्युत् उत्पादन गर्ने र सिँचाइमा प्रयोग गर्ने उद्देश्यले सुरु भएको यो आयोजनाको निर्माण कार्य चलिरहेको छ । चुरे क्षेत्रको पहाडमा १२ किलोमिटर सुरुङ खनेर भेरीको पानी बबईमा खसाल्ने योजनासहित सुरु भएको आयोजनाको सुरुङ निर्माण स्थलमा सडक र बिजुली पुर्याउने काम सम्पन्न भएको छ । यस्तै ठेकेदार कम्पनीले फिल्ड कार्यालय र आयोजनाका लागि आवश्यक पर्ने निर्माण सामग्री उत्पादन गर्ने सहायक उद्योग पनि स्थापना गरिसकेको छ ।

आयोजनाको पहिलो चरणमा सुरुङ निर्माण गर्नुपर्ने भएकाले सुरुङ खन्ने स्थानमा मेसिन स्थापनाका लागि पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नेपालमै पहिलोपटक यो आयोजनामा टनेल बोरिङ मेसिनमार्फत सुरुङ निर्माण गर्न लागिएको हो । यो मेसिन नेपालमा नभएको र यो वर्षको अन्त्यमा मात्र चीनबाट आउने छ । आयोजना कार्यालयले एक सय ५० मिटर सुरुङ खन्ने काम भने मजदुरबाटै हुने जनाएको छ ।

सुर्खेतकोे चिप्लेस्थित भेरी नदीमा १५ मिटर अग्लो बाँध बनाएर सुरुङमार्फत प्रतिसेकेन्ड ४० घनमिटर पानी बबईमा खसालिनेछ । बबईमा खसालिएको पानीबाट ४८ मेगावाट विद्युत् उत्पादन गर्ने र बाँके तथा बर्दियाको ५१ हजार हेक्टर खेतीयोग्य जग्गामा सिँचाइ सुविधा उपलब्ध गराउने आयोजनाको लक्ष्य छ । पहिलो चरणमा सुरुङ निर्माण, दोस्रो चरणमा विद्युत् निकाली राष्ट्रिय प्रशारणमा जोड्ने र तेस्रो चरणमा भेरीको पानी बर्दियाको बबई नदीमा खसालेर सिँचाइमा प्रयोग गर्ने योजनासहित आयोजनाको निर्माण कार्य चलिरहेको आयोजनाका निर्देशक शिवकुमार बस्नेतले बताए ।

सिँचाइ विभाग र चीनको चाइना ओभरसिज इन्जिनियरिङ गु्रप लिमिटेड (कोभेक) बीच आयोजना निर्माणका लागि २०७१ माघमा ठेक्का सम्झौता भएको थियो । आयोजनामा करिब १६ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । स्वदेशी लगानीमा निर्माण हुन लागेको आयोजनाको शिलान्यास २०७१ चैत १९ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गरेका थिए ।

सुरुङ निर्माण स्थलका स्थानीय बासिन्दा लोकबहादुर गुरुङले आयोजनाले आफूहरूको समृद्धिमा मद्दत गर्ने भन्दै समयमा नै काम सक्न सहयोग गर्ने बताए । आयोजना सुरु भएपछि गाउँलेले रोजगारी पाएको र कालापहाड जानुपर्ने बाध्यतासमेत टरेको उनको भनाइ छ ।
आयोजनाको कामले गति लिएसँगै यहाँका सर्वसाधारण र राजनीतिक दलहरूले पनि आयोजना तोकिएकै मितिमा सम्पन्न गर्न आफूहरूले सम्दो सहयोग गर्ने बताएका छन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई काम गर्न पहिलो प्राथमिकता दिइएको छ । नेकपा एमाले सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाही पनि सरकारले यो आयोजनालाई समयमै निर्माण सम्पन्न गर्नेगरी काम अघि बढाउनुपर्ने बताउँछन् । विधुत उत्पादन र सिँचाई सुविधा प्रदानका लागि आयोजना निकै महत्वपूर्ण भएको उनको भनाइ छ ।

प्रकाशित मितिः   ३ मंसिर २०७३, शुक्रबार १०:१६