सात महिनापछि खुले विद्यालय

आठ महिनादेखि बन्द रहेका विद्यालय खुल्न थालेका छन् । कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रण तथा रोकमथामका लागि सरकारले गत चैतदेखि विद्यालय बन्द गरेको थियो । लामो समय ठप्प रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरू आइतवारदेखि खुल्न थालेका हुन् ।

कर्णाली प्रदेशमा अधिकांश विद्यालयहरू आइतवारदेखि सञ्चालनमा आएका छन् । सरकारले विद्यालय सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी पछिल्लो समय स्थानीय तहलाई दिएको छ । जोखिम मूल्याङ्कन गरेर स्थानीय तहकै पहलमा विद्यालय सञ्चालनमा आएका हुन् । सामुदायिक तथा संस्थागत विद्यालयहरूले विद्यार्थीहरूलाई भौतिक रूपमै कक्षाकोठामा उपस्थित गराएर पठनपाठन अघि बढाउन थालेका छन् ।

सरकारले विद्यालय पुनः सञ्चालन सम्बन्धी कार्यढाँचा तयार गरेर स्थानीय तहलाई जिम्मेवारी दिइएको हो । जस अनुसार कोरोना संक्रमणको जोखिम आँकलन गरेर स्थानीय तहले विद्यालय सञ्चालन गर्ने र बन्द गर्न सक्नेछन् । चैतदेखि बन्द रहेका विद्यालयहरू पूर्ण रूपमा पठनपाठन सञ्चालन गर्न भने पनि कोरोना संक्रमणको जोखिम रहिरहेकाले विद्यालयहरूले विद्यार्थीहरूलाई आलोपालो बोलाएर पढाउन थालेको बताएका छन् ।

भेरी माध्यमिक विद्यालय रानीघाटका प्रधानाध्यापक रत्नबहादुर बुढाले आइतवारदेखि विद्यार्थीहरूलाई आलोपालो गरेर पढाउन सुरु गरिएको बताए । उनले एउटा कक्षा कोठामा २० जनासम्म विद्यार्थीहरूलाई राखिएको जानकारी दिए । बुढाले भने, ‘कोरोनाको जोखिम छ । हामी पनि ढुक्क छैनौं । गाउँपालिकाले आलोेपालो गरेर पढाउन भनेको छ ।’

यस्तै शिव माध्यमिक विद्यालय धुलियाविटका प्रधानाध्यापक पूर्णप्रसाद पौडेलले तीन सिफ्टमा पढाउन सुरु गरिएको बताए । उनले यस अघि केही विद्यार्थीहरूलाई विद्यालयमै उपस्थित गराएर पढाए पनि सबै विद्यार्थीहरूलाई समेट्ने गरी पढाउन थालिएको जानकारी दिए । यस अघि अनलाइन र अनलाइनमा उपस्थित हुन नसक्ने केही विद्यार्थीहरूलाई विद्यालयमै बोलाएर पढाए पनि अहिले अनलाइन बन्द गरेर सबै विद्यार्थीलाई समेट्ने गरी पठनपाठन सुरु गरिएको उनको भनाइ छ । आवश्यक सावधानी अपनाइएको पनि उनले बताए ।

दैलेखमा पनि भगवतीमाइ गाउँपालिकाले विद्यालय सञ्चालन गरेको छ । शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख तेजबहादुर थापाले अन्य पालिकाहरूमा पनि विद्यालय सञ्चालन गर्ने निर्णय र तयारी भइरहेको जानकारी दिए । त्यसैगरी जाजरकोटमा पनि केही स्थानीय तहका विद्यालयमा पठनपाठन सुरु गरिएको छ ।

शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख टोपबहादुर बुढाले केही पालिकाले पठनपाठन सञ्चालन गरेको जानकारी दिए । ‘पालिकाहरूले निर्णय गरेर केही ठाउँमा पठनपाठन सुरु भएको छ । केही पालिकामा पठनपाठन सञ्चालन गर्ने निर्णय र तयारी भइरहेको छ’ उनले भने, ‘स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विद्यालय सञ्चालन भएका छन् ।’ विद्यालय सञ्चालन भए पनि कोरोनाका कारण अझै पनि शिक्षक र विद्यार्थीमा त्रास भने कायमै छ ।

प्रकाशित मितिः   ८ मंसिर २०७७, सोमबार ०६:०२