संक्रमितको उपचारमा हेलचक्य्राइँ

बजेट अभावमा सुरू भएन प्लाज्मा थेरापी, बिरामी आफै औषधि किन्न बाध्य

कोरोना भाइरस ‐कोभिड–१९) का संक्रमितहरूको उपचारमा समस्या भएको छ । कर्णाली प्रदेशमा ‘प्लाज्मा थेरापी’ र कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको ‘रेमडीसिभिर’ नामक औषधि नहुँदा गम्भीर प्रकृतिका बिरामीहरूको उपचारमा चुनौती देखिएको हो । बजेट अभावका कारण प्लाज्मा थेरापी र औषधि खरिद गर्न नसकिएको प्रदेश अस्पतालले जनाएको छ ।

कर्णाली प्रदेश अस्पतालमै प्लाज्मा थेरापी विधिबाट उपचार सम्भव भएपनि सामग्री अभावमा उपचार विधि सुरू गर्न नसकिएको हो । प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले बजेट अभावले प्लाज्मा थेरापी गर्न नसकिएको जनाए । उनले भने, ‘साउनदेखि नै प्रदेश सरकारसँग बजेट माग गरेका थियौँ । अहिलेसम्म बजेट आएको छैन ।’ उनले कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको ‘रेमडीसिभिर’ नामक औषधि पनि नभएको बताए ।

सरोकारवाला निकायको उदासीनता र हेलचक्य्राइँले गम्भीर संक्रमितको उपचारमा खेलाँची भएको हो । अस्पतालमा औषधि नहुँदा बिरामीले आफै किनेर ल्याउने गरेका छन् । सरकारले औषधि खरिदमा ढिलाइ गरेकाले बिरामी आफैले भारतबाट औषधि मगाएर उपचार गरिरहेका छन् ।

प्रदेश अस्पतालमा अहिले १५ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । त्यसमध्ये ६ जना गम्भीर प्रकृतिका बिरामी छन् । प्रदेशका अन्य जिल्लाबाट समेत गम्भीर प्रकृतिका बिरामी प्रदेश अस्पतालमा रिफर हुन्छन् । त्यस्ता संक्रमितलाई प्लाज्मा थेरापी र ‘रेमडीसिभिर’ नामको औषधि प्रयोग गर्ने गरिएको छ । तर यहाँ यो सुविधा नहुँदा बिरामीलाई बाहिर रिफर गर्नुपर्ने अवस्था रहेको डा. खड्का बताउँछन् । ‘गम्भीर प्रकृतिका बिरामीलाई यी पद्धतीमार्फत उपचार गर्न सकिएन भने बचाउन गाह्रो हुन्छ,’ उनले भने, ‘बजेट नहुँदा यस्ता सुविधा दिन सकिएको छैन ।’ जटिल अवस्था देखिएका संक्रमितलाई आफै औषधि किनेर ल्याउँ भन्नुपर्ने बाध्यता रहेको उनले बताए ।

चिकित्सकहरूका अनुसार कन्भालेसेन्ट प्लाज्मा थेरापी एक प्रकारको ‘प्यासिभ एन्टीबडी थेरापी’ हो, प्यासिभ एन्टीबडी थेरापी भनेको एक व्यक्तिमा बनिसकेको एन्टीबडी अर्को व्यक्तिलाई दिनु हो । अरू रोगमा पनि तत्काल उपचार गर्ने क्रममा यो विधि अपनाइन्छ । निको भएका व्यक्तिबाट एन्टीबडी झिकेर आईसीयूमा बस्नुपर्ने र गम्भीर प्रकृतिका बिरामीलाई दिइन्छ । प्लाज्मा भनेको रगतको अंश हो । रगतमा रहेका सेता, राता रक्तकोष, प्लेटलेस छुट्याएर बाँकी रहेको चिप्लो तरल पदार्थमा रोगसँग लड्न सक्ने क्षमता हुन्छ । त्यसको प्रयोगबाट गरिने उपचार विधि प्लाज्मा थेरापी हो ।
प्रदेश स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले कोरोना रोकथाम, उपचारका लागि एकमुष्ट बजेट छुट्टाइएको भएपनि मन्त्रिपरिषद्बाट निर्णय गरेर बजेट कार्यान्वयनमा जाने हुँदा ढिलाइ भएको बताए । उनले अब तिहारलगत्तै औषधि खरिद गर्ने र प्लाज्मा थेरापी पनि सुरू गरिने जानकारी दिए । उनका अनुसार प्लाज्मा थेरापीका लागि एक करोड र औषधि खरिदका लागि दुई करोड बजेट छुट्टाइएको छ । ‘तिहारलगत्तै प्रदेशमा प्लाज्मा थेरापी सुरू हुन्छ । आवश्यक औषधि पनि किन्छौँ,’ उनले भने ।

३७ संक्रमित थपिए

प्रदेशमा कोरोनाको संक्रमण दर दैनिकजसो बढ्दो छ । प्रदेशमा शनिवार थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतका २४, मुगुका तीन, दैलेखका पाँच, जुम्ला र सल्यानका एक÷एक तथा अन्य प्रदेशका तीन जनामा संक्रमण देखिएको हो । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार एक सय ७० पुगेको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । हालसम्म कर्णालीमा पाँच हजार पाँच सय २५ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो तथ्याङ्कअनुसार प्रदेशभर कोरोना भाइरसका पाँच सय १५ सक्रिय संक्रमित छन् । संक्रमितमध्ये १६ जनाको ज्यान गएको छ ।

प्रकाशित मितिः   २३ कार्तिक २०७७, आईतवार ०६:००