महामारीसँग खेलबाड

मुलुक कोरोना कहरकै बीचमा छ । यसको असर व्यक्तिको स्वच्छन्द र चलायमान जीवन पद्धतिमा परेको छ । मुलुककै आर्थिक, सामाजिक, सांस्कृतिक लगायत सबैजसो क्षेत्र प्रभावित भएको छ । कोरोनाले च्यापेको लामो समय बितिसक्यो । तर पनि सहज परिस्थिति निर्माण भइसकेको छैन । अन्योल छ । अनिश्चितता मडारिएकै छ । अनिश्चितताको अँध्यारोले त्रास पैदा गरेको छ । आगामी दिन कस्तो हुन्छ भन्ने कुराको निश्चितता गर्न सकिएको छैन । अर्थात् मानव जीवन अझै पनि अस्तव्यस्तताकैबीच चलिरहेको छ । यो विडम्बनापूर्ण अवस्था हो । नेपालमा कोभिड–१९ पछि धेरै नागरिकले आफ्नो रोजगार गुमाएका छन् । अर्थतन्त्र धरासायी छ । उद्योग–व्यवसाय क्षतिग्रस्त नै छ । नयाँ लगानी तत्काल बढ्ने सम्भावना छैन । यथास्थितिमै मुलुकभित्रै भएकाहरू बेरोजगार भइरहँदा बाहिर गएका प्रवासी नेपालीसमेत थपिँदा बेरोजगारी बढेको छ ।

कोभिड–१९ बाट संसारले नयाँ पाठ सिकेको छ । कोरोनासँग जुध्न केही प्रयासहरू भए पनि त्यो प्रभावकारी हुन सकेको छैन । सम्भावित महामारीविरुद्ध जुध्ने भन्दै सरकारले चार महिना लामो लकडाउन ग¥यो । तर अहिले पनि मुलुकमा कोरोना संक्रमण भयावह बन्दै गएको छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दिन÷प्रतिदिन बढ्दै गएको छ । तर यसरी बढ्दै गएको कोरोना संक्रमणलाई के÷कसरी नियन्त्रण गर्ने भन्ने सवालमा सरकारसँग न कुनै योजना छ, न कुनै काम नै भएको देखिन्छ ।

पछिल्लो समय सरकारले समेत कोभिडको जोखिमलाई बेवास्ता गर्दै गएको छ । नागरिकले पनि हेलचक्य्राइँ गरिरहेका छन् । लकडाउनसँगै अस्तव्यस्त बनेको जीवनशैली विस्तारै सहजतातर्फ उन्मुख त छ तर आवश्यक सतर्कता नपआउँदा जोखिम पनि बढेको छ । अहिले मुलुकको प्रमुख चुनौती भनेकै कोरोना महामारी भएकाले पनि यसको नियन्त्रणका लागि उचित कदम चाल्नु हो । तर मुलुक यही बेला राजनीतिक कलहमा छ । सरकारको नेतृत्व गरिरहेको दलभित्रको झगडाले मुलुक नै प्रभावित छ । सरकारको ध्यान विकेन्द्रित भएको छ । महामारीको संकटसँग जुधिरहेका नागरिकको हितमा केन्द्रीत हुनुपर्ने सरकार र नेतृत्व आफ्नै गृहकलहमा फसेको छ । यसले नागरिकमा वितृष्णा पैदा गरेको छ । यस्ता अन्य समस्याहरू समयमै सुल्झाएर मुख्य समस्या समाधानमा केन्द्रीत हुनु आजको आवश्यकता हो । कोरोना महामारी नियन्त्रणका लागि अहिले जुन तरिका अवलम्बन गरिएको छ, त्यसलाई सच्याउँदै उपयुक्त बाटो समात्न जरुरी छ ।

सुरुवातदेखि नै सरकारको रणनीति प्रभावकारी हुन सकिरहेको छैन । सरकारले केवल लकडाउन मात्रै गरिदियो अन्य कुरामा ध्यान नै दिएन । यसको प्रत्यक्ष मारमा परेको श्रमिकहरूका लागि ठोस योजना र कार्यक्रम ल्याउन सरकार असफल रह्यो । अर्कोतर्फ सुरुवातमै भारतमा रहेका आफ्ना नागरिकलाई व्यवस्थित तरिकाले ल्याई आ–आफ्नै स्थानीय तहले बनाएको क्वारेन्टाइनमा राखेको भए पनि यसरी संक्रमण फैलिने थिएन । तर सरकार यसमा पनि चुक्यो । विगतमा जे–जस्तो गल्ती भयो, त्यसबाट पाठ सिक्दै कोरोना महामारी नियन्त्रणका लागि तत्कालीन र दीर्घकालीन रणनीति बनाउँदै अघि बढ्न ढिला गर्नु हुँदैन ।

प्रकाशित मितिः   ९ मंसिर २०७७, मंगलवार ०६:०३